नाम : दुर्गा बन्जाडे
पेशा : प्रशासन, कर्मचारी
कर्णाली व्यक्तित्व नं. : ८८
काठमाडौँ : दुर्गा बन्जाडे कर्णाली प्रदेशको जुम्लामा सीडिओ बनेर जाने पहिलो महिला प्रशासक हुन् । कर्णालीमा पुरुषप्रधान समाजको जगजगी रहेका बेला बन्जाडे पहिलोपटक गृह मन्त्रालयबाट भएको सरुवा पत्र बोकेर जुम्ला जिल्ला हाक्ने महिला प्रशासकको परिचय बनाएकी थिइन् ।
संघीयताअघि कर्णालीमा सायदै महिला हाकिम भएर जान्ने हिम्मत गर्थे । तर संघीयतापछि भने कर्णालीमा महिलाले पनि नेतृत्व गर्न सक्छन्, जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारेर प्रशासन हाक्न सक्छन् भन्ने उदाहरण बन्जाडेबाटै सुरुवात भएको हो ।
जुम्ला आफैमा विकट जिल्लाका रुपमा परिचित मानिन्थ्यो । तर पनि बन्जाडेले हिम्मत हारिनन् । जसकारण उनी जुम्लाको प्रमुख जिल्ला अधिकारी बन्दा कर्णालीकै पहिलो महिला सीडिओको रुपमा फराकिलो परिचय बनाउन सफल भइन् ।
जुम्लामा सीडिओ भएर प्रशासन हाकेपछि सयौँ हजारौँ महिला प्रशासकबीच दुर्गा बन्जाडेको फरक परिचय बनेको थियो । यसर्थ पनि कर्णालीको चुनौतिलाई स्वीकार गरेर काम गर्ने प्रशासकहरुको फरक र नयाँ परिचय बन्ने गरेको छ ।
त्यसपछि जुम्ला तथा अन्य जिल्लामा पनि महिला सीडिओ भएर काम गरेका छन् । उनीहरुको पनि चर्चा हुन्छ, भइरहेकै छ । तर पहिलोपटक जुम्लामा सीडिओ भएर काम गर्दा भोगेको भोगाई, पुरुषप्रधान समाजको सोच र त्यसमा आएको परिवर्तन तथा बदलिदो अवस्थामा महिलाहरुलाई नेतृत्व दिँदा उनीहरुले सफलतापूर्वक जिम्मेवारी पूरा गरेको एक उदाहरण बन्जाडे बन्न सफल रहिन्।
बन्जाडे ४० औँ प्रमुख जिल्ला अधिकारीका रुपमा जुम्लामा २०७५/०७६ सालमा कार्यरत रहिन् । त्यसअघि उनी सिन्धुपाल्चोकको सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । उनी सीडिओको कुर्सीमा बस्दा जुम्लाका स्थानीय खुशी भएर गदगद् हुँदै फोटो सेसन समेत गराउने गरेका थिए ।
सीडीओ हुँदा बन्जाडेले आफूले तितो मिठो सबै अनुभव भोगेको बताएकी थिइन् । कर्णाली उत्सवको कार्यक्रममा वक्ताका रुपमा बोल्दै उनले महिलालाई प्रशासकका रुपमा स्वीकार नगर्ने कर्णालीको समाज विस्तारै सोच परिवर्तन गरिरहेको बताएकी थिइन् ।
गृह मन्त्रालयले अहिले पनि सुरक्षा व्यवस्था चुनाौतिपूर्ण भएका जिल्लामा महिलालाई सीडीओ बनाउन आनाकानी गर्ने गरेको छ । तर पछिल्लो समय विस्तारै सोच परिवर्तन भइरहेको छ ।
कर्णालीको पहिलो सीडीओ महिला भएर जुम्ला प्रशासन हाँकेकी दुर्गा बन्जाडेलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८८ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]