नाम : नारायण सिग्देल
पद : प्रधानाध्यापक
पेशा : शिक्षण
कर्णाली १०० व्यक्तित्व नं. : ९७
काठमाडौँ : सुर्खेतको जनज्योती माविका शिक्षक प्रधानाध्यापक नारायण सिग्देल नेपालकै रोलमोडल प्रधानाध्यापक बनेका छन् । जनज्योती माविको नेतृत्व सम्हालेदेखि विद्यालयलाई नेपालकै उत्कृष्टमध्येको एक बनाएका उनी सरकारले लागू गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट थप चर्चामा आएका हुन् ।
चालिसको दशकमा तनहुँबाट सुर्खेतको बड्डीचौर पुगेर शिक्षण पेशा सम्हालेका उनले विद्यार्थीलाई विद्यालयमै प्राविधिक धारको शिक्षा र सीप दिएर जनज्योतिलाई चर्चाको शिखरमा पुर्याएका प्रअ हुन् ।
सुरुवाती समयमा विद्यार्थी आकर्षण गर्न र शिक्षकलाई तलब खुवाउन हम्मे हम्मे परेका बेला उनले प्रधानाध्यापक भएर विद्यालयको नेतृत्व सम्हालेदेखि भने पर्याप्त विद्यार्थी, विद्यालयमा नयाँ नयाँ कार्यक्रम र शिक्षकको पनि रोलमोडल प्रधानाध्यापक बनेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माको पहलमा सिग्देलले नै जनज्योतिमा लागू गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम देशका विभिन्न १४० वटा विद्यालयमा लागू भएको छ । गएको वर्ष ३२ वटा विद्यालयमा लागू भएको यो कार्यक्रम यो आर्थिक वर्षमा थप गरेर १४० वटा विद्यालयमा विस्तार भएको हो ।
आफैँले आफ्नो विद्यालयमा लागू गरेर नमुना बनाएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम देशभरका विद्यालयमा विस्तार गर्ने नेपालका एक मात्रै शिक्षक तथा प्रधानाध्यापक सिग्देल हुन् ।
जो तनहुँदेखि कर्णालीको माटोमा पुगेर शिक्षाजस्तो महत्वपूर्ण विषयमा आफूलाई मात्रै होइन, कर्णालीको सुर्खेतको पनि बड्डीचौरमा रहेको विद्यालयलाई देशैभर चिनाए । जनज्योतिका बारेमा नेपालका सबैजसो सञ्चारमाध्यममा समाचार बनिसकेको छ । सबै सञ्चारमाध्यमले जनज्योतिको राम्रो कामको प्रशंसा गरिरहेका छन् ।
कर्णालीबाट सुर्खेतको विद्यालयलाई नमूना बनाउने, देश विदेशमा चिनाउने, विद्यार्थीलाई आत्मनिर्भर बनाउने कामको ऐतिहासिक रुपमै सुरुवात गरेर देशका सबै जिल्लामा यो अभियान चलाउन सक्ने क्षमताका जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देललाई कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिको ९७ औँ नम्बरमा समेटेका छौँ ।
‘कर्णालीका १०० व्यक्तित्व’ सूचि
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]