काठमाडौँ : कर्णाली प्रदेश सरकारको पाँच वर्षमा धेरै उथुलपुथल भयो । पाँच वर्षको पहिलो प्रदेश सरकारको कार्यकालमा दुई जना मुख्यमन्त्री बने । झण्डै २२ जनाभन्दा बढी मन्त्री बने । मन्त्री बनाउनैका लागि मन्त्रालय समेत फुटाइए । भलै त्यो फुटाइने मन्त्रालय एउटै मात्रै बनाइयो ।
जुन कर्णालीको सम्भावनाका हिसाबले आवश्यक ऊर्जा तथा जलस्रोत मन्त्रालय मानियो । अरु प्रदेशमा धेरै मन्त्रालय फुटाउँदा कर्णालीमा एउटा मन्त्रालय मात्रै फूटाइयो । तर कपडा फेरेजसरी पार्टीका नेताहरुले मन्त्रीहरु फेर्दा भने कर्णालीमा सरकार होइन, ‘मण्डलेहरुको भारदारी सभा’ चलाएको महसुस धेरैलाई भयो ।
सत्ताधारी नेताहरुको अस्थिर राजनीति, गुटगत पार्टीगत राजनीति र सत्ता स्वार्थले कर्णालीमा मन्त्रीहरु फेरिरहँदा केही क्षमता देखिएका मन्त्रीहरु भने मारमा परे । जो मुख्यमन्त्री बन्ने सम्भावनादेखि कर्णालीको थोरै भएपनि रुपरेखा कोर्नेसम्मका थिए ।
तर आफ्नै पार्टीको गुटगत राजनीतिमा पिल्सिएर उनीहरु बाध्यात्मक रुपमा सरकारबाट बाहिरिए । कोही दुई वर्ष सरकारमा मन्त्री बनेर बाहिरिए । कोही ६ महिना वा ९ महिनामै पनि बाहिरिए ।
कर्णालीमा पाँच वर्षमा बनेका २२ मन्त्रीमध्ये केही गरौँ भनेर लागेका तर आफ्नै पार्टीको गुटमा पिल्सिएका ५ मन्त्रीको सरल समीक्षा गर्ने प्रयास गरेका छौँ ।
त्यसमध्ये पहिलो मन्त्रीका रुपमा नरेश भण्डारी छन् । कर्णालीको पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका भण्डारी साढे दुई वर्ष सरकारमा रहे ।
यसबीचमा उनले कानुन निर्माणको कामबाहेक अरु गर्न सकेको देखिएन । तर उनमा काम गर्ने हुटहुटी भने थियो । जुन मन्त्री पदबाट बाहिरिएपछि सांसदका हैसियतमा उनले ल्याएका महत्वपूर्ण विधेयकले समेत पुष्टि गर्छ ।
१. नरेश भण्डारी, गृहमन्त्री
कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने सपना पालेका ‘भिजिनरी’ नेता हुन्, नरेश भण्डारी । कर्णालीको स्रोत साधनलाई प्रयोग गरेर समृद्ध कर्णालीको नक्सा कोरेका नेता भण्डारी सुरुवातमै पार्टीगत गुटको शिकार भए । जसकारण उनले कर्णालीलाई विकसित तुल्याउने सपना सपनामै सीमित राख्नुपर्यो ।
मुख्यमन्त्रीका दाबेदार नेता भण्डारी २०६९ सालमा माओवादीमा मोहन वैद्य किरणसँगै विद्रोह गरेका कारण मुख्यमन्त्री बन्न अयोग्य ठहरिए । जो पछि बादलसँगै वैद्यबाट पनि विद्रोह गरेर माओवादीमा फर्किएका थिए ।
तर काठमाडौँबाट प्रचण्डको निकट रहेर कर्णालीको राजनीति गर्ने जनार्दन शर्मा र शक्ति बस्नेतले गुटकै कारण भिजिनरी नेता भण्डारीलाई पाखा लगाएर आफ्नो गुटका महेन्द्र शाहीलाई पहिलो मुख्यमन्त्री बनाए ।
मुख्यमन्त्री बन्न नसकेपछि उनले त्यतिबेला सामाजिक सञ्जालमा ‘अरु प्रदेशलाई समृद्ध प्रदेशकाका रुपमा कर्णालीमा स्वागत गर्ने सपना अधुरै रह्यो’ आशयको स्टाट्स लेखेका थिए । कर्णालीको कायापलट गर्ने सपना पालेका उनले पहिलो मुख्यमन्त्री बन्नका लागि भोट दिन जुम्लाका चुनावी सभामा भाषण गरेका थिए । तर माओवादीकै गुटगत राजनीतिले गर्दा भण्डारी पन्छाइए ।
महेन्द्र शाही पहिलो मुख्यमन्त्री बन्दा कर्णालीका पहिलो गृहमन्त्रीका रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने अवसर भण्डारीले पाए । तर पहिलो प्रदेश सरकारले ऐन बनाउनुपर्ने बाध्यता कारण उनले विकासे काममा ध्यान दिनै सकेनन् । मन्त्री बनेर पनि उनले पार्टीगत गुटकै कारण खासै काम गर्न सकेनन् ।
तर पनि उनले साढे दुई वर्ष कर्णालीको गृहमन्त्री बन्ने अवसर पाए । ऐन, नियम, कानुन, अधिकार केही नभएपछि उनले पाएको दुई वर्षको समय त्यत्तिकै खेर गयो । नेकपा फुटेपछि केही गरौँ भन्ने मन भएका र थोरै भएपनि परिवर्तन गर्न सकिन्छ भनेर लागेका मन्त्री भण्डारी गुटकै कारण राजीनामा दिनुपर्ने बाध्यतामा परे ।
मन्त्री पदबाट राजीनामा दिएपनि बेला बेला कर्णाली र काठमाडौँमा हुने संसद् होस् वा सडकमा, उनले कर्णालीको चिन्ता बोकिरहे । वकालत गरिरहे । सांसद पदमा रहेका उनले सत्तामा नहुँदा पनि कर्णालीको इतिहास र सम्भावना सुरक्षित गर्ने सिँजा सभ्यता संरक्षण विधेयक ल्याए ।
कर्णालीको भौगोलिक विकटतालाई अवसरमा बदल्ने तथा पर्यटनको मूल फुटाउन सक्ने पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक पनि उनले कर्णाली प्रदेशसभामा दर्ता गरे । त्यससँगै उनले कर्णालीमा सरकारकै आविष्कार केन्द्र खोल्ने विधेयक पनि ल्याए । तर ती तीन वटै विधेयकलाई सरकारले स्वामित्व लिएन ।
उनका यी महत्वपूर्ण विधेयक पार्टीको गुटगत राजनीति र कर्णालीका अरु स्वार्थप्रवृत्तिका नेताहरुका कारण अलपत्र परे । प्रदेशसभाको पाँच वर्षे कार्यकाल सकिएर अधिवेशन अन्त्य भएपछि उनका विधेयक निष्क्रिय भइसकेका छन् ।
दुई पटक संघीय सांसदसमेत बनेको अनुभव भएका भण्डारीले कर्णालीमा धेरै सपना सजाएका थिए । सके मुख्यमन्त्री नसके मन्त्री बनेर पनि केही गरेर देखाउने उनको आँट र योजना थियो । तर नेताहरुको अस्थिर सोच र सत्ता स्वार्थ प्रवृत्तिले उनका सबै योजना भताभुंग पारियो ।
राजनीतिक सिद्धान्त र बैचारिक बहसमा धेरै तीक्ष्ण स्वभावका भण्डारी काठमाडौँ लगायत देश विदेशमा कर्णालीको सम्भावना देखाएर ‘ब्राण्डिङ’ गर्ने नेता हुन् । कर्णाली गरिब होइन, प्राकृतिक स्रोत साधन र समृद्धिको भण्डार हो भन्दै उनले धेरै ठाउँमा वकालत गरेका छन् ।
कर्णालीको भौगोलिक विकटतालाई कमजोरी बनाएर केन्द्रीय सत्ताले कर्णालीलाई गरिब बनाएको उनको तर्क धेरैलाई मन परेको थियो । अहिले पनि छ । जनयुद्ध लड्ने क्रममा हातका औँला गुमाएका भण्डारीले पहिलो संविधानसभामा सभाषद भएपछि ‘सुनको सिरानी हालेर नुनको खोजी’नामको पुस्तक पनि लेखेका छन् ।
धेरै सपना, केही योजना र साच्चिकै कर्णालीमा विकासको काम गरौँ भन्ने हुटहुट भएका नेता भण्डारी अरुभन्दा बढी पेलानमा माओवादीभित्रकै गुटमा छन् । गुट नमिलेकै कारण उनी यसअघि मन्त्री बने । अब मुख्यमन्त्री बन्छन् कि मन्त्री बन्नै हम्मेहम्मे पर्छ । हेर्न बाँकी छ ।
[पार्टीकै गुटले पिल्सिएका कर्णाली सरकारका ५ मन्त्रीमध्ये अर्को मन्त्रीको समीक्षा आगामी श्रृङ्खलामा समेट्नेछौँ : सम्पादक]