नाम : नेत्र केसी
पेशा : पत्रकारिता
कर्णाली व्यक्तित्व नं. : ९१
काठमाडौँ : २०५२ सालदेखि २०६२ सालसम्म नेपालमा दश वर्ष सशस्त्र द्वन्द्व चल्यो । द्वन्द्व भनेपनि यो युद्ध थियो । जहाँ नेकपा माओवादीको नाममा विद्रोही र सरकारका नाममा प्रहरी तथा सशस्त्र प्रहरी गरि दुवैतर्फ नेपाली दाजुभाई एकआपसमा दैनिक बन्दुकको गोली चलाउँदै एक अर्काको ज्यान लिन्थे ।
राजधानी काठमाडौँ र केही बाहिरका शहरबाहेक हरेक जिल्लाका गाउँ गाउँमा लडाई चल्थ्यो । त्यतिबेलाका चर्चित रेडियो नेपाल, बिबिसीसम्मका सञ्चारमाध्यमले दैनिक त्यसरी द्वन्द्वमा ज्यान गुमाउनेको नाम सुनाउँथे । दैनिक हुने लडाई, भिडन्त र आक्रामणमा परेर ज्यान गुमाउनेको नाम सुनेर घर परिवार आफन्त मात्रै होइन सबै नेपाली स्तब्ध हुन्थे ।
देश द्वन्द्वमा भासिएका बेला रेडियो नेपालबाट प्रसारण हुने ‘शान्ति जागरण’ कार्यक्रमबाट पत्रकार नेत्र केसी शान्तिको विगूल फुक्थे । त्यतिबेला राती ८ बजेर ४५ मिनेट जाँदा धेरैले ‘शान्ति जागरण’ कार्यक्रम सुन्थे ।
आवाज, अनुभव र शान्तिको आग्रह गर्ने ‘शान्ति जागरण’ कार्यक्रम नै पत्रकार नेत्र केसीको परिचय बनेको थियो । दैलेखका पत्रकार केसी नेपालगञ्जमा बसेर पढ्दै पत्रकारिता गर्थे । त्यतिबेला द्वन्द्वले सबैभन्दा प्रभावित मध्यपश्चिम अर्थात अहिलेको कर्णालीमा पत्रकार नेत्र केसी शान्ति जागरण कार्यक्रमबाट चर्चित बनेका थिए ।
रेडियो नेपालबाट बज्ने सो कार्यक्रम द्वन्द्व अवधिभर चर्चामा रह्यो । जसले पत्रकार केसीलाई पनि चर्चा र सफलता दिलायो । यो कार्यक्रमको प्रभाव र सकारात्मक प्रभावले पत्रकार केसीलाई २०६६ सालमा यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
नेपालगञ्जबाट स्थानीय रेडियो, रेडियो नेपाल र बिबिसीका संवाददाता भएर काम गरेर केसी सत्तरीको दशकपछि काठमाडौँ आएका हुन् । काठमाडौँमा बसेर बिबिसी नेपाली सेवाको केन्द्रीय कार्यालयमै काम गरेका केसी कर्णालीबाट काठमाडौँसम्मका लोकप्रिय पत्रकार हुन् ।
खासगरि कर्णालीमा रेडियो पत्रकारको नाम लिँदा केसीको नाम अग्रस्थानमा आउँछ । दैलेखमा जन्मेर पढ्दै, सघंर्ष गर्दै रेडियो नेपाल हुँदै बिबिसीसम्म पुगेर चर्चा र सफलता कमाउने पत्रकारमा केसी युवाहरुका लागि प्रेरणाका स्रोत हुन् ।
कर्णालीको पत्रकारिताबाट सफल हुँदै युवा पत्रकारका लागि प्रेरणाको स्रोत बन्दै बिबिसीसम्म पुगेका पत्रकार नेत्र केसीलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ९१ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]