नाम : प्रेमबहादुर बोहरा
पेशा : लेखक, अभियान्ता तथा युवा नेता
कर्णाली व्यक्तित्व नं. : ८७
काठमाडौँ : डोल्पामा जन्मेर कर्णाली र काठमाडौँमा फराकिलो परिचय बनाएका व्यक्तित्व हुन्, प्रेमबहादुर बोहरा । डोल्पाको माझफलमा जन्मे हुर्केका बोहरा युवा अभियान्ता, लेखक र नेता पनि हुन् ।
डोल्पामा पुस्तकालय खोल्नुपर्ने भन्दै उनले साठीकै दशकमा काठमाडौँमा अभियान चलाएका थिए । शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने विभिन्न कार्यक्रममा उनी सरिक हुन्थे ।
गाउँकै स्कुलमा पढेर उच्च शिक्षाका लागि काठमाडौँ आएका प्रेमले गाउँदेखि देशको राजधानीसम्म नयाँ र फरक अनुभव संगाले । जुन अनुभव उनले आफ्नो पुस्तक ‘कोग्ले’मा उतारेका छन् ।
लामो समय शिक्षा र युवा अभियानमा सक्रिय बोहरा अहिले राजनीतिमा होमिएका छन् । गएको स्थानीय तहको चुनावमा बोहरा डोल्पाको ठूलिभेरी नगरपालिकाको मेयरमा उम्मेद्वार बनेका थिए । स्वतन्त्र उम्मेद्वार बनेका उनी जितसम्म पुग्न सकेनन् ।
तर डोल्पाजस्तो जिल्लामा पनि उनले वैकल्पिक राजनीतिको धार चाँही बनाएका छन् । युवा राजनीतिमा सक्रिय बोहरा पछिल्लो समय डोल्पाको राजनीतिक परिवर्तनका लागि विभिन्न काम गरिरहेका छन् । काठमाडौँ–डोल्पा गरिरहने बोहरा कर्णालीको मुद्दा उठाइरहने युवा हुन् ।
कर्णालीको विकास र परिवर्तनका लागि कर्णालीकै सचेत युवा लाग्नुपर्नेमा अभियान चलाइरहेका प्रेमबहादुर बोहरालाई हामीले ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८७ औँ स्थानमा समेटेका छौँ ।