काठमाडौँ : कर्णाली प्रदेश सरकारको पाँच वर्षमा धेरै उथुलपुथल देखियो । पाँच वर्षको पहिलो प्रदेश सरकारको कार्यकालमा दुई जना मुख्यमन्त्री बने । झण्डै २२ जनाभन्दा बढी मन्त्री बने ।
मन्त्री बनाउनैका लागि मन्त्रालय समेत फुटाइए ।
अरु प्रदेशमा धेरै मन्त्रालय फुटाउँदा कर्णालीमा एउटा मन्त्रालय मात्रै फूटाइयो । तर कपडा फेरेजसरी पार्टीका नेताहरुले मन्त्रीहरु फेर्दा भने कर्णालीमा सरकार होइन, मण्डलेहरुको भारदारी सभा चलाएको महसुस धेरैलाई भयो ।
सत्ताधारी नेताहरुको अस्थिर राजनीति, गुटगत पार्टीगत राजनीति र सत्ता स्वार्थले कर्णालीमा मन्त्रीहरु फेरिरहँदा केही क्षमता देखिएका मन्त्रीहरु भने मारमा परे । जो मुख्यमन्त्री बन्ने सम्भावनादेखि कर्णालीको थोरै भएपनि रुपरेखा कोर्नेसम्मका थिए । तर आफ्नै पार्टीको गुटगत राजनीतिमा पिल्सिएर उनीहरु बाध्यात्मक रुपमा सरकारबाट बाहिरिए । कोही दुई वर्ष सरकारमा मन्त्री बनेर बाहिरिए । कोही ६ महिना वा ९ महिनामै पनि बाहिरिए ।
कर्णालीमा पाँच वर्षमा बनेका २२ मन्त्रीमध्ये केही गरौँ भनेर लागेका तर आफ्नै पार्टीको गुटमा पिल्सिएका ५ मन्त्रीको सरल समीक्षा गरिरहेका छौँ । जसमा पार्टीकै गुटको मारमा परेका नरेश भण्डारीको समीक्षा गरिसकेका छौँ । दोस्रो नम्बरमा कर्णालीमा पहिलो सामाजिक विकासमन्त्री बनेका दलबहादुर रावलको समीक्षा:
२. दलबहादुर रावल, सामाजिक विकासमन्त्री
कर्णालीमा सम्भावना र क्षमता भएका मन्त्रीमा दलबहादुर रावल पनि एक हुन् । जो पहिलो कर्णाली प्रदेश सरकारमा सामाजिक विकास मन्त्री बने । असाध्यै चुनौतिपूर्ण र धेरै क्षेत्र हेर्नुपर्ने मन्त्रालयका रुपमा परिभाषित सामाजिक विकास मन्त्रालयमा उनी फिट मन्त्री थिए ।
हुम्लामा राजनीतिक संघर्ष गरेर काठमाडौँसम्मको अनुभव बटुलेका रावल एमालेबाट सामाजिक विकास मन्त्री बनेका हुन् । नेकपाकै सरकार हुँदा उनी एमाले निकट भएपनि उनले साढे दुई वर्ष मन्त्री बन्ने अवसर पाए ।
सामाजिक विकासमन्त्री भनेपनि शिक्षा, स्वास्थ्य, समाजदेखि युवा तथा खेलकुदसम्म उनकै मन्त्रालयमा पार्दा उनले सबैतिर भ्याएका थिए । थोरै भएपनि थिती बसाल्नेगरि काम गरेका उनले केही राम्रो सुरुवात गर्ने सम्भावना देखाएका थिए ।
बेला बेला हेलिकोप्टर चढेर हुम्ला पुग्ने मन्त्रीका रुपमा आलोचित बनेका उनले सबै पक्षसँग सकारात्मक सल्लाह र छलफल गरेर अघि बढ्ने मन्त्रीका रुपमा पनि आफ्नो परिचय बनाएका थिए ।
तर सरकारमा रहेको पार्टी सडकमा लागेपछि उनले पनि बाध्यात्मक रुपमा पदबाट राजीनामा दिएर बाहिरिए । लगातार दुई वर्ष काम गर्दा उनले कर्णाली र काठमाडौँसम्म बराबर सन्तुलन मिलाएका थिए । त्यति मात्रै नभई सुर्खेतदेखि हुम्ला लगायत विकट जिल्लामा पनि उनले राम्रै छाप छाडेका थिए ।
तर प्रभावकारी काम गर्ने बेला उनले राजीनामा दिएर सडक संघर्ष र प्रतिपक्षको सिटमा खुम्चिनुपर्यो । सामाजिक विकास मन्त्री भएपनि उनले कर्णालीको समग्र विकास, पर्यटन प्रवद्र्धनदेखि समाजको अवस्था थोरै भएपनि परिवर्तन गर्ने संकेत देखाएका थिए ।
तर पार्टीगत गुटकै कारण पटक पटक राजीनामा दिनुपर्ने दबाब झेलेका उनी अन्ततः पार्टी सरकारबाट बाहिरिएपछि बाध्यात्मक बहिर्गमन हुनुपरेको थियो । एकपटक त गुट नमिलेकै कारण तत्कालीन मुख्यमन्त्री महेन्द्र शाहीले मन्त्री रावललाई राजीनामा दिन दबाब नै दिएका थिए ।
त्यतिबेला त्यो दबाब झेलेका उनले ‘मृत्युपत्रमा हस्ताक्षर गर्न सकिएन’ भन्दै फेसबुकमा स्टाट्ससमेत लेखेका थिए । फरक गुट भएकै कारण उनीमाथि दबाब बढेपछि एकपटक उनले सामाजिक सञ्जालमा बिदाई स्टाट्स पनि लेखेका थिए ।
तर माधव नेपाल गुटमा लागेपछि उनी केही समय थेगिए । सुरुमा ओली गुटमा सक्रिय रावल पछि राजीनामाको दबाब आएपछि माधव नेपाल गुटमा लागेको कुरा आलोचित थियो । मन्त्री पदमा टिकिरहन गुट फेरेको भन्दै उनको आलोचना बढेको थियो ।
मन्त्री भएका बेला उनीमाथि एमाले नेता यामलाल कँडेल नै दबाब दिन्थे । तर पनि उनले जसोतसो साढे दुई वर्ष मन्त्री पद सम्हाले । रारामा पहिलो नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती कार्यक्रम गर्न उनले उल्लेख्य भूमिका खेलेका थिए । कर्णालीदेखि केन्द्रसम्मका मिडियामा राम्रो सम्पर्क बनाएका उनी पत्रकारसँग सहजै कुरा गर्न सक्ने स्वभावका थिए ।
हुम्ला गृहजिल्ला भएका कारण उनलाई मन्त्रालयमा भेट्न आउने हुम्लीको संख्या पनि ठूलो थियो । हुम्लामा एमालेको राम्रै पकड बनाएका उनी मन्त्री भएका बेला भने साझा रुपमा प्रस्तुत भएका थिए । सामाजिक विकास मन्त्री भएका बेला उनले कोभिड महामारीमा पनि सबैसँग सकारात्मक समन्वय गर्न सफल भएका थिए । जुन त्यसपछि आएका मन्त्रीले त्यो किसीमको व्यवहार देखाउन सकेनन् ।
नेकपाभित्रको आन्तरिक विवाद चर्किएर एमाले र माओवादी अस्तित्वमा आएपछि तत्कालीन एमालेबाट मन्त्री भएका प्रकाश ज्वाला, नन्दसिंह बुढासँगै उनले पनि राजीनामा दिएर बाहिरिएका थिए । तर त्यसरी बाहिरिदा उनी मात्रै आफ्नो पार्टीप्रति इमान्दार देखिए ।
एकसाथ राजीनामा दिएका प्रकाश ज्वाला र नन्दसिंह बुढापछि फ्लोर क्रस गरेर फेरि मुख्यमन्त्री महेन्द्र शाहीको सरकारमा मन्त्री भएर गएका थिए । यद्यपी प्रकाश ज्वाला दोस्रोपटक मन्त्री भएनन् । साढे दुई वर्ष सरकारमा हुँदा परिपक्व काम गरेका उनले पार्टी प्रतिपक्षमा हुँदा पनि आफ्नो व्यक्तित्व जोगाइरहेका पूर्व मन्त्री हुन् ।
विकासे काममा कानुन निर्माणमा बढी जोड दिएका उनले कोभिड महामारीका कारण काम गर्न नसकेको स्पष्ट थियो । तर बेला बेला गृहजिल्ला हुम्लामा हेलिकोप्टर चढेर जाने भएकाले उनको आलोचना पनि थियो । तर जे होस्, मन्त्री भएका बेला पार्टीको गुटगत समस्याका कारण खुलेर काम गर्न नसकेका मन्त्रीमा दलबहादुर रावल पनि पर्छन् ।
कर्णालीमा पार्टीगत गुटले पिल्सिएका ५ मन्त्री
१. नरेश भण्डारी : गुटको छायाँमा कर्णालीका ‘भिजिनरी’ नेता
[पार्टीकै गुटले पिल्सिएका कर्णाली सरकारका ५ मन्त्रीमध्ये अर्का मन्त्रीको समीक्षा आगामी श्रृङ्खलामा समेट्नेछौँ : सम्पादक]