काठमाडौँ : कर्णाली प्रदेश सरकारको पहिलो पाँच वर्षको कार्यकालमा चार जना अर्थमन्त्री मात्रै बनेका छन् । प्रदेश सरकारलाई नेता कार्यकर्ता थन्क्याउने निकायका रुपमा संघीयता कार्यान्वयन गर्ने नेताहरुको प्रवृत्तिलाई बल पुग्ने गरि कर्णालीमा पाँच वर्षमा चार जना अर्थमन्त्री बनेका हुन् ।
पाँच वर्षको कार्यकालमा एक जना तीन वर्षसम्म अर्थमन्त्री हुँदा बाँकी डेढ वर्ष तीन जना अर्थमन्त्री बनेको तथ्य छ । जुन असाध्यै विवादित मात्रै बनेन्, प्रदेशको अर्थमन्त्री जस्तो पद भने नेता कार्यकर्ता थन्क्याउने अड्डा बनेको छ ।
कर्णालीका पहिलो अर्थमन्त्री ज्वाला
तत्कालीन नेकपा हुँदा एमालेका नेता प्रकाश ज्वाला कर्णाली प्रदेशका पहिलो अर्थमन्त्री हुन् । उनले पहिलोपटक अर्थमन्त्रीको शपथ खाएको तीन वर्षसम्म बजेट ल्याए । अर्थमन्त्रीमा बसिरहे ।
नेकपामा विवाद उत्पन्न भएर माओवादी र एमाले छुट्टिएपछि अर्थमन्त्री ज्वाला एमालेतिर भएपनि उनले फ्लोर क्रस गरेका थिए । जतिबेला उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
फ्लोर क्रस गरेपछि एमाले फुट्यो । ज्वाला नेकपा एकिकृत समाजवादी पार्टीमा उपमहासचिव बने । उनी अहिले नेकपा एकिकृत समाजवादी पार्टीमा कर्णालीको इन्चार्ज छन् । उनले तीन वर्ष कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री बन्दा बजेट ल्याए ।
र तीनै वर्ष बजेट विवादमा तानियो । उनले प्रक्रिया पुर्याउन नसक्दा प्रतिपक्षीले आलोचना गरेर संसद अवरुद्ध गर्ने गरेका थिए । साथै उनले ल्याएको बजेट नेताहरुको निर्वाचन क्षेत्र मात्रै केन्द्रित गरिएको भन्दै चर्को आलोचना भएको थियो ।
ठूला नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै प्रदेशको बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो । उनको पालामा कर्णालीमा वित्तिय साक्षरता बढ्न सकेन भने आर्थिक वृद्धिदर र राजश्व पनि खासै उठ्न सकेन । उनको पालाको बजेट र आर्थिक वृद्धि दुवै कमजोर थियो ।
केन्द्रमा दाई, कर्णालीमा भाई अर्थमन्त्री
कर्णालीका दोस्रो अर्थमन्त्री हुनु, गोपाल शर्मा अनल । जनार्दन शर्मा प्रभाकर संघीय सरकारमा अर्थमन्त्री भएका बेला गोपाल शर्मा कर्णालीमा अर्थमन्त्री भएका हुन् ।
गोपाल शर्मा जनार्दनका भाई नाता पर्छन् । जनार्दनकै कारण उनी रुकुम पश्चिमबाट प्रदेश सांसद बनेर अर्थमन्त्री भएको चर्चा एकसमय कर्णालीमा धेरै भएको थियो । जनार्दनले संरक्षण गरेको रुकुम पश्चिमको सोतीमा घटेको ६ जना युवाको हत्या घटनालाई दबाउन पनि शर्मा दाजुभाई सक्रिय रहेको आरोप लागेको थियो ।
गोपाल शर्मा कर्णालीमा ६ महिना मात्रै अर्थमन्त्री बनेका थिए । जतिबेला कर्णालीमा समावेशी तहबाट मन्त्री बन्न नसकेको भन्दै आलोचना बढेको थियो । जनार्दनको दबाब थेग्न नसकेर मुख्यमन्त्री महेन्द्र शाहीले गोपाल शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।
त्यतिबेला गोपालसहित सीता नेपाली र बिन्दमान बिष्टलाई पनि मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । तर जनार्दनको तीव्र दबाबले सीता र गोपाल मन्त्री बने भने बिन्दमान बिष्ट पछाडि हटेका थिए । गोपाल शर्मा अर्थमन्त्री हुँदा उनले बजेट ल्याएपनि त्यो अध्यादेशबाट मात्रै सम्भव भएको थियो ।
प्रतिपक्षी एमालेको अवरोधका कारण उनले अध्यादेशबाट बजेट ल्याउनुपरेको थियो । जसकारण उनले बजेट राम्रोसँग पढ्न र संसदमा छलफल गराउनै पाएनन् । म्याद नाघेको समयमा बजेट ल्याएका कारण उनको अर्थमन्त्री कार्यकाल विवादित बन्यो ।
बिन्दमान बिष्टको छोटो कार्यकाल
कर्णालीमा विना विभागीय मन्त्री बनेर पनि शपथ खान नपाएर बर्खास्त हुने मन्त्री बिन्दमान बिष्ट हुन् । शक्ति बस्नेत गुटमा रहेका बिष्ट विना विभागीय मन्त्रीमा नियुक्त भएर पनि विवादमा परेर बर्खास्त भए । तर दोस्रोपटक उनी अर्थमन्त्री बन्न सफल भए ।
एक वर्षका लागि अर्थमन्त्री बनेका बिष्ट ९ महिना मन्त्री बने । पार्टीमा आन्तरिक विवाद र भागबण्डा बढेपछि केही दिनअघि मात्रै माओवादीले अर्थमन्त्रीबाट बिन्दमानलाई फिर्ता बोलाएर कृष्णा शाहलाई सरकारमा पठाइएको छ ।
९ महिने कार्यकालमा बजेट ल्याउने अवसर पाएका बिन्दमान बिष्ट पनि विवादरहित बन्न सकेनन् । उनले बजेट ल्याउँदा सुदूरपश्चिमका योजना परेको भन्दै आलोचना खेपे । संघीय अनुदानका कार्यक्रम सुदूरपश्चिमका भएपनि बजेट बनाउने कर्मचारीको त्रुटिको कारण कर्णालीमा परेका थिए । जुन अर्थमन्त्री बिष्टले बजेट भाषणा गर्दा संसदमा बाचन गरे । जसकारण उनी विवादित बने । संसद अवरुद्ध भएका कारण उनको बजेटमाथि पनि पर्याप्त छलफल हुन सकेन ।
माओवादी पार्टीमा इमान्दार र अरु पार्टीका नेता कार्यकर्ताको पनि मन जितेका बिन्दमान बिष्ट जनार्दन शर्मा र शक्ति बस्नेत गुटको लडाईका कारण सरकारबाट फिर्ता हुनुपरेको थियो । छोटो समय अर्थमन्त्री भएपनि सरकारको प्रवक्ता भएका कारण उनले आफ्नो अलग्गै छाप छाड्न सफल भएका थिए ।
श्रीमानको दबाबमा श्रीमति अर्थमन्त्री
सामान्यतया नेताहरुले श्रीमतिलाई गृहमन्त्री भन्ने गरेका छन् । आफू बाहिर राजनीति गर्ने र घरव्यवहार सम्हाल्ने श्रीमतिलाई गृहमन्त्री भन्ने गर्छन् । तर कर्णालीमा माओवादी नेता रामदीप आचार्यले भने श्रीमति कृष्णा शाहलाई भने अर्थमन्त्री बनाएका छन् ।
शक्ति बस्नेत गुटमै रहेका आचार्यले ठूलो दबाब बनाएर श्रीमतिलाई अर्थमन्त्री बनाएको चर्चा कर्णालीमा व्यापक छ । सरकार समावेशी नभएको भन्दै कर्णालीमा माओवादीले मन्त्री हेरफेर गरेको थियो ।
हेरफेर गर्दा माओवादीबाट सरकारमा सहभागी प्रभावशाली मन्त्री बिन्दमान बिष्टलाई फिर्ता बोलाएर माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीलाई पनि दबाब बढाएर रामदीपले श्रीमति कृष्णालाई अर्थमन्त्री बनाएको चर्चा थियो ।
तीन महिनाका लागि रामदीपले श्रीमतिलाई अर्थमन्त्री बनाएको आरोप छ । मंसिरपछि स्वतः सरकार फेरिने हुँदा बिन्दमान बिष्ट नै अर्थमन्त्रीमा निरन्तर रहने माओवादीको तयारी थियो । तर रामदीपले श्रीमतिलाई मन्त्री नबनाए पार्टी परित्याग गर्ने वा आत्महत्या गर्ने चेतावनी प्रचण्डलाई दिएर कृष्णालाई अर्थमन्त्री बनाउन लगाएको हल्ला कर्णालीमा व्यापक बनेको छ ।
यसरी माओवादी नेताहरुले क्षमता भएकालाई भन्दा आफ्ना भाई, श्रीमतिलाई अर्थमन्त्री जस्तो संवेदनशिल मन्त्रालयमा कार्यकर्ता भर्ती केन्द्र बनाउँदा कर्णालीको अर्थतन्त्र झन् नाजुक बनेको छ । जसकारण कर्णालीमा विकास र बजेट खर्च गर्ने महिना असार मात्रै बनेको छ । अरु महिनामा जम्मा २० प्रतिशत बजेट खर्च हुने कर्णालीमा असार महिनामा भने ८० प्रतिशत बजेट खर्च हुने गरेको छ । त्यसमध्ये धेरैजसो बजेट फ्रिज हुने गरेको छ ।
नेता तथा मन्त्रीकै ढंग नपुग्दा बजेट खर्च नहुने समस्या कर्णालीमा विकराल छ । तर क्रान्तिकारी भनिने माओवादीकै नेताहरु भाई, श्रीमतिदेखि नातागोता भएकालाई मन्त्री बनाउने भ्रष्ट प्रवृत्तिमा रमाएका छन् ।