काठमाडौँ : आज नेपाली राजनीति गगन थापाको वरिपरी घुम्न थालेको छ । कांग्रेस भ्रातृ संगठन नेविसंघबाट उदाएका गगन थापा ढुंगा हान्ने राजनीतिदेखि संसदमा युवा र देशको विद्रोह बोल्ने सांसद बन्दै कांग्रेस महामन्त्री बनेर उभिएका छन् ।
मनमा लागेको कुरा स्पष्टसँग भन्न सक्ने र युवाहरुको चाहना तथा देशको आवश्यकतालाई बुझेर चर्को स्वरमा मुद्दा बनाउन सक्ने नेताका रुपमा पनि गगन थापा परिचित छन् ।
जसको स्वर मात्रै चर्को छैन, सोचको दायरा, विचारको भण्डार र जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्ने र शक्तिशाली नेता बन्ने क्षमता पनि ठूलो छ ।
नेपाली राजनीति पैँसा, पावर र प्रवृत्तिभित्र चाकडीमा डुबिरहेका बेला गगन थापा आफ्नै बलबुतामा स्थापित भएका नेता मानिन्छन् । जो आफ्नो धारणा स्पष्टसँग सडक, सदन र मिडियामै राखेर ठूलो नेता बने ।
राष्ट्रियस्तरमा सांसद, कांग्रेसको शक्तिशाली निर्वाचित महामन्त्री बनेका गगन थापा अन्तराष्ट्रिय शक्ति र सम्भावनाको पनि एक उत्कृष्ट नमूना बनेका हुन् । जो आवश्यक परेका बेला, गुण र दोषका आधारमा सत्तामा रहेका मन्त्री प्रधानमन्त्रीदेखि आफ््नै पार्टीका नेताहरुको समेत आलोचना गर्न पछाडि पर्दैनन् । जसकारण उनी झन् चर्चा र सफलतामा पुगे । युवाहरुको रोजाईमा परे ।
राष्ट्रिय राजनीतिमा गगन थापाजस्तै कर्णाली प्रदेशमा गर्जन छाड्ने माओवादीका सांसद धर्मराज रेग्मी र ठम्मर बिष्ट थिए ।
दैलेखका रेग्मी गगन थापाका प्रतिष्पर्धीसमेत हुन् । नेपालबाट प्रतिनिधित्व गर्ने युवा र ग्लोबल लिडरमा पनि रेग्मीले गगन थापासँग प्रतिष्पर्धा गरेका थिए । तर उनी पराजित भएका थिए ।
काठमाडौँमा जन्मेका, राष्ट्रिय राजनीतिमा उदाएका गगन थापासँग दैलेखमा जन्मिएर पनि प्रतिष्पर्धा गर्न सक्ने क्षमता बनाएका रेग्मी दैलेखबाट माओवादी प्रदेशसभा सांसद थिए । तर एमाले र माओवादी मिलेर बनेको नेकपा फुटेपछि भने वैचारिक रुपमा एमालेसँगै बसेपछि रेग्मीलाई माओवादीले कारबाही गरेर सांसद पद गुमेको थियो ।
नेकपा हुँदा एमाले नेता यामलाँल कँडेलले मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि रेग्मी आफ्नै पार्टीमा तारो बनेका थिए । त्यसपछि नेकपा पार्टी फुट्दा माओवादी छुट्टै अस्तित्वमा आउँदा पार्टीमा नफर्केपछि प्रचण्डकै निर्देशनमा रेग्मीलाई कारबाही गरिएको थियो ।
त्यसरी कारबाही गरेर आफ्नो सांसद पद गुमेपछि आक्रोशित भएका रेग्मीले सुर्खेतमा पत्रकार सम्मेलन गरेर प्रचण्डले आफ्नै पार्टीको सांसदको पद खाएको टिप्पणी गरेका थिए । कर्णालीको सत्ता स्वार्थमा रुमल्लिदा ‘कुहिरोको काग’ बनेका रेग्मी बौद्धिक र खरो वक्ता समेत हुन् ।
कानून विषय पढेका उनीसँग अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका बारेमा पनि राम्रो ज्ञान छ । तर उनी कर्णालीको सत्ता स्वार्थको खेलको शिकार बने । जसले गर्दा कर्णाली प्रदेश सरकारमा मन्त्री बन्नुपर्ने कर्णालीका गगन थापाजस्ता रेग्मी माओवादी छाडेर एमालेको नेतामा सीमित भए ।
यस्तै कर्णालीको सत्ता स्वार्थमा कुहिरोको काग बनेका अर्का माओवादी नेता हुन्, ठम्मर बिष्ट । माओवादीमा भूमिगत राजनीतिदेखि नै सक्रिय रहेका ठम्मर बिष्ट पार्टीभित्र असाध्यै विद्रोही नेताका रुपमा परिचित थिए । तर माओवादी पार्टीका नेताहरु भने चर्को बोल्ने विद्रोही आवाजका ठम्मरलाई अवसरवादी र अस्थिर नेताका रुपमा चित्रित गर्छन् ।
ठम्मर बिष्ट माओवादीको आन्तरिक संघर्ष चर्केका बेला प्रचण्डसँग विद्रोह गरेका मोहन वैद्य किरणसँगै बाहिरिएका थिए । संगीन नामले चिनिएका बिष्टले वैद्यको पार्र्टीबाट पनि चर्को विद्रोह गरे ।
उनी केही समयमै माओवादी केन्द्रले २०७० सालको चुनावमा टिकट दिने भएपछि प्रचण्डकै नेतृत्वमा पुरानै पार्टीमा फर्केका थिए । २०७० सालको चुनाव उनले हारे । त्यतिबेला माओवादीले सुर्खेतका तीनै क्षेत्र हारेको थियो । तीन वटै क्षेत्रमा कांग्रेस विजयी भएको थियो ।
२०७४ सालको प्रदेशसभा चुनावमा भने ठम्मर बिष्ट विजयी भए । माओवादीभित्र आफ्ना र जनताको दृष्टिकोणबाट स्पष्ट कुरा राख्ने नेतामध्ये ठम्मर बिष्ट एक हुन् । तर त्यसरी स्पष्ट बोल्दा पार्टी नेतृत्वले आन्तरिक रुपमा कारबाही गरे बराबर व्यवहार गर्ने हुँदा उनी नेतृत्वबाट असाध्यै असन्तुष्ट थिए ।
त्यही असन्तुष्टि उनले नेकपामा हुँदा आफ्नै पार्टीका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध यामलालले दर्ता गराएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पोखे । तत्कालीन मुख्यमन्त्री शाहीले काम गर्न नसकेको भन्दै यामलाललाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा उनी उभिएका थिए ।
माओवादी पार्टीभित्रै कर्नरमा पर्दै गएपछि ठम्मर अविश्वास प्रस्ताव असफल भएपनि यामलालको पछि लाग्न सफल भएका थिए । तर पछि शक्ति बस्नेत कर्णालीको नयाँ इन्चार्ज बनेपछि ठम्मरलाई फर्काएर खुमलटारमा प्रचण्डबाटै मन्त्री बनाउने आश्वासन दिलाएर माओवादीमा फर्काएका थिए ।
माओवादीमा फर्किएपछि प्रमुख सचेतक समेत भएका ठम्मर मन्त्री बन्ने पर्खाईमा थिए । तर कर्णालीमा ठम्मरको साटो गैरसांसद र मूर्ति चोरको आरोप लागेका हुम्लाका कार्चेन लामालाई प्रचण्डले ६ महिने मन्त्री बनाए । खुमलटारमा आफैँले ठम्मरलाई दिएको आश्वासन प्रचण्डले बिर्सिए ।
पटक पटक माओवादी नेतृत्वबाट धोका खाएका ठम्मरले पार्टीबाट अपमानित महसुस गर्दै सांसद पद र माओवादी पार्टी सदस्यबाट राजीनामा दिएर एमाले प्रवेश गरे । एमाले सत्ता पक्षबाट पूर्ण रुपमा सडकमा प्रतिपक्ष बनेसँगै माओवादीका सांसद रहेका धर्मराज रेग्मी र ठम्मर बिष्ट पनि किनारा लागेर एमालेकै साथमा पुगेका हुन् ।
कर्णालीमा जनताको आवाज बोल्ने, स्पष्ट वक्ता, सँधै विद्रोहको भाषा बोलेर आम नागरिकको मन जित्ने दुवै माओवादी सांसद पद नै गुमाएर एमालेको नेता बन्न पुगे । जो कर्णाली प्रदेश सरकारमा माओवादीका सबै सांसद मन्त्री बन्दा प्रभावशाली मन्त्री बन्नुपर्ने बेला पार्टी नै फेरेर एमाले बने ।
माओवादीमै रहँदा अवसर पाउने बेला दुवै सांसदले पार्टी छाड्दा अवसर मात्रै गुमाएनन्, पछिल्लो समय कर्णालीमा ‘खाओवादी’मा परिणत भएको माओवादी पार्टीको गिर्दो शाखबाट आफ्नो नाम हटाएर एमालेमा राखे । यदि उनीहरु माओवादीमै रहेको भए कर्णालीमा सांसद र मन्त्री मात्रै बन्ने थिएनन, कर्णालीका जनताको आवाज स्पष्ट रुपमा संसद् र सरकारमा राख्ने ‘कर्णालीका गगन थापा’ पनि बन्थे ।
तर उनीहरु कर्णाली प्रदेश सरकारको सत्ता लुछाचुडीमा ‘कुहिरोको काग’ जस्तै बनेर सांसदबाट औषत नेतामा सीमित रहे । अब एमालेले उनीहरुको क्षमताअनुसार कत्तिको अवसर र जिम्मेवारी दिन्छ ? त्यो हेर्न बाँकी छ ।