नाम : श्याम बिसी
पेशा : पत्रकारिता तथा सामाजिक युवा अभियान्ता
कर्णाली व्यक्तित्व नं. : ९५
काठमाडौँ : नेपालमा अहिले पनि कर्णाली भन्नेवित्तिकै एक दुःखले घेरिएको पहाडको कथन हाल्ने सोच छ । जहाँ गरिबी, अभाव, समस्या र पछौटेपनको रजाई चल्छ । राजनीतिक दलका नेताहरुको आड र योजनामा कर्णालीलाई भजाउने र विदेशीबाट डलर झार्ने प्रवृत्ति कर्णालीमा अहिले पनि घटेको छैन ।
तर यी यावत समस्याका बीच पनि कर्णालीको वास्तविक तथ्य उजागर गर्दै फेसबुकबाट कर्णालीको सुन्दरता झल्काउने युवाहरुको अभियानका नेतृत्वकर्ता हुन्, श्याम बिसी । दैलेख घर भएका श्याम रेडियोकर्मका क्रममा मुगुसम्म पुगेका छन् ।
एक समय सक्रिय रेडियो पत्रकारिता गरिरहेका उनले दैलेखबाट मुगु पुगेपछि नै कर्णालीको सुन्दरता विश्वकै एक उत्कृष्ट नमूना भएको महसुस गरेका थिए । तर त्यसको सही पहिचान र प्रचार हुन सकेको थिएन । मुगु भन्नेवित्तिकै कर्णालीको सबैभन्दा विकट जिल्लाका रुपमा बुझिन्छ । रारातालको महिमा गाउनेले मुगुको सुन्दरताको बखान गर्न कन्जुस्याई गर्छन् ।
हुम्ला भन्नेवित्तिकै बाटो नपुगेको जिल्लाको रुपमा चिन्छन् । हुम्लाको लिमी भ्याली र लाप्चाको सुन्दरतासँगै त्यहाँबाट कैलाश मानसरोवर दर्शन गर्ने पवित्र भूमिका रुपमा प्रचार गर्न बिर्सन्छन् । डोल्पा कर्णालीको अर्को दुखान्त बोकेको जिल्ला भन्ठान्ने प्रवृत्ति छ । शे–फोक्सुन्डोको सुन्दरताले मोहित हुनेहरु बाँकी डोल्पा बिर्सिन्छन् ।
त्यस्तै जुम्ला, कालिकोट, दैलेख, सल्यान, जाजरकोट र रुकुमको कथा व्यथा पनि यो भन्दा फरक नदेख्ने काठमाडौँ र कर्णालीको पुरानो जमात छ । तर जब श्यामले सामाजिक सञ्जालबाटै कर्णालीको तस्बिर बदल्ने अभियान घोषणा गरे, तब नयाँ, आधुनिक र संसारको एक अब्बल पर्यटकीय सम्भावना बोकेको कर्णालीको तस्बिर बदल्ने ‘कर्णाली ग्यालरी’को सुरुवात भयो ।

कर्णालीका जनताको बलिदानले कर्णाली प्रदेश स्थापना भएदेखि नै श्याम फेसबुकमा ‘कर्णाली ग्यालरी’ पेज र ग्रुप खोलेर ‘लेट्स एक्सप्लोर कर्णाली’ अभियानमा लागेका थिए । मुगु बसेकै बेला उनले सुरु गरेको अभियानमा आसपासका अरु जिल्लाका युवाहरु पनि जोडिए ।
जसको हातमा स्मार्ट फोन थियो । जसको हातमा आफ्नै हैसियतको क्यामेरा हुन्थ्यो । उसैले कर्णालीका विभिन्न जिल्लाको भौगोलिक अवस्थालाई खिचेर फेसबुक पेज तथा ग्रुपमा पोस्ट गरिहाल्थे । आवश्यक र राम्रा तथा कर्णालीको पर्यटकीय सम्भावना झल्किने फोटोलाई ग्रुप तथा पेजमा ‘एप्रुभल’ गर्ने काम श्याम गर्थे ।
जसका लागि मोबाइल वा क्यामेरा काफी थियो । कुनै ठूलो प्रविधि वा लगानीको आवश्यकता थिएन । कर्णाली ग्यालरीकै कारणले आज मुगुमा राराताल बाहेक चुचेमारा, छायानाथ रारा मन्दिर लगायत अरु नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार भइरहेको छ ।
दैलेखमा ज्वाला र पञ्चदेवलबाहेक अरु पनि थुप्रै राम्रा ठाउँ छन् भनेर महाबु, दैलेख बजार, दुल्लु, राकम कर्णालीदेखि कर्णालीका अनेकौ ठाउँको एक्सप्लोर भयो । जाजरकोटमा खलंगा बजारदेखि जाजरकोट दरबारसम्मको पहिचान सामाजिक सञ्जालबाट विश्व बजारमा पुग्यो ।
यस्तै जुम्लामा दुःख बाहेक हरियाली पाटन, खलंगा बजार, जुम्लाका हिमा र तिला नदीमाथि बनाइएका सुन्दर काठे पुलको तस्बिर पूरा नेपालभर चिनाउन सफल भयो । यस्तै विकट गाउँमा पनि सुन्दर र हरियाली छ भन्ने तथ्यलाई कर्णाली ग्यालरीले चर्चामा ल्याएको हो ।
जसको सुरुवात दैलेखका श्याम बिसीले गरेका थिए । मुगुमा छँदा काठमाडौँको उज्यालो रेडियो नेटवर्कसँग जोडिएर पनि निरन्तर रेडियो कर्म गरेका श्याम अहिले दैलेखमै बसेर नयाँ नयाँ युवाहरुको रचनात्मक काममा सक्रिय भएका छन् ।
हिजोआज उनले ‘क’बाट कर्णाली भन्दै नयाँ अभियान चलाएका छन् । जसले कर्णालीलाई अझ धेरै एक्सप्लोर गर्न सहज होस् भन्ने चाहेका छन् । यस्तै युवाहरुको सिक्ने अभियान अन्तर्गत ‘ठुट्टे प्रोजेक्ट’ पनि उनले सञ्चालन गरेका छन् ।
हुम्ला, मुगु, डोल्पा, रुकुम, जाजरकोट, दैलेख, सुर्खेत, जुम्ला, कालिकोट लगायतका जिल्लाबाट राम्रो फोटो खिच्ने कर्णाली चिनाउने रुचि राख्ने युवाहरुलाई उनले कर्णाली ग्यालरीमा जोडेका छन् । उनीहरुलाई कर्णाली एक्सप्लोर गर्ने अभियानमा सामेल गराएका छन् ।
यो हेर्दा सामान्य लागेपनि एक युवाले कर्णालीको पूरानो तस्बिर बदल्ने काममा गरेको ‘पायोनियर’ काम हो । होइन भने गुगलमा अझै पनि कर्णाली सर्च गर्नेवित्तिकै अभाव, गरिबी र पछौटेपनले भरिएका तस्बिर मात्रै भयावह देखिन्छन् ।
जुन विस्तारै श्याम बिसी, वीरेन्द्र रोकाया, पिन्स चन्द, पूर्णसिंह बम लगायत युवाहरुको प्रयासले कर्णालीका नयाँ, सुन्दर, उत्कृष्ट र भौगोलिक परिवेशले भरिएका तस्बिरले ‘रिप्लेस’ गरिरहेका छन् ।
कर्णाली ग्यालरीको अभियानले कर्णालीका विभिन्न व्यवसायिक फोटोपत्रकार, युवा अभियान्ता, सामाजिक अभियान्ता र विशेष कामले कर्णालीका विभिन्न जिल्ला पुगेकाहरुले पनि कर्णालीको सुन्दरता भन्दै राम्रा राम्रा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन् । जसको राम्रो प्रचार प्रसार भइरहेको छ । अनि कर्णालीमा आन्तरिक पर्यटकको संख्या वृद्धि भइरहेको छ ।
एक सचेत कर्णालीका युवाको अभियानले आज कर्णाली ग्यालरीमा १० हजार बढी युवा तथा कर्णाली रुचाउने मानिसहरु जोडिएका छन् । यसले अझ कर्णालीको ‘एक्सप्लोर’ गर्नेमा बल पुग्नेछ । फेसबुकबाटै कर्णालीको तस्बिर बदल्ने अभियानको सफल नेतृत्वकर्ता, रचनात्मक युवा अभियान्ता श्याम बिसीलाई हामीले ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा ९५ औँ स्थानमा समेटेका छौँ ।