नाम : प्रेमदेव गिरी
पेशा : कलाकारिता
कर्णाली व्यक्तित्व नं. : ९६
काठमाडौँ : दुब्लो ज्यान । ख्याटे अनुहार । सेता जुंगा दाह्री । तर सँधै फूर्तिला । मादल बजाउन भनेपछि हुरुक्कै । कर्णाली र काठमाडौँका सडक गल्लीदेखि मेला महोत्सवका मञ्चहरुमा देखिने हुलिया हो, प्रेमदेव गिरी ।
एकदमै सामान्य जीवनयापन गरिरहेका गिरी राष्ट्रिय कलाकार हुन् । त्यो पनि बहुप्रतिभाशाली । उनले गीत मात्रै गाएका छैनन् । दर्जनौँ गीत लेखेका छन् । अभिनय गरेका छन् । मादलदेखि धेरै बाजा बजाएका छन् ।
त्यति मात्रै होइन, उनले बन्धकी चलचित्र नै खेलेका छन् । उनले अभिनय गरेका नाटक त कति छन् कति ? कर्णालीमा नाटकको जग बसाल्ने कलाकार हुन्, प्रेमदेव गिरी । २०१० सालमा सुर्खेतकै हिलेखालीमा जन्मेका गिरी सानैदेखि मादल बजाउँदै वाद्यवादन र कलाकारितामा लागेका हुन् ।
कर्णालीको लोकभाका, झ्याउरे गीत संगीतलाई नेपालभर चिनाउन उनको ठूलो देन छ । उनले लेखेका डेढ सय बढी गीत रेकर्ड भएका छन् । केही चलचित्रका गीत छन् केही एल्बमका । तर त्यो भन्दा बढी उनले सयौँ गीतमा मादल बजाएका छन् ।
२०३० सालदेखि राष्ट्रिय संस्थान नाचघर जमलमा बाद्यवादक भएर जागिर खाएका उनले वर्षौ काठमाडौँमा बिताएका छन् । काठमाडौँमै हुँदा नै उनले सयौँ गीत लेख्न सके । सुर्खेत बुलबुल ताल पनि उनले लेखेको गीत हो ।
जमलमा जागिरे हुँदा नै उनले नारायण गोपालहरुसँग संगत गर्न पाए । उनका गीतमा मादल बजाउन पाए । मादल बजाएर वाद्यवादक बनेका उनी रंगमञ्चमा अभिनय गर्ने कुशल कलाकार हुन् । उनले राष्ट्रिय संस्थान नाचघरदेखि विभिन्न संस्था तथा निकायबाट सम्मान पाएका छन् ।
सुर्खेतमा कलाकारिताको केन्द्रका रुपमा परिचित बागीना समूहको स्थापना र संरक्षणमा पनि गिरीकै मुख्य देन छ । सुर्खेतमा बाजा, गीत र नाच भनेर चिनिएको बागीनाबाटै दर्जनौ राष्ट्रियस्तरका कलाकार उत्पादन भइसकेका छन् ।
काठमाडौँमा दुई दशक बिताएर जन्मथलो फर्किएका गिरी कर्णालीका लिजेन्ड कलाकार हुन् । उनलाई कर्णालीले भन्दा काठमाडौँले बढी चिन्छ । सम्मान गर्छ । सहयोग पनि गरेकै छ । तर उनी कर्णालीलाई माया गर्छन् ।

कर्णालीलाई माया गर्ने भएरै वर्षौदेखि सुर्खेत आफ्नै घरमा बसिरहेका गिरी २०७१ सालमा सुर्खेतमा आएको बाढीका दृश्यमै एक गीतमा अभिनय गरेपछि थप चर्चामा आएका थिए । संगीत स्रोता र अन्जान बाबुले रचना गरेको ‘चरी लैजा समाचार’ गीतमा मादल बजाउँदै अभिनय गरेपछि बहुप्रतिभाशाली कलाकार गिरीको चर्चा देश विदेशमा बढेको थियो ।
कर्णालीको दुःख र वेदना बोल्ने गीत चरी लैजा समाचार उनले यो देशका सरकार र सत्तालाई सुनाउन चाहेको कर्णालीको कथा हो । कर्णालीको सिर्जनाका खानीका रुपमा गिरी कर्णालीबाट प्रतिनिधित्व गर्ने राष्ट्रकै लिजेन्ड कलाकार हुन् ।
त्यो भन्दा बढी उनी कर्णालीको कलाकारिताका प्रेरणाका स्रोत हुन् । सर्जक हुन् । संरक्षक हुन् । युवाहरुको सम्भावनाको सोधक र सहयोगी हुन् । कर्णाली र काठमाडौँमा प्रख्यात कलाकारिताका लिजेन्ड प्रेमदेव गिरीलाई हामीले ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा ९६ औँ स्थानमा समेटेका छौँ ।