काठमाडौँ ; हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो ।
देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो ।
घटस्थापना सुरु भएसँगै आजदेखि घर जानेमा अधिकांश बालबालिका, विद्यार्थी र बालबालिकाको आमाबाबु रहेका छन् । दसैँ सुरु भएसँगै बालबच्चाको बिदा सुरु भएकाले घर जान हिँडेको अर्घाखाँचीकी देविका पौडेल बताउँछन् । रोल्पा जानका लागि हिँडेका पवन ओली कक्षा १२ मा पढ्नुहुन्छ । कलेजले बिदा दिएकाले आफू बडादसैँ मनाउन घर जान लागेको उनले सुनाए । दसैँ सुरु भएसँगै आजदेखि लामो दूरीका सवारीसाधन भरिन थालेका छन् ।
सरकारले लामो तथा मध्यम दुरीका यात्रुलाई दसैँमा सहज घर जानका लागि गत असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुला गरेको थियो । छोटो दुरीका सवारी साधनका लागि पनि टिकट बुकिङ खुला भइसकेको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल लामो तथा मध्यम दूरीमा जाने यात्रुका लागि असोज १ देखि खुला गरिएको टिकट बुकिङमा हालसम्म ७० हजार यात्रुले अग्रीम टिकट लिएको बताउँछन् ।
छोटो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङ खुला भएको छ । काठमाडौँदेखि पोखरा, बाग्लुङ, पर्वत, गोरखा, लमजुङ, रसुवा, धादिङ, नुवाकोटलगायतमा जाने यात्रुका लागि लक्षित गरी अग्रीम टिकट बुकिङ खुला गरिएको हो । रासस