काठमाडौँ : पहिलोपटक कर्णालीका एक सय व्यक्तिको नाम र छोटो परिचयसहितको विवरण ‘कर्णाली १००’ सूचि कर्णालीखबरमा प्रकाशित गरिने भएको छ । कर्णाली चिन्ने, चिनाउने, कर्णालीमा राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न विधामा रहेर उत्कृष्ट योगदान गर्ने व्यक्तिको नाम १०० शब्दको छोटो विवरणसहितको ‘कर्णाली हन्ड्रेड’ सूचि कर्णाली खबरमा प्रकाशित गर्न लागिएको हो ।
दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णाली खबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा कर्णालीका विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्ति सम्मिलित एक सय जनाको सूचि रहने ‘कर्णाली १००’ व्यक्तिको नाम सार्वजनिक गरिने भएको हो ।
कर्णालीमा विभिन्न क्षेत्रका कर्मठ, साहसी, सफल, संघर्षरत तथा सम्झनामा रहेका १०० व्यक्तिको सूचि पहिलोपटक सार्वजनिक गर्न लागिएको हो । यो सूचिमा कर्णालीमा जन्मेर लामो संघर्ष गरेर सफलता हासिल गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिको नाम पनि समेटिनेछ । साथै कर्णालीको नाम जोडिएका तर संघर्षका दौरान दिवंगत भएका केही व्यक्तिको नाम पनि सूचिमा समेटिनेछ ।
तर कर्णालीमै सघर्ष गरेका, सफलता पाएका र कर्णालीको राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न विधामा क्रियाशील व्यक्तिको नामलाई पहिलो प्राथमिकताका साथ ‘कर्णाली १००’ सूचि सार्वजनिक हुनेछ । १०० नम्बरबाट सुरु हुने सूचि १ नम्बरमा टुंगिनेछ ।
१०० जनाको नाम सार्वजनिक गर्दा व्यक्तिको नाम, पद, पेशा, छोटो परिचय र कर्णालीमा योगदानको चर्चा गरिनेछ । त्यसरी लिइएको नाम र लेखिएका विवरण कर्णाली खबर लगायत विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, प्रोफाइल स्टोरीलाई आधार मानिनेछ ।
तर यसरी सार्वजनिक गरिएका व्यक्तिको नाम कुनै शक्ति, प्रभाव वा मापदण्डका आधारमा तय हुने छैन । आफ्नो क्षेत्रमा उनीहरुले गरेको काम, कर्णालीमा योगदान, काम गर्दै गर्दा भएका समाचार कभरेज र कर्णालीमा उनीहरुले गरेको योगदानलाई कर्णाली खबरको दृष्टिकोणबाट नियालेर १०० जनाको सूचि सार्वजनिक गरिनेछ । जसको १०० नम्बरमा कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाम रहनेछ । बाँकी नाम क्रमशः प्रकाशित गरिने छ ।
१०० जनाको सूचि सार्वजनिक भएपछि त्यसमध्येबाट उत्कृष्ट १० जनाको नाम सार्वजनिक हुनेछ । उत्कृष्ट १० जनामध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगदसहित सम्मान गरिनेछ ।
[समाचारमा केही संशोधनसहित सच्याइएको छ* : सम्पादक]