माननीय मुख्यमन्त्री ज्यु,
नमस्कार !
तपाई जुम्ला जिल्लास्थित नेपाली भाषाको उद्गम स्थल अर्थात् खस सभ्यताको केन्द्र ऐतिहाँसिक सिंजा उपत्यकाको राजकीय भ्रमणमा हुनुहुन्छ भन्ने खबरले खुसी नै तुल्याएको छ ।
तर केही प्रश्नहरु मस्तिष्कमा नाचिरहेका छन् । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक किन तुहाइदैछ भन्ने प्रश्न जनताहरुले तारन्तर गरिरहेका छन् ।
तपाई स्वयं कर्णाली प्रदेशको सरकार प्रमुखले त्यही भूमिमा पाइला टेकेकाले ती महत्वपुर्ण विधेयकहरु किन तुहाइयो भन्ने यक्ष प्रश्नहरुको यथार्थपरक जवाफ दिनु हुनेछ भन्नेमा विश्वस्त छु ।
साथै सिंजा गाउँपालिका वडा नं. १ मा प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्बाट भएको निर्णय कार्यान्वयन नभएकोमा जनताले गुनासो गरिरहेका छन् । जनगुनासो निवारण हुनेमा आशावादी छु ।
कनकासुन्दरी गाउँपालिकाको खिच्चनेमा विशेष आर्थिक क्षेत्र स्थापनार्थ संघीय सरकारबाट निर्णय भएको र आंशिक कार्यान्वयन पनि भएको जानकारी गराउदछुँ । यद्यपी कार्यान्वयनको गति धिमा छ ।
त्यही स्थानमा कर्मचारी प्रशिक्षण केन्द्र स्थापना गर्न तपाई स्थलगत अवलोकन गर्दै हुनु हुन्छ भन्ने सुन्नमा आएको छ । २ महिना अगाडि मात्रै पारित प्रदेश सरकारको नीति कार्यक्रम र बजेटमा उल्लेख नभएको र निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा प्रशिक्षण केन्द्र स्थापना कसरी हुन सक्ला ? प्रशिक्षण केन्द्र स्थापना गर्ने हो भने अर्को नयाँ स्थान चयन गर्दा उपयुक्त होला कि ?
मुख्यमन्त्री ज्यु, तपाइको यो कार्य गाडी भीरमा खसालेर साइकल वितरण गरे जस्तो भएन र !
तपाईको उही
नरेश भण्डारी