काठमाडौँ : कर्णाली प्रदेश सरकारको पाँच वर्षमा धेरै उथुलपुथल देखियो । पाँच वर्षको पहिलो प्रदेश सरकारको कार्यकालमा दुई जना मुख्यमन्त्री बने । झण्डै २२ जनाभन्दा बढी मन्त्री बने ।
कपडा फेरेजसरी पार्टीका नेताहरुले मन्त्रीहरु फेर्दा भने कर्णालीमा सरकार होइन, मण्डलेहरुको भारदारी सभा चलाएको महसुस धेरैलाई भयो । सत्ताधारी नेताहरुको अस्थिर राजनीति, गुटगत पार्टीगत राजनीति र सत्ता स्वार्थले कर्णालीमा मन्त्रीहरु फेरिरहँदा केही क्षमता देखिएका मन्त्रीहरु भने मारमा परे ।
कर्णालीमा पाँच वर्षमा बनेका २२ मन्त्रीमध्ये केही गरौँ भनेर लागेका तर आफ्नै पार्टीको गुटमा पिल्सिएका ५ मन्त्रीको सरल समीक्षा गरिरहेका छौँ ।
४. विमला केसी, कृषिमन्त्री
कर्णालीमा छोटो समय मन्त्री भएर चर्चा कमाएकी मन्त्री हुन्, विमला केसी । जो कर्णाली प्रदेशको पहिलो सरकारमा पहिलो कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्री बनेकी थिइन् ।
पश्चिम रुकुम घर भएकी मन्त्री केसी पहिलो कर्णाली प्रदेश सरकारको प्रवक्तासमेत बनिन् । सरल स्वभाव, सहज व्यवहार र सबैसँग सन्तुलित सम्बन्ध बनाउन सक्ने राजनीतिक क्षमताकी मन्त्री केसी सरकारमा रहँदा आफूलाई धेरै हिसाबले अब्बल बनाउन सफल भइन् ।
साढे दुई वर्षको मन्त्रीको कार्यकालमा उनले उल्लेख्य ठूलो काम गरेको देखिएन । तर सरकारमा हुँदा कर्णालीका जनता, सेवाग्राही, कार्यकर्ता र सरकारको प्रवक्ताका हिसाबले उनले राजनीतिबारेको वास्तविकता बुझेर त्यसलाई व्यवहारमा उतार्ने अवसर भने पाइन् । साथै उनले पत्रकारसँग विशेष रुपमा विश्वासिलो सञ्चार गराउन सफल भइन् ।
मओवादीमा जनार्दन शर्माकै गुटमा रहेकी उनी जनार्दनकै कारण मन्त्री बनेकी थिइन् । त्यतिबेलाका मन्त्रीमा सबैभन्दा शक्तिशाली मन्त्री मानिएकी उनले मुख्यमन्त्री महेन्द्र शाहीका प्राय सबै आन्तरिक व्यवस्थापनको काम गरेकी थिइन् ।
केन्द्रमा जनार्दन शर्मा र कर्णालीमा मुख्यमन्त्री महेन्द्र शाहीसँग पनि सिधा कुरा गर्न सक्ने हैसियत बनाएकी उनले कर्णाली प्रदेश सरकारको प्रवक्ता बन्दा पत्रकारसँग सबैभन्दा राम्रोसँग आफ्नो व्यक्तित्व परिचित गराउने मौका पाइन् ।
जसका कारण उनले दिन मिल्ने सरकारका सूचना पत्रकारलाई दिएर सरकारका काम र मन्त्रीका रुपमा आफूले गरेका काम पत्रकारबाट प्रचार गराउन सफल भइन् । खासगरि कृषि र सहकारीका विषयमा उनी आफूले गरेका भाषण पनि पत्रकारमार्फत समाचारमा पार्न सफल भएकी थिइन् ।
त्यसका साथै नेताहरुसँग सहजै राजनीतिक सम्बन्ध जोड्ने, छोटो र मिठो शैलीमा प्रश्नको जवाफ दिने अनि कर्णालीदेखि काठमाडौँसम्मको राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्न सक्ने क्षमताका कारण पनि उनले राम्रै रुपमा आफूलाई ‘एक्सपोज’ गर्न सफल भइन् । साढे दुई वर्ष पहिलोपटक मन्त्री भएकी उनी सरकारको प्रवक्ता हुँदै माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष बन्न समेत सफल भइन् ।
यसका पछाडि जनार्दन शर्मा लगायत केन्द्रीय नेताहरुको आशिरवाद रहेपनि उनले आफ्नो नेतृत्व विकास भने निकै रफ्तारमा गरेकी थिइन् ।
यदि उनी पाँच वर्ष कर्णाली प्रदेश सरकारको कृषिमन्त्री वा प्रवक्ता भएको भए पनि कर्णालीका जनता तथा पत्रकारले सरकारबाट पाउनुपर्ने समयमै सही सूचना मात्रै भएपनि पाउने थिए । तर अस्थिर राजनीतिका कारण त्यो सम्भव भएन ।
कर्णालीमा पछिल्लो पाँच वर्षको प्रदेश सरकारको राजनीतिमा स्थायित्वलाई कुल्चिने काम भयो । केवल सबैलाई भागबण्डामा मन्त्री मात्रै बनाउने होडबाजी चल्दा जनताले चाहेको स्थायित्व, दिगो कार्यक्रम र सुधारका प्रयासहरु ओझेलमा परिरहे ।
त्यसमाथि महिलाहरुलाई अवसर दिनुपर्नेमा उनीहरुले पाएको अवसर पनि खोस्ने काम मात्रै भयो । साढे दुई वर्ष मन्त्री बनेकी विमला केसीले पाँच वर्ष सरकारमा मन्त्री बन्ने हैसियत, आधार, प्रभाव र क्षमता बनाएपनि माओवादीभित्रैको गुटको लडाईका कारण उनी मन्त्री पदबाट बाहिरिएकी थिइन् ।
नेकपा फुटेपछि सरकार अल्पमतमा पर्दा केसी कृषिमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदै पार्टीको राजनीतिमा हावी भएकी थिइन् । जुन उनलाई फलदायी पनि बन्यो ।
हाल माओवादीकी केन्द्रीय सदस्यसमेत रहेकी उनी कर्णालीमा माओवादी केन्द्रकी शक्तिशाली नेता बनेकी थिइन् । जो पार्टीमा मात्रै होइन, प्रदेश सरकारमा पनि मन्त्री बनिराखेको भए कर्णालीकै जनतालाई राहत हुने थियो ।
[पार्टीकै गुटले पिल्सिएका कर्णाली सरकारका ५ मन्त्रीमध्ये अर्का मन्त्रीको समीक्षा आगामी श्रृङ्खलामा समेट्नेछौँ : सम्पादक]