नाम : मीनबहादुर भाम
पद : चलचित्र निर्माता तथा निर्देशक
पेशा : कलाकारिता
कर्णाली १०० व्यक्तित्व नं. : ९८
काठमाडौँ : कर्णालीमा जन्मिएका मीनबहादुर भाम नेपालकै अन्तर्राष्ट्रियस्तरका चलचित्रकर्मी हुन् । मुगुको छाँयानाथ रारा नगरपालिका ४ मा जन्मिएका भाम मुगु सदरमुकाम हुँदै संघर्षबाट काठमाडौँमा पढेर अन्तर्राष्ट्रियस्तरको फिल्मकर्मी बनेका हुन् ।
कर्णालीको कथामै बनेको ‘कालोपोथी’बाट भामले फिल्म निर्माण क्षेत्रमा हात हालेका हुन् । आफैँले निर्माण तथा निर्देशन गरेको ‘कालोपोथी’ फिल्म उनको सफल र ऐतिहासिक फिल्म हो । जसमा कर्णालीकै कथा छ । कर्णालीकै कथामा फिल्म बनाएर राम्रो व्यापार गरेको फिल्ममा कालोपोथी पर्छ ।
सम्भवतः कर्णालीकै अर्गानिक कथामा फिल्म बनेर व्यापार गरेको फिल्म पनि कालोपोथी हो । कर्णालीको खस भाषामै बनेको यो फिल्मबाट भाम नेपाली चलचित्र क्षेत्रमा उदाएका हुन् । यो फिल्मले भेनिसमा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।
भाम आफ्नो नयाँ चलचित्र ‘चिसो वर्ष’मा केन्द्रित छन् । उनको नयाँ फिल्म प्रदर्शनमा आउन बाँकी छ । कोरोना महामारीको चपेटामा परेको यो फिल्मको ‘स्क्रिप्ट’ले मात्रै एक करोड रुपैयाँ बराबरको पुरस्कार जितिसकेको छ । टर्कीमा ‘१२ पुन्टो– टिआरटी स्क्रिनप्ले डेज’बाट ७५ हजार युरो अर्थात नेपाली रुपैयाँ करिब एक करोड तीन लाख बराबरको यो पुरस्कार अन्तर्राष्ट्रिय सहनिर्माणका लागि आर्थिक अनुदान स्वरूप प्रदान गरिएको थियो ।
नेपाली चलचित्रमा निकै क्षमतावान निर्देशक रुपमा परिचित भाम कर्णालीको मुगुमा जन्मिएर सघंर्ष गर्दै सफल भएका कलाकार हुन् । सानैदेखि नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय भाम आउँदो चुनावमा मुगुबाटै कांग्रेसको समानुपातिक उम्मेद्वारका रुपमा पनि सिफारिस भएका छन् ।
राजनीतिशास्त्र र बौद्ध धर्ममा स्नातकोत्तर गरेका भाम मानवशास्त्रमा पिएचडी गर्दैछन् । उनी काठमाडौँका फिल्म कलेजमा सहप्राध्यापन पनि गर्छन् ।
कर्णालीमा जन्मेर नेपालको एक सफल निर्माता तथा निर्देशक हुँदै कर्णालीकै इतिहास, भाषा र संस्कारलाई चलचित्रको माध्यमबाट देश विदेशमा चिनाउने मीनबहादुर भामलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेषमा ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा ९८ नम्बरमा समेटेका छौँ ।
‘कर्णालीका १०० व्यक्तित्व’ सूचि
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]