बागलुङ : बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ ।
ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ ।
झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए । उनले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।
घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको बताउँछन् । “पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ ।”
वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको उनले बताए । “यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला”, घर्तीले भने ।