काठमाडौँ : कर्णाली प्रदेश सरकारको पाँच वर्षमा धेरै उथुलपुथल देखियो । पाँच वर्षको पहिलो प्रदेश सरकारको कार्यकालमा दुई जना मुख्यमन्त्री बने । झण्डै २२ जनाभन्दा बढी मन्त्री बने ।
कपडा फेरेजसरी पार्टीका नेताहरुले मन्त्रीहरु फेर्दा भने कर्णालीमा सरकार होइन, मण्डलेहरुको भारदारी सभा चलाएको महसुस धेरैलाई भयो । सत्ताधारी नेताहरुको अस्थिर राजनीति, गुटगत पार्टीगत राजनीति र सत्ता स्वार्थले कर्णालीमा मन्त्रीहरु फेरिरहँदा केही क्षमता देखिएका मन्त्रीहरु भने मारमा परे ।
कर्णालीमा पाँच वर्षमा बनेका २२ मन्त्रीमध्ये केही गरौँ भनेर लागेका तर आफ्नै पार्टीको गुटमा पिल्सिएका ५ मन्त्रीको सरल समीक्षा गरिरहेका छौँ ।
३. सीता नेपाली, गृहमन्त्री
कर्णाली प्रदेश सरकारमा छोटो समयमा मन्त्री बनेको अर्को नाम हो, सीता नेपाली । माओवादी केन्द्रबाट मात्रै ६ महिना गृहमन्त्रीका रुपमा सीता नेपालीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।
समावेशिताका आधारमा मन्त्री बनेकी उनी कर्णाली प्रदेशमा सबैभन्दा छोटो समय मन्त्री बनिन् । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्र शाहीको सरकार ढल्ने बेलामा सीता नेपाल आन्तरिक मामिला मन्त्री बनेकी थिइन् ।
नरेश भण्डारी बिदा भएपछि सो पदमा पुगेकी उनले आफ्नै पार्टीका घाइते नेता तथा कार्यकर्ताका लागि राहत पाउने तथा सरकारबाट निरन्तर सुविधा पाउने गरि कानुन बनाउन सफल भएकी थिइन् ।
त्यसबाहेक उनको निरन्तर चर्को बोलीले गर्दा दलितसम्बन्धि विधेयक पनि बनेको थियो । ६ महिना मात्रै मन्त्री बन्दा उनी पूरा अधिकारसम्पन्न मन्त्री बन्ने नेपालकै पहिलो दलित महिला हुन् ।
इतिहार रचेर मन्त्री बन्दा पनि उनी लामो समय संघर्ष गरेर सो पदमा पुगेकी थिइन् । मन्त्रीका लागि उनले जनार्दन शर्मा र अध्यक्ष प्रचण्डसँग पनि लामो लबी गरेकी थिइन् । केन्द्रमा प्रचण्ड र जनार्दन शर्मा तयार भएपछि मात्रै उनी कर्णालीमा मन्त्री बन्न पाएकी थिइन् ।
समावेशीको नाराका कारण उनी मन्त्री बनेपनि उनले दलित समुदायका लागि कुनै पनि सम्झिने काम गर्न सकिनन् । मन्त्री बन्नु अगाडि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रमुख सचेतक रहेकी उनी मन्त्री बनेपछि सरकारको प्रवक्तासमेत बनिन् ।
तर विमला केसीले प्रवक्ताका रुपमा पाएको जिम्मेवारी र अवसर उनले पछ्याउन सकिनन् । बरु उनी सरकारको प्रवक्ता बन्दा कुनै पनि सूचना पत्रकारसामु पुग्न सकेन । जसकारण उनले पार्टीको प्रमुख सचेतक बन्दा हाईहाई भएपनि मन्त्री बन्दा झन् बढी आलोचित भइन् ।
पत्रकारको फोन समेत राम्रोसँग नउठाउने उनले धेरै पटक आलोचना खेप्नु परेको थियो । सरकारको प्रवक्ता भएपनि पत्रकारसँग उल्टो सम्बन्ध बिगारेकी उनले सरकारको बचाउ गर्न पनि सकिनन् । उनी मन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका बेला कर्णालीमा एमाले फुटेर मन्त्री पदमा पुगेका कुर्मराज शाही र अम्मरबहादुर थापा असाध्यै विवादित बनेका थिए ।
उनीहरु विवादित बन्दा त्यसबारे सरकारले लिन सक्ने कदमका विषयमा उनले कहिल्यै धारणा बनाउन सकिनन् । उल्टै उनीहरुको बचाउ गर्दा उनी सरकारको प्रवक्ताका रुपमा झन् बढी आलोचित भइन् ।
दलित समूदायबाट मन्त्री बनेकी उनले ६ महिने कार्यकालमा दलित समूदायका लागि कुनै पनि काम गर्न सकिनन् । केवल दलित समूदायबाट मन्त्री बनेकी उनी देखिन र माओवादीलाई देखाउनका लागि मात्रै मन्त्री बनेको चर्चा चल्यो ।
यसअघि माओवादीको केन्द्रीय सचेतक पदमा रहेर संघीय सांसदको अनुभव बटुलेकी उनी कर्णाली प्रदेशमा पूरा पाँच वर्षे मन्त्री बनेको भए केही गर्न सक्ने सम्भावना थियो । तर जनार्दन गुटमा लागेपनि पार्टीभित्रै विभेद झेलेकी उनी पनि गुटको शिकार भइन् । गुटकै कारण उनले छोटो समय मात्रै मन्त्री बन्नुपर्यो भने मन्त्री बनेर पनि नेता कार्यकर्ता र जनताका लागि खासै केही गर्न सकिनन् ।
कर्णालीबाट नेपालकै पहिलो दलित महिला मन्त्री बनेर इतिहास रचेकी उनले जिम्मेवार भूमिकासहित सम्झिनलायक ठूलो काम गर्न सकिनन् । जुन माओवादीभित्रैको गुटको राजनीति प्रमुख कारण थियो । नेपालको इतिहासमा सबैभन्दा बढी विभेद र सामाजिक समस्या रहेको कर्णालीमा वर्षौ राजनीतिमा टिकिरहेकी सीता नेपाली महत्वपूर्ण पदमा पुगेपनि त्यसले जनताका लागि भने कुनै पनि रुपरेखा कोर्न सकेन ।
हुन त दुई वर्ष मन्त्री, झण्डै तीन वर्ष मुख्यमन्त्री भएका माओवादी नेताहरुले देखिने गरि काम गर्न नसकेका बेला उनीबाट आश गर्नु केवल अपेक्षित मात्रै हुन सक्छ । तर उनीजस्ता समुदायको नेतृत्वको गर्ने व्यक्तिले कार्ययोजना बनाएर काम गरेको भए केही उपलब्धी हासिल हुने थियो ।
त्यसमा पनि उनले विज्ञटिम बनाएर काम गर्न नसकेको कमजोरी प्रष्ट देखियो । कर्णाली प्रदेश सरकारको पहिलो ऐतिहासिक सरकारमा दलित समूदायबाट नेतृत्व पाएकी उनले आफूलाई जिवन्त मन्त्रीका रुपमा उभ्याउन अझै धेरै सघंर्ष गर्नुपर्ने देखिन्छ ।
कर्णालीमा पार्टीगत गुटले पिल्सिएका ५ मन्त्री
[पार्टीकै गुटले पिल्सिएका कर्णाली सरकारका ५ मन्त्रीमध्ये अर्का मन्त्रीको समीक्षा आगामी श्रृङ्खलामा समेट्नेछौँ : सम्पादक]