नाम : सीता नेपाली
पेशा : राजनीति
कर्णाली व्यक्तित्व नं. : ९०
काठमाडौँ : जनयुद्ध लडेर आएको नेकपा माओवादी केन्द्र अहिले पार्टी मात्रै होइन, प्रवृत्ति भैसक्यो । जसको एउटा उदाहरण माओवादीमै लागेका सीमान्तकृत नेताहरुलाई हेरे पुग्छ ।
समानता, सीमान्तकृत समुदायलाई अवसर र राज्यको नेतृत्वमा पुगाउनैका लागि जनयुद्ध लडेको माओवादीले दलित, महिला तथा पछाडि परेका व्यक्तिलाई अवसर दिन भने हदैसम्म कन्जुस्याई गरेको प्रमाण कर्णाली प्रदेश सरकारमा छरपस्ट छ ।
यी सबै यावत अन्यौल, विभेद र भ्रमकाबीच पनि कर्णाली प्रदेश सरकारमा दोस्रोपटकको मन्त्रिपरिषद् पुनर्गठनमा सीता नेपालीले ऐतिहासिक सफलता पाइन् । माओवादी केन्द्रबाट उनी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दा कर्णालीबाट नेपालकै पहिलो दलित महिला मन्त्री बन्ने इतिहास कोर्न सफल भइन् ।
सुरुमा जलस्रोत तथा ऊर्जा विकासमन्त्रीका रुपमा उनको नियुक्ती थियो । तर पार्टीभित्र विवाद बढेपछि उनले पछि आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालिन् । कर्णालीबाट एकपटक संविधानसभा सदस्य भइसकेकी नेपाली माओवादीकै प्रखर वक्ता र नेता हुन् ।
तर उनलाई पार्टीभित्रै पनि दलित महिलाका रुपमा अन्याय तथा विभेद हुने गरेको थियो । पार्टीभित्र चर्को माग विरोध र आवाजकै कारण उनले अन्ततः कर्णाली प्रदेश सरकारमा ६ महिने मन्त्री बन्ने अवसर पाइन् ।
६ महिना मन्त्री बन्दा उनले अधिकारसम्पन्न पहिलो दलित महिला समुदायबाट मन्त्री बन्ने इतिहास रचेकी हुन् । छोटो कार्यकाल भएका कारण उनले खासै राजनीतिक तथा सामाजिक परिवर्तन ल्याउने कुनै पनि काम गर्न सकिनन् ।
यद्यपी कर्णालीको दलित महिलाको प्रतिनिधित्व गर्दै उनी वर्षौदेखि संघर्षरत र सफलता हासिल गर्ने महिला हुन् । कर्णाली होस् वा काठमाडौँ । दलित महिलाका क्षेत्रबाट उनी एक सशक्त नारी हुन् । नेता हुन् । आवाज हुन् । विद्रोह हुन् ।
सुर्खेतमा जन्मेर सुर्खेतमै राजनीति गर्दै कर्णाली र काठमाडौँको राजनीतिमा समेत अभ्यस्त सीता नेपालीलाई कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ९० औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]