नाम : सीता परियार
पेशा : प्रशासन
पद : प्रमुख जिल्ला अधिकारी, हुम्ला
कर्णाली व्यक्तित्व नं. : ८६
काठमाडौँ : हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियार नेपालकै पहिलो दलित महिला सीडीओ बनेकी छन् । २०७८ फागुन ८ गते भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीबाट परियारले हुम्लाका लागि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकी थिइन् । जुन नेपालमा पहिलो दलित महिला सीडीओ बन्ने इतिहास सीताले रच्न सफल भइन् ।
गृह मन्त्रालयले उनलाई नेपालकै पहिलो दलित महिला सीडीओको रुपमा हुम्ला सरुवा गरेको थियो । सडक मार्ग पहुँच नभएको हुम्ला जस्तो कर्णालीको दुर्गम जिल्लामा सरकारले सीतालाई दलित तथा महिला समुदायबाट पहिलो सीडीओको रुपमा जिम्मेवारी दिएको हो ।
नेपालमा सीडीओ भएर समग्र जिल्लाकै प्रशासन हाक्ँन सक्छु भन्ने कुरा सीता स्वयंमले पनि कुनै दिन सोचेकी थिइनन् होला । किनकी विभेद र पछौटेपनले जगडिएको नेपालमा दलित समुदायबाट त्यो पनि महिला भएर अगाडि बढ्न निकै जटिल समस्या छ ।
जुन सीताले सामान्य बनाएर देखाएकी छन् । उनकै भाषालाई सापटी लिने हो भने पनि ‘दलित त्यसमा पनि महिला कसरी काम गर्न सक्छ’ भनेर जातीय विभेद गर्दै सीतामाथि प्रश्न चिन्ह खडा गरिदिने ब्युरोक्रेसी नेतृत्व तथा राजनीतिक दलका नेताहरुको टिप्पणी हुने गथ्र्यो ।
दलित तथा महिला भएकै कारण जिम्मेवारी दिन डराउने समाजमा सीता नेपालकै पहिलो दलित महिला सीडीओ भएर सफलतापुर्वक प्रशासन सम्हालेको उदाहरण अहिले कर्णालीमा सम्भव भएको छ । जुन यसअघि सोचिएको थिएन । कसैले जिम्मेवारी लिन सक्छ भनेर आँकिएको पनि थिएन । तर सीताले यसलाई सम्भव तुल्याएकी छन् ।
कास्की पोखराको चन्द्र माविबाट नेपाली समाजमा मान्छे बन्ने, अक्षर चिन्ने, यो देशमा केही गर्न म पनि सक्षम छु भन्ने आँटसहित सीताको संघर्ष सुरु भएको थियो । एसएलसी उत्तीर्ण गरेपछि उनले पोखराकै पृथ्वीनारायण क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरिन् ।
उनले पढाईका लागि सानो संघर्ष गरेकी थिइनन् । आईए पढ्दै गर्दा कांग्रेस नेता जीवन परियारसँग विवाह गरेकी उनले व्यक्तिगत रुपमा घर परिवार र सरकारी सेवाको जिम्मेवारी उठाएकी थिइन् । पढाईका लागि उनले गार्मेन्टमा सिलाई कटाईको काम गरेर भएपनि आर्थिक व्यवस्थापन गरेको क्षण उनीसँग ताजै छ । उनका श्रीमान जीवन अहिले नेपाली कांग्रेसको सह–महामन्त्री हुन् ।
सानैबाट 'म नेपाली समाजमा राम्रो काम गरेर देखाउन सक्छु' भन्ने आँट र हिम्मत बटुलेकी सीताले नेपालकै पहिलो दलित महिला सीडीओ बनेर आफैँलाई प्रमाणित गरिन् । एउटा गैर सरकारी संस्थाबाट जागिरे जीवन सुुरुवात गरेकी सीताले २०६८ सालमा लोक सेवा आयोगबाट शाखा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी थिइन् ।
उनको पहिलो पोस्टिङ भने काठमाडौँस्थित नेपाल ट्रष्टको कार्यालयमा भएको थियो । लामो समय गैर सरकारी संस्थामा काम गरेको अनुभवले पनि सीतालाई सरकारी सेवामा प्रवेश गर्न सहज भएको हो । संघ संस्थामा अधिकृतस्तरको जिम्मेवारी निर्वाह गरेकी उनले त्यही अनुभवका आधारमा २०७१ सालमा नेपाल सरकारको उपसचिवमा नाम निकाल्न सफल भएकी थिइन् ।
उपसचिव बनेपछि उनका अगाडि अवसर, चुनौति र आफ्नो सामथ्र्य प्रमाणित गर्ने समय आयो । नेपाल सरकारको उपसचिवको हैसियतले उनले स्थानीय विकास अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी हुँदै २०७८ साल फागुुन ८ गते नेपालको इतिहासमा हुम्ला जिल्लाबाट पहिलो दलित महिला समुदायको प्रमुख जिल्ला अधिकारी बन्ने कीर्तिमान राखिन् ।
हुम्लामा प्रमुख जिल्ला अधिकारी भएर प्रशासन चलाउँदाका चुनौति धेरै छन् । त्यसमध्येको सबैभन्दा कठिन चुनौति चाँही नागरिकको स्वास्थ्य जोगाउनु हो । त्यसमा पनि सुत्केरी हुन नसकेका र सुत्केरी भएका महिलाको ।
सुत्केरी हुन नसकेका तथा सुत्केरी भएर पनि नजिकै स्वास्थ्य संस्था नहुँदा अत्याधिक रक्तस्रावले ज्यान गुमाएका घटना कर्णालीमा धेरै छन् । यस्ता डरलाग्दा घटनाको लामै फेहरिस्त सुनेकी सीडीओ सीताले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि यसमा दिलोज्यान दिएर लागेकी छन् । जुन उनको अधिकार र दायित्व क्षेत्रभित्र पर्छ ।
केही समय पहिले हुम्लाको सर्केगार्ड गाउँपालिकाकी एक जना महिला सुत्केरी भएर पनि सालनाल ननिस्कदा गम्भीर अवस्थामा पुगिन् । सुत्केरी महिला बेहोस भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रदेश अस्पताल लगिएको थियो । जहाँ पाँच पिन्ट रगत दिएपछि उनको होस् खुल्यो । र, थप उपचार गर्न सहज भयो । जुन काम उनको पहल तथा सही समयमा निर्णय गर्न सक्ने क्षमताले सम्भव भएको थियो ।
महिलाको ज्यान जोगाउन यस किसीमको निर्णय क्षमता र समयमै उपचार पाएका कारण महिलाहरुको ज्यान जोगिएका कामले उनलाई खुशी र सन्तुष्टि पनि दिन्छ । यसैगरि हुम्लामा उनले अभिभावक तथा संरक्षक विहिन बालबालिकाको लालनपालनमा सहजीकरण गर्ने गरेकी छन् । जसले गर्दा दुुई जना बालकहरु अहिले एसओएस स्कुलमा अध्ययन गर्न पाइरहेका छन् ।
अर्को तत्कालीन सीडीओ गणेश आचार्यका पालामा १३ औं स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय हुम्ला वर्तमान सीडीओ परियारको पालामा देशकै पाँचौ स्थान हासिल गर्न सफल भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाको कार्यसम्पादन उत्कृष्ट बनाउने सीताको प्रयास झन् जारी छ ।
त्यसका लागि स्थानीय निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्ने, शान्ति सुरक्षाको चुस्त व्यवस्थापन गर्ने, सेवाग्राहीलाई सहज सेवा दिनका लागि कार्यालयमा शोधपुछ कक्ष स्थापना गर्ने, कार्यालय प्रमुख तथा सूचना अधिकारीको समेत भाइवर समूह निर्माण गर्नेजस्ता काम उनीबाट भएका छन् ।
यस्तै कार्यालयमा सेवाग्राहीलाई बस्न सहजताका लागि संघीय कार्यालयसँग समन्वय गरी प्रतिक्षालय र शौचालय निर्माण गर्ने, सरक्षाकर्मीका लागि सुरक्षा दिने पोस्ट निर्माणमा सहजीकरण गर्ने, सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने, चिया पानी दिएर सेवाग्राहीलाई सहज बनाउने काम पनि उनीबाट भएका छन् ।
यस्तै पहुँच नहुँदा जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न नपाएका महिला, दलित, पिछडिएका समुदायलाई सहज प्रवेशको व्यवस्था मिलाउने काम पनि हुम्लाकी सीडीओ सीताबाट भएको छ । जिल्लाका हरेक निर्णय गर्दा सबै क्षेत्रको सहभागिता गराएर, सम्भव भएका सरोकारवालासँग छलफल, परामर्श गरेर सबैलाई सहज हुने गरि सेवा दिने निर्णय गर्ने सीताको विशेषता छ । जसले सेवाग्राही र समान पहुँच खोजिरहेका आम मानिसका लागि पनि सहयोगी भूमिका खेलिरहेको छ ।
सेवाग्राहीको मनमा बसेर काम गर्न रुचाउने, नेपालकै पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी बनेको इतिहास लेख्ने हुम्लाकी सीडीओ सीता परियारलाई हामीले कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८६ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]