नाम : बलिराज शाही
पेशा : स्वास्थ्यकर्मी
पद : स्वास्थ्य संयोजक, खार्पुनाथ गाउँपालिका हुम्ला
कर्णाली व्यक्तित्व नं. : ९४
काठमाडौँ : सामान्यज्ञानमा अहिले पनि सोधिने प्रश्न हो, राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला कुन हो ? उत्तर आउँछ, हुम्ला । तर यो तथ्य अब गलत भइसकेको छ । सदरमुकाम पुग्न नसकेपनि हुम्ला कर्णाली राजमार्गको सडक सञ्जालमा जोडिएको छ ।
तर सदरमुकाम सिमकोट पुग्न भने अहिले पनि नेपालगञ्ज, सुर्खेत वा काठमाडौँबाटै हवाई मार्गमार्फत हवाईजहाज चढ्नुपर्छ । जहाँ पुग्न नै यति ठूलो कष्ट झेल्नुपर्छ भने त्यहाँँको शिक्षा, स्वास्थ्य लगायत सार्वजनिक सेवाको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
अनि बेला बेला उपचार नपाएर, स्वास्थ्य संस्था जान नसकेर, उद्धार हुन नसकेर बिरामीले हुम्लामै ज्यान गुमाउनु परेको समाचार सुन्नु पर्ने बाध्यता छ । यस्तै अनेकौ दुःख र कष्ट भएपनि हुम्लाको विकटमध्येको एक खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा संयोजक बलिराज शाही भने उदाहरणीय व्यक्तित्व हुन् ।
उनले जिम्मेवारी सम्हालेको दिनदेखि गाउँपालिकाको स्वास्थ्य शाखाको सेवामा भने दियोज्यान दिएर सुधारमा लागिरहेका छन् । जसका लागि उनी दिनमा १८ घण्टासम्म खटेर स्वास्थ्य सेवाको काम गरिरहेका छन् ।
केही समयअघि राजधानी काठमाडौँ उपत्यकाकै जिल्ला ललितपुरको महालक्ष्मी नगरपालिका १० को लाकुुरीे स्वास्थ्य चौकीमा काम गरेका शाही अहिले हुम्लाको खार्पुनाथ गाउँपालिकामा सरुवा भएर पुगेका हुन् ।
उनी गाउँपालिकामा आएपछि शाखाले नियमित रुपमा गर्नुपर्ने काम चलेकै छन्, प्रभावकारी स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको छ । तीन वर्षको अवधिमा स्वास्थ्य संयोजक शाहीले गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको नियमित मासिक बैठक, गर्भवती समुह संचालन, घरदैलो स्वास्थ्य सेवा लगायतका काम गरेका छन् ।
विकट जिल्लामा इमान्दारपूर्वक काम गर्ने कर्मचारी निकै कम छन् । त्यस्तोमा बलिराज एक उदाहरण हुन् । जो जस्तोसूकै कठिनाई झेलेपनि नागरिकको सेवामा खटिरहेका छन् । त्यसका लागि उनले स्वास्थ्य बिमा कार्यक्रम, दीर्घरोगीहरुका लागि औषधि, मातृ तथा नवशिशुु स्याहार किटको ब्यवस्था लगायतको काम पनि गरेका छन् ।
यस्तै बालबालिकाहरुको पोषणको अवस्थाको लेखा जोखा, शनिबार स्वास्थ्य संस्थाबाट सेवा प्रवाह, लगायतका काम पनि उनले गाउँपालिकामा ल्याएका छन् । यस्तै मोबाइल स्वास्थ्य कार्यक्रम, पुर्ण खोप सुनिश्चित गाउँपालिका अभियान पनि उनले चलाएका छन् ।
यस्तै हिमाली जिल्लाका माथिल्लो भेगमा बस्ने गोठालो तथा किसानका लागि खर्कमै पुगेर पनि उनले स्वास्थ्य सेवा प्रदान गरेका छन् । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सुचकहरुको प्रगति राम्रो हुँदै गएको छ ।
बलिराजको यही कामबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट भएको मुल्याङ्कनमा दुुई वर्ष लगातार खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य सेवा उत्कृष्ट ठहरिएर पुरस्कृत समेत भइसकेको छ । यसका हकदार स्वयंम बलिराज नै हुन् ।
हेल्थ एसिसटेण्ट (एचए)बाट सरकारी सेवामा प्रवेश गरेका बलिराज एक तह बढुवा भएर जनस्वास्थ्य अधिकृत समेत भइसकेका छन् । सीमित बजेट, थोरै सेवा सुविधा र अनेकौ कठिनाई झेलेपनि बलिराज जस्ता स्वास्थ्यकर्मीको बलमा हुम्ला खार्पुनाथका नागरिकले सहज रुपमा स्वास्थ्य पाइरहेका छन् ।
हुम्लाजस्तो दुर्गम जिल्लामा झन् धेरै कठिनाई झेलेर नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिरहेका बलिराजलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिको ९४ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]