नाम : कान्तिका सेजुवाल
पेशा : राजनीति
पद : पहिलो मेयर, चन्दननाथ नगरपालिका, जुम्ला
कर्णाली व्यक्तित्व नं. : ९२
काठमाडौँ : कान्तिका सेजुवाल कर्णाली प्रदेशकै पहिलो महिला मेयर हुन् । २०७३ सालमा भएको स्थानीय तहको चुनावमा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित सेजुवाल निर्वाचन मत परिणाम सार्वजनिक हुँदा पहिलो महिला मेयर बनेकी थिइन् ।
नेपाली कांग्रेसबाट कर्णाली प्रदेशकै पहिलो महिला मेयर बनेकी सेजुवाल पेशाले सुरुमा शिक्षिका हुन् । जुम्लाको सामुदायिक स्कुलमा पढाउने सेजुवाल विस्तारै साठीको दशकपछि राजनीतिमा सक्रिय भएकी हुन् ।
विद्यार्थी राजनीति, समाजसेवा र नेताहरुसँगको राम्रो सम्बन्धका कारण उनले केन्द्रीय समितिबाटै स्थानीय तहको चुनावमा चन्दननाथका लागि मेयरको टिकट पाएर जित्न सफल भएकी थिइन् । सेजुवाल मेयरमा निर्वाचित भएपछि जुम्ला, कर्णाली प्रदेश मात्रै नभई काठमाडौँ र विदेशमा समेत चिनिएकी व्यक्तित्व हुन् ।
जुम्ला कांग्रेसका पूर्वसभापति मानव सेजुवालकी श्रीमति रहेकी कान्तिका श्रीमानको प्रेरणाका कारण पनि मेयर बन्न सहज भएको थियो । २०७१ सालमा भएको विमान दुर्घटनामा उनका श्रीमान मानवको निधन भएको थियो ।
त्यसपछि एक्लै राजनीतिमा होमिएकी कान्तिका एकल आँट र संघर्षले मेयर बन्न सफल भएकी हुन् । पाँच वर्षको कार्यकालमा इतिहास राखेपनि विकटता, गरिबी, अभाव र सही मार्गनिर्देशन अभावका कारण उनले उल्लेख्य काम गर्न भने सकिनन् ।
पुरुष हैकमबाजी चल्ने कर्णालीमा पहिलो महिला मेयर बनेर इतिहास कायम गरेकी कान्तिका सेजुवाललाई हामीले कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’को सुचिमा ९२ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]