म्याग्दी : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा राजनीतिक सरगर्मी बढेको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा र मङ्गोल नेशनल अर्गनाइजेशनका नेता भेला, बैठक, प्रशिक्षण र भेटघाटमा छन् । एमाले आफ्नो विरासत जोगाउने कसरतमा छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । एमालेले यसअघिको चुनावमा माओवादीसँगको तालमेलबाट प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य तथा पछिल्लो स्थानीय तह निर्वाचनमा एक्लै चारवटा स्थानीय तहको नेतृत्व जितेको थियो ।
एमालेले प्रतिनिधिसभा सदस्यका लागि पूर्वजिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नाम एकल सिफारिस गरेर तयारी थालेको छ । “जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, उनी भन्छन्, “२०७४ मा दुई वटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितेको आधार हो ।”
जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घ संस्थाको पनि नेतृत्व गरेका थिए ।
२०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र ७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, १८ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छ वडा जितेका थिए । रासस