काठमाडौँ : भनिन्छ, कर्णाली प्रदेश भर्जिन छ । अर्थात लगानीका दृष्टिकोणले कर्णाली सबै किसीमले खुला र उपयुक्त क्षेत्र हो । त्यसमा सबैभन्दा ठूलो र सहज मानिएको क्षेत्र भने पर्यटन हो । कर्णालीका हरेक गन्तव्यमा पर्यटन क्षेत्रको लगानीका लागि उत्तम ठाउँ हो ।
कर्णालीको सबैभन्दा आकर्षक र प्रचर सम्भावना भएको राराताल, शे–फोक्सुन्डो ताल, बुलबुले ताल, कुपिन्डे दह, बराहताल, स्यार्पु ताल लगायत थुप्रै छन् । तर यी सबै पर्यटकीय गन्तव्यमा कर्णाली प्रदेश सरकारले कुनै पनि प्रभावकारी काम गर्न सकेको छैन ।
वर्षेनी बजेट छुट्याएको कर्णाली प्रदेश सरकारबाट कुनै पनि पर्यटकीय क्षेत्रमा केही पनि हासिल भएको छैन । डोल्पाको शे–फोक्सुन्डो जाने बाटोको ट्रयाकसमेत खुलेको छैन । राराताल जाने बाटो अहिलेसम्म पीच भएको छैन ।
नजिकै बुलबुले तालको हालत जस्ताको तस्तै छ । प्रदेश सरकारको पाँच वर्षमा बुलबुले ताल व्यवस्थापमा ठोस प्रगति भएको छैन । काँक्रेविहार पुनर्निर्माण भएपनि पूर्ण रुपमा व्यवस्थापन भएको छैन । दैलेखको ज्वाला र पाँच पाण्डवको शिलालेखको हालत पूरानै छ ।
यसर्थ कर्णालीको कुनै पनि पर्यटकीय क्षेत्रमा कर्णाली प्रदेश सरकारको उपस्थिती देखिदैन । उपस्थिती मात्रै होइन, कर्णाली प्रदेश पर्यटनका हिसाबले उर्बर भूमि भएपनि कुनै पनि उल्लेख्य काम गर्न नसक्दा आलोचित पनि उत्तिकै बन्यो ।
त्यसमा मुख्य दोषी तालुकदार मन्त्रालय सम्हालेका मन्त्री हुन् । कर्णाली प्रदेश सरकारको पाँच वर्षमा तीन जना मन्त्री पर्यटनमन्त्री बने । तर यी तीन मन्त्री कुर्सीमा बस्नुबाहेक कुनै सिन्को नभाचेको प्रष्ट देखिन्छ ।
जसको ज्वलन्त उदाहरण बुलबुले ताल र काँक्रेविहार हो । बुलबुले ताल अहिले पनि भद्रगोल र फोहोर छ । काँक्रेविहार जाने बाटोसमेत पीच गर्न नसक्ने मन्त्री कुर्सीमा विराजमान छन् । कर्णालीको पर्यटन प्रचार प्रसारका लागि न कुनै काम गर्ने, न कुनै संयन्त्र खडा गर्ने र न कुनै निजी क्षेत्रलाई प्रोत्साहित गर्ने काममा यी तीनै जना मन्त्रीको भूमिका शून्य प्राय छ ।
कर्णालीको पर्यटनको प्रचार प्रसारका लागि कुनै पनि कार्यक्रम ल्याउन तीनै जना मन्त्री पूर्ण रुपमा असफल छन् । त्यसमध्ये सबैभन्दा दोषी पहिलो पर्यटनमन्त्री नन्दसिंह बुढा हुन् । डोल्पाका उनले शे–फोक्सुन्डोकै प्रचार प्रसार र पर्यटकीय गन्तव्यको विकासका लागि कुनै काम गर्न सकेनन् ।
साढे दुई वर्ष पर्यटनमन्त्रीको कुर्सीमा बसेका बुढाले थप ६ महिना फ्लोर क्रस गरेर पनि पर्यटनमन्त्री खाए । तर यसबीचमा उनले कुनै पनि काम गर्न सकेनन् । संघीय सरकार र प्रदेश सरकारबीच २०७५ साल बैशाखमा रारामा नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रबाहेक अरु कुनै पनि गतिलो कार्यक्रम कर्णालीका पर्यटनमन्त्रीबाट सम्भव भएन ।
मन्त्रीहरु नै बेखबर भन्दा कर्णालीको पर्यटन मन्त्रालयका ब्युरोक्रेसीले पनि सिन्को भाच्न सकेन । उद्योग, वन तथा वातावरण मन्त्रालय पनि सँगै जोडिएको मन्त्रालयका धेरै सम्भावना र कर्णालीमा पर्यटक भित्र्याएर राजश्व बढाउने काम पर्यटन क्षेत्रबाट हुनुपर्ने भएपनि कुनै नयाँ कार्यक्रम नहुँदा निजी क्षेत्र पनि हतोत्साहित भएका छन् ।
बुढापछि पर्यटमन्त्री भएका कार्चेन लामा गैरसांसद हुन् । उनले झन् सिन्को भाँच्ने सम्भावना रहेन । केवल मन्त्री बन्नैका लागि केन्द्रमा प्रचण्ड, जनार्दन शर्मा र कर्णालीमा महेन्द्र शाहीलाई रिझाएका उनी केवल आफ्नो रहर पूरा गर्नका लागि मन्त्री बनेका हुन् ।
सबैभन्दा लाजमर्दो अवस्थामा कर्णाली प्रदेश सरकारको पर्यटन मन्त्रालयले यो पाँच वर्षमा केन्द्रमा पर्यटन बोर्ड र पर्यटन विभागसँग कुनै पनि समन्वय गर्न सकेन । कर्णाली प्रदेशमै बोर्ड गठन गरेर वा केन्द्रकै बोर्डको कर्णाली कार्यालय खोलेर काम गर्न सकिन्थ्यो ।
त्यस काममा पनि कर्णाली पर्यटनमन्त्रीले सिन्को भाचेनन् । एकपटक कर्णालीखबरकै पहलमा सुर्खेतको गोठीकाँडामा भएको पर्यटन संवाद कार्यक्रममा पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीसामू कर्णालीमा बोर्ड गठन गर्ने विषयमा तत्कालीन मन्त्री कार्चेन लामाले प्रतिबद्धता व्यक्त गरेका थिए । तर त्यो केवल भाषणमै सीमित रह्यो ।
कर्णालीका दर्जन बढी विज्ञ मिलेर पर्यटन गुरुयोजना बनाएर विशेष दस्तावेज बनाएका छन् । त्यसको कुनै पनि अंश कार्यान्वयन गर्ने तदारुकता कर्णाली प्रदेश सरकारले देखाएन । यो अर्को लाजमर्दो विषय हो ।
हुम्लाबाट मन्त्री भएका लामाले कैलाश मानसरोवर दर्शन गराउनका लागि विशेष कार्यक्रम ल्याउन सक्थे । लाप्चा तथा लिमीबाट मानसरोवर हेर्ने पर्यटकको संख्या बढिरहँदा यसका लागि मन्त्री तहबाट कुनै पनि काम हुन सकेन ।
अहिले डोल्पाकै माअोवादी सांसद वीरबहादुर शाही पर्यटनमन्त्री बनेका छन् । तर मन्त्री बनेको दुई महिनामा पनि उनले कुनै काम गर्न सकेका छैनन् । सरकारले चुनाव घोषणा गरेको अवस्थामा कामचलाउ बनिसकेको सरकारमा पर्यटनमन्त्रीले झन् नयाँ काम गर्ने सम्भावना छँदै छैन ।
रारा कार्यक्रममै सरकारले कर्णालीलाई ग्रीन र अर्गानिक कर्णाली बनाउने घोषणा गरेको थियो । तर त्यो घोषणा केवल घोषणामा सीमित भयो । कर्णाली न ग्रीन बनाइयो । न अर्गानिक नै । उल्टो ग्रीन कर्णालीलाई फोहोर बनाएर बिगार्ने काम भइरहेको छ । जसको उदाहरण हो, बुलबुले ताल ।
राजधानी सुर्खेतकै सरकारको अाँगनमा रहेको ताल नै सफा गर्न नसक्ने प्रदेश सरकारका मन्त्रीबाट अरु आशा गर्नू पनि बेकार हुन्छ । त्यसमाथि रारा, फोक्सुन्डो, पचाल झरना, काँक्रेविहार जस्ता ऐतिहासिक र विश्वकै उत्कृष्टमध्येका एक पर्यटकीय क्षेत्रमा सरकारको उपस्थिती नहुनु दुःखद मात्रै होइन, पाँच वर्षको कर्णाली प्रदेश सरकारमा बेकामे मन्त्रीका रुपमा बदनाम पर्यटनमन्त्री हुन् ।
कम्तीमा आगामी दिनमा कर्णालीको पर्यटन मन्त्रालय सम्हाल्ने व्यक्तिले यी कुराको हेक्का राख्न जरुरी छ । कर्णाली आफैँमा स्वर्ग भएपनि पूर्वाधार विकासको काममा सिन्को भाच्न नसक्ने प्रवृत्ति कर्णालीकै मन्त्रीबाट अन्त्य हुनुपर्छ । केवल काठमाडौँलाई दोष दिने र आफूले केही नगर्ने प्रवृत्ति हटाउन सके मात्रै कर्णालीको पर्यटन विकास गरेर प्रदेशकै कायापलट गर्न सम्भव छ ।