१४ चैत, सुर्खेत । नेपालका दुई ठूला नदी भेरी र कर्णालीको संगमस्थल हो, दोभान । प्रचुर सम्भावना भएको दोभान पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ । कर्णालीमा पर्यटकीय क्षेत्रहरुको नाम लिँदा भेरी कर्णालीको संगमस्थल दोभान पनि पर्दछ ।
तर विकट क्षेत्रको पहिचानका कारण दोभान पर्यटकीय क्षेत्रमा पर्न सकेको छैन् । केही स्थानीय र जिल्ला तहका नेताहरु आएर दोभानको बारेमा थुप्रै शब्द खर्च गर्ने गरेका छन् । तर भौतिक पूर्वाधारका हिसाबले घाटगाउँमा अहिलेसम्म पनि कुनै ठूलो पर्यटकीय क्षेत्र भन्ने लायकको काम हुन सकेको छैन् ।
दोभान माथिको भेरी नदीतिरको नर्सरी आफैमा राम्रो पार्क बन्ने सम्भावना छ । नर्सरीको संरक्षण पनि थालिएको छ । तर अहिलेसम्म त्यसभित्र जसरी राम्रो व्यवस्थापन गर्नुपर्ने हो । त्यो देखिदैन । भेरी र कर्णाली नदी कर्णाली प्रदेशमा ऐतिहासिक महत्व बोकेका नदी हुन् ।
दुवै नदीको आ आफ्नो सम्भावना र महत्व बोकेर र्याफ्टिङका लागि त्यत्तिकै महत्वपूर्ण स्थान हुन् । दुवै नदीमा गरिने र्याफिटङको मिलनबिन्दु पनि दोभान हो । कर्णाली चिसापानीबाट बाइक तथा गाडीमा ३० मिनेटमै पुगिने दोभान सडक पूर्वाधारबाट त्यत्ति टाढा छैन् ।
तर पनि दोभानमा लास जलाउनु बाहेक ठूलो भौतिक विकास हुन सकेको छैन् । दोभानमाथिको डाँडामा मन्दिर त बनेको छ । धार्मिक हिसाबले मात्रै पनि दोभानको अस्तित्व जोगिन सक्दैन् । यसलाई पर्यटकीय दृष्टिकोणबाट विकास गर्न दोभानको गुरुयोजना बनाएर काम अघि बढाउन आवश्यक छ ।
भेरी नदीमा पक्की पुल बनेको छ । कर्णालीको चिप्लेमा पनि पक्की पुल बन्दैछ । दुवै पुलको विकासले अब दोभानको महत्व पहिलेको भन्दा धेरै बढाउनेछ । तर अहिलेसम्मको प्रगति हेर्दा दोभानमा माखो मरेको छैन् । मन्दिरमा पूजा गर्न बाहेक दोभानको अरु विकासमा पनि ध्यान दिन सके सर्खेतको घाटगाउँमा पर्यटकीय विकासले गाउँकै काँचुली फेर्न सक्छ ।