काठमाडौँ : कर्णालीका जनताले पाँच वर्षका लागि दिएको भारी बहुमत नेकपा एमालेले खेर फालेको छ । तत्कालीन माओवादीसँग मिलेर चुनाव लड्दा नेकपाका नाममा एमालेले प्राप्त गरेको झण्डै दुईतिहाईको बहुमत एमालेले पूर्ण रुपमा खेर फालेको हो ।
पाँच वर्षको अवधिमा एमाले झण्डै साढे दुई वर्ष माओवादीसँग सत्तामा रहन सफल भयो । तर कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न असफल भयो । माओवादीसँग मिलेर सत्तामा रहेको एमाले बाँकी दुई वर्षमा प्रतिपक्षमा मात्रै सीमित रहेन, कर्णालीबाटै पार्टी विभाजित बन्यो ।
कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेलको मुख्यमन्त्री बनिछाड्ने हठ र हदैसम्मको लुछाचुडीले एमाले कर्णालीमा पूर्ण रुपमा असफल भयो । गएको चुनावमा सबैभन्दा शक्तिशाली बनेको नेकपा एमाले यसपटकको चुनावमा सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।
बहुमतबाट अल्पमत, सत्ताबाट सडक
कर्णाली प्रदेशमा तत्कालीन नेकपामा हुँदा एमाले पूर्ण रुपमा बहुमतसहित सत्तामा थियो । माओवादीको १४ सिट रहँदा एमाले सभामुखसहित एक्लै २१ सिटको प्रचण्ड बहुमतमा थियो ।
यामलाल कँडेलले पटक पटक तत्कालीन मुख्यमन्त्री रहेका महेन्द्र शाहीसँग सत्ताको लुछाचुडी गर्दा नेकपा फुट्यो । सर्वोच्चको आदेशले नेकपाबाट फुटेर एमाले र माओवादी फेरि अस्तित्वमा आए ।
एकिकृत पार्टी फुटेपछि झन् सहज अवस्थामा रहेको एमालेसँग सरकार बनाउने पूरा बहुमत थियो । सभामुखसहित २१ जना सांसद रहेको एमाले कर्णाली प्रदेशमा पूरा बहुमत हासिल गरेको पार्टी थियो ।
एक्लै सरकार बनाउने अवस्थामा रहेको एमाले केन्द्रमा केपी शर्मा ओली र कर्णालीमा यामलाल कँडेलको विवेक व्यक्तिगत स्वार्थमा परिणत हुँदा सत्ताबाट सडकमा पछारिन पुग्यो ।
केन्द्रमा संसद् विघटनपछि एमाले प्रतिपक्षमा थन्किदा कर्णालीमा एमाले सत्तामै रहने सम्भावना थियो । तर ओलीजस्तै यामलालको बहुमत दम्भले उग्र रुप लिँदा कर्णालीको एमाले पहिला फुट्यो ।
नेकपा र एमाले फुटाउने फ्लोर क्रस घटना
मुख्यमन्त्री महेन्द्र शाहीको सरकार ढालेर एमालेको सरकार बनाउने बेलामा एमालेकै चार जना सांसदले फ्लोर क्रस गरे । २०७८ बैशाख ३ गते प्रकाश ज्वालासहितका एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री शाहीको सरकारलाई जोगाईदिए । अनि सरकारमा जाने एमालेको बाटो पनि बन्द गराईदिए ।
फ्लोर क्रसलाई एमालेले राजनीतिक अपराधको संज्ञा दियो । तर फ्लोर क्रस गरेका एमालेकै सांसद सत्तामा पुगे । सत्तामा जाने बहुमत भएको पार्टी एमाले सडकमा पछारियो ।
प्रकाश ज्वालासहित नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गर्दा एमालेको बहुमत अल्पमतमा झरेर १६ जनामा सीमित रह्यो । एमालेबाट सभामुख बनेका राजबहादुर शाही पनि पार्टीको सत्ताका लागि उपयुक्त रहेनन् । उनले सत्तामा हुनुपर्ने आफ्नो पार्टी सडकमा पछारिँदा टुलुटुल हेर्नुबाहेक केही गर्न सकेनन् ।
न बहुमतको सदुपयोग, न अल्पमतको स्वीकारोक्ती
एमालेको बहुमत घट्दा माओवादी, कांग्रेस र एमालेबाट फ्लोर क्रस गरेका सांसद मिलेर नयाँ सरकार बन्यो । मुख्यमन्त्री शाही ६ महिनापछि बाहिरिँदा कांग्रेसले नेतृत्व लियो ।
जबकी कांग्रेससँग जम्मा ६ सिट थियो । त्यसमा पनि प्रत्यक्ष जित्ने अहिलेका मुख्यमन्त्री जीवनबहादुर शाही मात्रै थिए । माओवादीको १२ सिट, कांग्रेसको ६ सिट र अपुग भएको ४ जना सांसद एमालेबाट चोरेर अल्पमतमा रहेका पार्टीले सरकार चलाए ।
कांग्रेस र माओवादी सांसद पालैपालो मुख्यमन्त्री बने । सुरुमा एमाले र पछि नेकपा एकिकृत समाजवादीबाट भएपनि फ्लोर क्रस गर्ने सांसद निरन्तर सत्तामा रहन सफल भए ।
तर एमालेबाट न नेतृत्व गरेका यामलाल कँडेल मुख्यमन्त्री बन्न सके । न त सांसदहरुलाई मन्त्री नै बनाउन सके । ४० जनाको कर्णाली प्रदेशसभामा २० जना सांसद हुँदा पनि आफ्नो सरकार बनाउने नसक्ने एमाले अहिले कर्णाली प्रदेशभरी आलोचित छ ।
यसको मूल्य यामलाललाई कतिसम्म महंगो परेको छ भने यसपटकको चुनावमा हार निश्चित मात्रै देखिएको छैन, अब संसदीय राजनीतिमा नै पूर्णविराम लगाउनुपर्ने अवस्था आइलागेको छ ।
यसपटकको चुनावमा एमाले प्रतिपक्ष हुँदा सत्ता गठबन्धमा कांग्रेस, माओवादी र नेकपा समाजवादीले मिलेर चुनाव लड्दैछन् । त्यो समीकरणले हृद्यराम थानी वा पूर्णबहादुर खड्का स्वतः जित्ने सम्भावना छ । त्यसबाहेक माओवादी उम्मेद्वारले पनि जित हात पार्ने सम्भावना छ ।
तर एक्लै चुनाव लड्नुपर्ने बाध्यतामा रहेका यामलाल यसपटक हार खानुपर्ने बाध्यता बनेको छ । अनि त्यसमाथि युवा तथा स्वतन्त्र उम्मेद्वारहरुको ‘नो नट अगेन’ अभियानले अब यामलालले संसदीय राजनीतिमा नै पूर्णविराम लगाउनुपर्ने बाध्यता पनि आइलाग्ने देखिएको छ ।