सुर्खेत : ‘विकासका लागि विनाश जरुरी छ’ सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले सडक विस्तारका लागि मुख्य बजार क्षेत्रमा रहेका रुख धमाधम काटेपछि माथि उल्लेखित भनाई सामाजिक सञ्जालमा समर्थनमा आएका प्रतिक्रिया हुन् ।
यी प्रतिक्रिया सडक विस्तार अभियान चलाउने मेयर मोहनमायाको प्रशंसामा खर्चिएका हुन सक्छन् । तर वाहियात हुन् । सडक विस्तार गर्ने नाममा रुख काटेर उनले निम्त्याएको आफ्नै आलोचनामाथि राहत दिने दुई शब्द मात्रै हुन् ।
मेयर मोहनमायाले एक हप्ता अगाडि नगरपालिकाबाट सडकमा बनाइएको अवैध संरचना हटाउन परिपत्र गरेकी थिइन् । तर नगरपालिकाको सूचनाअनुसार कुनै पनि व्यापारीले अवैध संरचना हटाएका छैनन् ।
सडक विस्तार भन्दा पनि अहिले भइरहेको सडकमा निकै महत्वपूर्ण मानिने फूटपाथ कब्जा गर्ने व्यापारीलाई सीमा सम्झाउने कामको आवश्यकता थियो । मेयर मोहनमायाको परिपत्र पनि त्यही आशयमा थियो । तर एक हप्तापछि ठीक उल्टो काम भएको छ ।
बजारको शोभा बढाएका र जलवायु परिवर्तनको असर बढिरहेका बेला पर्यावरणलाई सन्तुलनमा राखेका रुखलाई धमाधम काटेर वीरेन्द्रनगरकी मेयर मोहनमायाले ‘बालेन पछ्याउने होइन जिम्मेवारीबाट पन्छिने मुर्खता’ गरेकी छन् । अर्थात बालेन पछ्याउने नाममा पर्यावरणको ख्यालै नगरी परिवर्तनको धज्जी उडाउँदै प्राकृतिक रुखमाथि बञ्चरो प्रहार गरेकी छन् । जुन सस्तो लोकप्रियताको उपज हो । दिगो विकासको सोच हुनै सक्दैन ।
काठमाडौँमा मेयर बालेन शाहले सडक क्षेत्रका अवैध संरचना डोजर लगाएर भत्काएपछि त्यसको चर्चा देश विदेश भइरहेको छ । महानगरबाट अनुमति नलिई सडक अतिक्रमण गरेर बनाइएका संरचना उनले डोजर लगाएर भत्काएपछि पैँसा कमाउने व्यापारी तर्सिएका छन् । खुला सडक र फूटपाथ चाहने नागरिक उत्साहित छन् ।
एक जना स्वतन्त्र मेयरले कसैको प्रभावमा नपरी राम्रो मानिएकोमध्ये एक काम गर्दा सबैबाट यसको वाहीवाही भइरहेको छ । त्यही वाहीवाही पाउन मेयर मोहनमायाले वीरेन्द्रनगरमा पनि अवैध संरचना भत्काउन डोजर चलाउने रहर गरेको बुझ्न सकिन्छ । कम्तीमा नगरपालिकाको सूचनाले त्यही भनिरहेको थियो ।
जसका लागि अतिक्रमित संरचनाको खास विवरण संकलन गर्ने, फूटपाथको बिजोग हटाउने, फुटपाथ व्यवस्थित गर्ने, बजारका व्यापारीलाई सम्झाई बुझाई गर्ने, नमाने कारबाही गर्ने, अवैध संरचना बनाउने व्यापारीलाई कारबाही गरेर उनले सुर्खेतबाट बालेन पछ्याउँदाको सकारात्मक परिवर्तन बुझाउन सक्थिन् । तर उनले राम्रो कामको सुरुवात पहिला रुख काट्ने नराम्रो कामबाट गरेको देखिन्छ । जुन जुनसूकै कोणबाट विरोधाभास काम हो ।
वीरेन्द्रनगरेको ढल व्यवस्थित छैन । फूटपाथ व्यवस्थित छैन । व्यापारीको मनलाग्दी नियन्त्रणमा छैन । सडकमा लेन अनुशासन र पार्किङको बिजोग छ । महिनौसम्म सडकका खाल्डा पुरिएका छैनन् ।
ढल व्यवस्थित गर्ने नाममा महिनौँ खनिएको सडक पुरिएको छैन । नागरिकलाई हिडडुल गर्न गाह्रो छ । नगरपालिकाले नगर बस चलाउन सक्दैन् । स्कुल बस व्यवस्थित गर्न सक्दैन् । बिजुलीका तार र पोल व्यवस्थापन गर्न ध्यान जाँदैन ।
तर आफूले गर्ने कामको बाधक प्राकृतिक सास फेर्न लगाउने रुखलाई देख्नु मेयर मोहनमायाको विकासे दृष्टिकोणको समस्या हो । एउटा काम गर्ने सूचना निकालेर अर्को काम गर्ने, त्यसमा पनि एकाबिहानै धमाधम रुख काट्ने, एउटा विरुवा नरोप्ने मेयरले भएका रुख काट्ने जस्तो आलोचित काम अरु हुन सक्दैन ।
समस्याका चाङमाथि उभिएर रुख काटेर समाधान खोज्ने मेयर मोहनमायाले नगरको विकासमा राम्रोसँग नजर लगाउन आवश्यक छ । अन्यथा बालेन पछ्याउने नाममा रुख काट्ने मुर्खता विकासको नाममा विनाश निम्त्याउनु बराबर हो ।