नाम : निरक केसी
पेशा : व्यापार तथा व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ९३
काठमाडौँ : सुर्खेतको धुलाम्मे एयरपोर्टमा पहिलोपटक सानो जहाज अवतरण गराउने व्यक्ति हुन्, आङछिरिङ शेर्पा । सत्य र तथ्य अरु भएपनि सुर्खेतका भेट्रान पर्यटन व्यवसायी निरक केसीको सम्झनामा चाँही यति एयरलाइन्सका मालिक आङछिरिङले नै सुर्खेतको धुलाम्मे एयरपोर्टमा विमान ल्याण्ड गराएर कर्णालीमा खाद्यान्न ढुवानी गर्ने गरेका थिए ।
केही वर्ष पहिले ताप्लेजुङको पाथीभरामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उनै आङछिरिङसहित ७ जनाको मृत्यु भएको थियो । अकल्पनीय दुर्घटनामा आङ्छिरिङको मृत्यु भएपनि उनैले कर्णालीका भेट्रान पर्यटन व्यवसायी केसीसँग राम्रो सम्बन्ध बनाउँदै नयाँ नयाँ होटल बनाउन सुझाव दिएका थिए ।
आङछिरिङ नेपालको निजी क्षेत्र र पर्यटन व्यवसायिक क्षेत्रमा शक्तिशाली व्यक्ति थिए । यति एयरलाइन्स सञ्चालन गरेर उनको नाम जति चर्चामा थियो, त्यति धेरै विवादमा पनि मुछिन्थ्यो । तिनै आङछिरिङले नेपालगञ्ज, सुर्खेत हुँदै रारा पुगेका बेला कर्णालीमा सुविधासम्पन्न होटल खोल्नुपर्ने सुझाव व्यवसायी केसीलाई दिएका थिए ।
आङछिरिङबाट प्रभावित केसीले सुर्खेतमा पहिलोपटक शनि रिसोर्ट सञ्चालनमा ल्याए । यो सत्तरीको दशकको सुरुवातको कुरा हो । जतिबेला सुर्खेतमा सुविधासम्पन्न होटल तथा रिसोर्ट थिएनन् । सोहीकारण ठूला व्यक्ति तथा पर्यटक नेपालगञ्जबाट सुर्खेत आउन र बस्न मान्दैन थिए ।
केसीले शनि रिसोर्ट सञ्चालनमा ल्याएपछि कर्णालीको केन्द्र तथा अहिलेको राजधानी सुर्खेतमा भीआइपी पाहुना र पर्यटकको बासस्थान बढ्न थाल्यो । त्यसअघि केसीले अरु व्यापार व्यवसाय पनि गरेका थिए । तर हस्पिटालिटी क्षेत्रमा उनको त्यो कदम पहिलो थियो ।
केसीले सञ्चालन गरेको शनि रिसोर्ट अहिले सिद्धार्थमा परिणत छ । सिद्धार्थ ग्रुपसँग सहकार्य गरेर कर्णालीको हस्पिटालिटी क्षेत्रमा ‘चेन’ बनाउन केसीको भूमिका छ । केसीले आङछिरिङबाहेक काठमाडौँका ठूला तथा घरानिया व्यापारीसँग राम्रो सम्बन्ध बनाएका छन् ।
काठमाडौँमा निजी क्षेत्रको नेतृत्व गर्ने व्यावसायिक संघ संस्थाका नेताहरु पनि कर्णालीको कुरा गर्दा केसीको नाम लिन्छन् । काठमाडौँ र कर्णालीको सम्बन्धमा आफ्नो फराकिलो परिचय बनाएका केसी अहिले कर्णालीका विभिन्न ठाउँमा नयाँ नयाँ सम्भावनाको खोजी गर्दै लगानी भित्र्याउन प्रयास गरिरहेका भेटिन्छन् ।
विगतमा धेरैले काठमाडौँबाट व्यापार गर्ने भएपनि कर्णालीलाई काठमाडौँसँग जोडेर पर्यटन क्षेत्रको विकासका लागि केसीले लामो समयदेखि लबिङ गर्दै आएका छन् । यसक्रममा उनी सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षसम्म भए ।
गएको चुनावमा उनी उपाध्यक्षमा पराजित भएका थिए । सम्भवतः कर्णालीबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्ष उम्मेद्वार तथा निर्विरोध कोषाध्यक्ष हुने केसी एक्ला व्यक्तित्व हुन् ।
कर्णालीको निजी क्षेत्रका व्यवसायीको हक हित, संरक्षण र सरकारसँग निरन्तर लडाई तथा आन्दोलन गर्न केसीले अगुवाईको भूमिका खेलेका छन् । कर्णालीको निजी क्षेत्रको नेतृत्वको कुरा गर्दा केसी अग्रस्थानमा आउने गर्छन् ।
आज पनि उनी कर्णालीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन लागि परेका छन् । तर सरकारले वातावरण बनाउन नसकेका कारण लगानी भित्रिन नसकेको उनको गुनासो छ । कर्णालीका प्राय सार्वजनिक मञ्च तथा फोरमहरुमा केसी निजी क्षेत्रको नेतृत्व गर्दै धारणा सार्वजनिक गर्दै आएका छन् ।
कर्णालीको निजी क्षेत्रका अगुवा तथा कुशल नेतृत्वकर्ता निरक केसीलाई हामीले ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ९३ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]