[मिडियामा कर्णाली : आउँदो चुनावमा जाजरकोटमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका अन्तर्राष्ट्रिय मोटिभेसन स्पीकर नरबहादुर कार्कीको विचार नेपाल ओपनियनबाट लिएका हौँ : सम्पादक]
जाजरकोटमा थुप्रै समस्या छन् । यहाँ मातृमृत्युदर उच्च छ । बेरोजगारीले सीमा नाघेको छ । केही रकम जोहो गर्न सक्ने मानिस खाडीका देशसम्म पुगेका छन् । बहुसंख्यक भारतको कालापहाड जाने गरेका छन् । महिलाहरूका श्रमको कुनै मूल्य छैन । बाल–विवाह एकदमै छ । छोरीहरूका लागि अवसर छैनन् । मनोवैज्ञानिक हिसाबले युवा विक्षिप्त छन् । आत्महत्याको संख्या बढ्दो छ ।
नेपालका सतहत्तरै जिल्लामध्ये संभवतः सबैभन्दा पछाडी परेको जिल्लामा जाजरकोट पर्छ । यहाँ मानवीय पक्ष, रोजगारी सृजनाका पक्ष, आर्थिक विकासका पक्ष र युवामाझ एउटा आशा निर्माण गर्ने अभियानको खाँचो छ । सडक र पुलका विकास परम्परागत हिसाबले आफै हुँदै जालान् । त्योभन्दा पनि महत्वपूर्ण हाहाकार भएका सपना र विचलित भएका युवालाई उत्तरित गर्नु हो ।
जाजरकोटका थुप्रै आमाहरू आफ्ना सन्तानका पिरले राम्रोसँग निदाउन सक्नुहुन्न । छोराले विदेशमा खायो–खाएन ? के गर्दैछ भन्ने चिन्ता सधै जाजरकोटका आमाहरूको मनमा बसिरहेको छ । उहाँहरूलाई देशको राजनीतिभन्दा पनि आफ्नो परिवारको चिन्ता बढी छ ।
यहाँका मानिस बिरामी भएपछि सुर्खेत, नेपालगञ्ज वा काठमाडौँ धाउनु परेको छ । राम्रो शिक्षाका लागि ठूला शहर नपसी नहुने बाध्यता छ । यस्तो अवस्थाले उहाँहरू वितृष्णामा हुनुहुन्छ ।
नेपालको राजनीतिमा बहुदलीय व्यवस्थाले ३० बर्ष पार गर्यो तर जाजरकोटका जनताले धोकाबाहेक केही पाउन सकेनन् । जनताले मत त दिए तर मत पाउने व्यक्ति जिम्मेवार हुन सकेन । निर्वाचित व्यक्ति फेरिए तर जनताको भाग्य कहिल्यै फेरिएन ।
जाजरकोटलाई जुम्ला हुँदै रारासम्म जोड्ने र तराईदेखि हिमाल सम्मको गेटवेका रूपमा रूपान्तरण गरिनुपर्छ । हाम्रा शिक्षक र स्वास्थ्यकर्मीहरू एकदमै अप्ठेरो परिस्थितिमा काम गरिरहनु भएको छ । पूर्वाधारको अभावबाट गुज्रिइरहनु भएको छ । शिक्षकलाई सिक्ने अवसरको कमी छ । परमपरागत तालिम त हुन्छ तर सुधार हुन सकेको छैन । पढे लेखेका मान्छेले पनि हिम्मतका साथ कला प्रस्तुत गर्न सकिरहेका छैनन् । किनभने शिक्षाको गुणस्तरमा कही न कहीँ सम्झौता गरिएको छ । आधारभूत समस्या टन्नै छन् ।
जाजरकोटमा आठ महिना जति चिसो हुने पहाड पनि छन् । त्यहाँ महिलाहरूलाई महिनावारी हुँदा नुहाउन जाँदा चिसोका कारण समस्या छ । कपडा धुन, बच्चालाई नुहाउन गाह्रो छ । पानी उमाल्न पनि इन्धनका समस्या छन् । त्यहाँ सौर्य उर्जाबाट पानी तताउने वा सोलारबाट पानी तताएर नुहाउने व्यवस्था गरिनुपर्छ । सामुदायिक स्नान केन्द्र खोल्न जरुरी छ । हरेक महिनाको ५ दिनका अप्ठेराहरू सुल्झाउन जरुरी छ । यसले बच्चाहरूको पढाईको गुणस्तरदेखि जनस्वास्थ्यका कुराहरू पनि सम्बोधन गर्छ । स्वस्थ्य जीवन व्यवहारले कयौँ रोगबाट उन्मुक्ति पाउन सकिन्छ ।
जाजरकोटको भौगोलिक जटिलता र अवस्थालाई हेर्दा जिल्लाको वर्गमा बजेट दिएर पुग्दैन । यहाँका मानिसको औसत आयु अरू जिल्लाको भन्दा कम छ । यहाँका स्वास्थ्यकर्मीले अन्य जिल्लाको जति मात्रै कष्ट गरेर पुग्दैन । खोप लगाउन घण्टौ हिँड्नु पर्ने बाध्यता छ । महिला स्वास्थ्यकर्मीका लागि अर्थपूर्ण कार्यक्रम आवश्यक छ । स्वास्थ्यकर्मीको आत्मसम्मानका साथै सिकाईमा विकास हुने खास किसिमका नीति चाहिन्छ । किनभने दुर्गममा काम गर्न र सुगममा काम गर्न अवस्था र परिस्थिति अनुसार नीति फरक हुनपर्छ ।
हाम्रा कृषकहरूलाई आधुनिकीकरण गर्न आवश्यक छ । आफ्ना पार्टीका कार्यकर्तालाई एक–दुई वटा बाख्रा बाँडेर एक दिन वा दुई दिनका लागि देखाउने विकास निर्मूल गर्न जरुरी छ ।
विकाससम्बन्धी हाम्रा अवधारणा परम्परावादी ढर्राका छन् । विस्तारै जाने विकासले जाजरकोटलाई छुँदैन । चितवन महानगरमा दिइएको बजेट हाम्रो जिल्लामा दिइएको भन्दा धेरै गुणा बढी छ । जाजरकोटको समान्य विकासका योजना सम्पन्न गर्नका लागि राष्ट्रिय दृष्टिकोण पर्याप्त छैन । यहाँका मानिस पहिलेदेखिनै उत्पीडनमा परेका छन् । विकासलाई अभियानका रूपमा लान सके मात्र त्यसले मूर्त रूप लिन सक्छ । त्यसका लागि स्थानीय तहदेखि केन्द्रसम्मै सहकार्य जरुरी हुन्छ ।
डेढ घण्टा हिडेर विद्यालय पुगेकोे थकित र भोको बच्चालाई परम्परागत किताब पढाएर सबल नागरिक बनाउन मुस्किल छ । ती बच्चाहरूको सामाजिक सुरक्षा र अधिकारको प्रत्याभूतिका लागि आबाज उठाउनु नै अहिलेको आवश्यकता हो ।
भौगोलिक हिसाबले विकट तर स्रोत साधनको वितरण जनसांख्यिक तवरले गर्दा विद्यालय कम छन् । संख्याको हिसाबभन्दा पनि गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरो बढी महत्वपूर्ण हुन्छ । काठमाडौँमा पढाउने र जाजरकोटमा पढाउने शिक्षकलाई बराबर सुविधा दिँदा न्यायोचित हुँदैन । आधारभूत शिक्षा नामको मात्र भएका कारण अर्थपूर्ण भिन्नता ल्याउन जरूरी छ । समानता भन्दा पनि समतामा ध्यान दिन पर्ने देखिन्छ ।
कुनै अवसर पाउनका लागि कोटा तोक्दैमा त्यहाँका आम जनताको समस्याको कदर हुँदैन । वृद्ध भत्ता नेपाल भरकालाई ६५ बर्षमा दिने भन्ने निर्णय गरिन्छ तर मेरो जिल्लाका मानिसहरूको ६४ बर्षमै धेरै मृत्यु भएको छ भने सरकारले दिएकै छ भनेर कसरी मान्न सकिन्छ ? जाजरकोट जिल्लालाई कदर हुने गरी ६० बर्षमा वृद्धा भत्ता दिने निर्णय हुनपर्याे । म जे पाउँदै छु, त्यो पाउनु मेरा लागि न्याय हो ? अथवा पाउँदै गर्दा पनि मैले वा हाम्रा जनाताले गुमाईरहेका छन् ?
बीस हजार रूपैयाँ कमाउन भारत गएर अपमानित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । जति मानिस शिक्षित हुनेछन्, राजधानी र जाजरकोटको गुणस्तरमा भिन्नता हुनुहुँदैन । जाजरकोटका हरेक पालिकामा मानिसहरूका जीवन रक्षा गर्ने स्वास्थ्य सेवा हुनुपर्छ । सडक सञ्जालसँगै सामाजिक विकृती भित्रिन दिनु हुँदैन । बाल विवाह रोक्नुपर्छ । बाँझा जमिनमा कपास खेती गराउनुपर्छ । स्थानीय स्तरमा कपडा बुन्ने र त्यसको बजार नेपालमै उपलब्ध हुने वातावरण बनाउनुपर्छ ।
स्रोत साधनहरू आजसम्म राजनैतिक पार्टीका लागि मात्र भएका छन् । कतिन्जेल यस्तै अवस्था रहन दिने ? नेपालको विकास चहाने साझेदारहरूलाई जाजरकोटको यथार्थ तस्विर राखेर उहाँहरूको उपस्थिति सहितको लगानी ल्याउन आवश्यक छ । राज्यको स्रोत–साधनसँगै गैर–सरकारी स्रोत साधनको पनि परिचालन हुनुपर्छ ।
विकास दुई किसिमको हुन्छ । एउटा समयसँगै जाने विकास, अर्को सजक प्रयत्नले गरिने विकास । अहिले भैइरहेको विकासलाई त विकास भन्नै मिल्दैन । हाम्रो पहलबाट हुन सक्ने विकास त्यहाँ भएको छैन । राज्यकोषबाट छुट्याएको तलब खाने बाहेक केही भएको छैन । योजना छनौटका बेला विभिन्न रुचिहरू हाबी भएको देखिन्छ ।
बर्षको सुरुमा फलानो कार्यकर्ताको समूह बनाएर यताको बाटो हाल्दिउँला भनेर सहमती हुन्छ । १ करोडको बजेटमा गाँऊमा काम ५ लाखको भयो भने भाग्यमानी ठान्नु पर्ने अवस्था छ । जनाताले आफ्ना पार्टीका कार्यकर्ता संरक्षण गर्ने मान्छे भन्दा पनि सबै जनाताको प्रतिनिधि भएर काम गर्ने स्वतन्त्र मानिस चाहेका छन् ।
एउटा वर्गका मानिसले दसकौंदेखि विकासको लाभ लिईरहेका छन् भने अर्काे वर्गलाई विकास भनेको पत्तै छैन । चुनाव पुँजी र क्षमतावालहरूको आपसी जुवा भएको छ । लाखाैं करौडौं खर्चिएका छन् । जनाताको विवेकलाई दिग्भ्रमित गरिएको छ । जनतालाई साँचो विवेक र राजनीतिक चेतनाका आधारमा नेता छनोट गर्न नदिने परम्परा बसेको छ ।
पार्टीले पनि जसले बल, रकम खर्च गर्न सक्छ उसैलाई दह्रो मान्छे भन्ने गरेको छ । दह्रोको मापन नैतिकताको आधारमा हुनु पर्ने हो । जनतालाई सेवा प्रवाह गर्न सक्ने आधारमा हुनपर्ने हो । न्याय र हितका लागि उभिन सक्ने मानिस हुनु पर्ने हो । हाम्रो अभियान रकम खर्च नगरी प्रस्ताव, सपना र जनताको बलमा चुनाव जित्ने हुनुपर्छ जसले गर्दा निर्वाचन जित्न पैसाभन्दा पनि नैतिक बल चाहिन्छ भन्ने कुरा प्रमाणित गरोस् ।
आजको दिनमा जाजरकोट भन्दा सबैको मनमा झाडापखला, गरिबी, दुर्घटनालगयात निरक्षरताका तस्बिर आउने गर्छ । राजनीतिक पार्टीका नेताहरू विगत ३–४ दशकदेखि जाजरकोटको गरिबी बेचेरै राजनीति गरिरहेका छन् । एउटा कुनै पार्टीको झण्डा बोकेर सबैको विकासबारे सोच्न सकिँदैन । आफ्नै पार्टीका नेताको चाकडी गर्न सारा समय र सम्पूर्ण चिन्तन खर्च हुन्छ । अलि अलि बाँकी भएको समय कार्यकर्ता पोस्दैमा सकिन्छ । अनि कसरी हुन्छ विकास ?
आजभोली ‘समाजसेवा’ भनिने देखावटी विकासमा मलाई पटक्कै विश्वास छैन । केही मान्छेको प्रवृत्ति कस्तो छ भने झाडापखाला फैलियो भने त्यहीबेला एम्बुलेन्स डुलाउनु पर्छ भन्ने मानसिकता छ । कोभिडका बेला चारवटा खाट समातेर गाडीमा राख्दिम् अनि फोटो खिचेर सामाजिक सञ्जालामा वाह वाही कमाउँ भन्ने थुप्रै देखिए ।
यसरी कसैले कसैमाथि दया वा उपकार गरिदिने खालको विकास उचित होइन । हाम्रा बालबालिकामाथि अर्कोको उपकार किन चाहियो ? के उनीहरू जन्मने बित्तिकै आफ्नो जीवन, विकास र शिक्षाको हक राख्दैनन् ? खै त्यो हक हामीले दिलाउन सकेको ? पिकअपका पछाडी ५ सयवटा किताब बोकेर बाढ्दै हिडँ्नुलाई विकास भन्न सकिन्न । त्यो त उनीहरूको गरिबीमाथि गरिएको भद्दा मजाक हो ।
म जाजरकोटमै जन्मेर हुर्केको हुँ । यहीँको सरकारी बिद्यालयको छात्र भएर बिताएको हुँ । एसएलसी सकेपछि आर्थिक अवस्था कमजोर भएका कारण कालापहाडमा गएर त्यहाँको सडकमा आफैले काम गरेको थिएँ ।
मलाई त्यहाँको हरेक परिवेशको ज्ञान छ । समस्यासँगै समाधानका बारेमा पनि ज्ञान छ । समाजिक हिसाबले ठूला–ठूला अभियान गरेको एउटा पात्र हुँ । मातृमृत्यु घटाउनका नेपालभर बर्थिङ सेन्टर बनाउन थुप्रै हिँडेको छु । पूर्ण खोपका लागि अभियान चलाएको छु । कोभिड–१९ मा यूनिट एक्सन लगायतका अभियान चलाएको छु ।
जाजरकोटका आम जनता जसको आयस्रोत छैन, आफ्नै जमीनको उत्पादनले यही महिनाभन्दा खान पुग्दैन र कृषि गरेर पनि परिवार पाल्न गाह्रो छ, ती समग्र जनतालाई आधुनिक विकासको मूलधारमा जोड्ने मेरो प्रयास रहनेछ । म मेरा प्रतिवद्धताहरू जाजरकोटका जनता समक्ष कथा जसरी लम्बेतान नलेखी सार्वजनिक गर्ने छु । ती प्रतिवद्धता पूरा नभए स्वतः राजनीतिबाट बाट सन्यास लिनेछु ।