नाम : झोवा विश्वकर्मा
पद : पहिलो कर्णाली प्रदेशसभा सदस्य
पेशा : राजनीति
कर्णाली व्यक्तित्व नं. : ९९
झोवा विश्वकर्मा कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा सांसद बनेकी दलित समूदायकी महिला हुन् । उनको बोली, व्यवहार, हाउभाउ र नजाने पनि सिक्ने प्रयत्न गर्ने प्रयास कर्णालीका सबै दलित समुदायका महिलाको प्रतिनिधित्व हो ।
खासगरि कर्णालीका ग्रामीण क्षेत्रका महिलाहरुको साझा बोली नै झोवाको बोली हो । उनको जन्मस्थल मुगुको मुगुम कार्मारोङ गाउँपालिका ७ हो। चीनको तिब्बतसँग जोडिएको यो गाउँपालिका विकट मात्रै होइन, कर्णालीको कठिन क्षेत्रमध्येको एक हो ।
नेपाली कांग्रेसबाट समानुपातिक प्रदेश सांसद बनेकी झोवाको भाषण पहिलो प्रदेशसभाको पहिलो बजेटका क्रममा सामाजिक सञ्जालमा चर्चित बनेको थियो ।
उनले सत्य बोल्दै भनेकी थिइन्, ‘‘सभामुख महोदय । मेरो हातमा किताब छैन, पढ्न पनि सक्दिनँ, नपढेर आएँ। केही भन्न सक्छु या सक्दिनँ। सिद्धान्त र प्राथमिकतामा त दलित, महिला, पछाडि परेका, दूरदराजका कुरा समेटिएको छ।’
उनी खस भाषा बोल्छिन् । त्यो भन्दा बढी गाउँघरका दुःख सुख स्पष्टसँगै संसद्मा राखिन् । संघीय लोकतान्त्रिक गणतन्त्र भएकै कारण कर्णालीको विकट मुगुुको पनि अनकान्टर ठाउँकी झोवा विश्वकर्मा प्रदेश सांसद बनेर आफ्ना कुरा निर्धक्क संसदमा राख्न सक्ने भएकी हुन् ।
झोवा जस्ता धेरै दलित समुदायका महिला कर्णालीमा छन् । उनीहरु नेता, सांसद, मन्त्री बन्न सक्दैनन् । झोवा सांसद बनिन् । कर्णालीमा झोवा जस्ता लाखौँ महिलाको प्रतिनिधित्व गर्दै उनलाई ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिको ९९ नम्बरमा सूचिकृत गरिएको हो ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]