नाम : पदमबहादुर शाही
पेशा : व्यवसाय
पद : अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश
कर्णाली व्यक्तित्व नं. : ८४
काठमाडौँ : कर्णालीमा लगानी भित्र्याउन लागिपरेका व्यवसायी हुन्, पदमबहादुर शाही । दैलेखको ठाँटीकाँध घर भएका शाही सानैदेखि व्यवसायमा लागेर कर्णालीमा स्थापित व्यापारी हुन् । किनारा पसलदेखि अहिले कर्णालीको हस्पिटालिटी क्षेत्रसम्म स्थापित व्यवसायी बनेका शाही नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष हुन् ।
सुर्खेत उद्योग वाणिज्य संघ, सुर्खेतका पूर्व अध्यक्षसमेत रहेका होटल व्यवसायीका रुपमा पनि परिचित छन् । पछिल्लो समय सुर्खेतमा चर्चित बनेको शुभ होटल शाहीले सञ्चालन गरेको होटल हो । कर्णालीमा लगानी भित्र्याउन र काठमाडौँका व्यवसायीसँग सहकार्य गर्न शाही सक्रिय छन् ।
पछिल्लो समय कर्णाली प्रदेशको अध्यक्ष भएपछि शाही रारामा होटल खोल्न लागि परेका छन् । यसका लागि काठमाडौँका ठूला व्यवसायी चन्द्र ढकाल, जीवा लामिछाने लगायतसँग पनि छलफल गरिरहेका छन् ।
कर्णालीको निजी क्षेत्रको नेतृत्व गर्ने शाहीले सुर्खेतको गोठीकाँडाबाट प्याराग्लाइडिङ सञ्चालन गरिरहेका छन् । कर्णालीको व्यापार, व्यवसाय, निजी क्षेत्र, निजी क्षेत्रको नेतृत्व र कर्णालीमा लगानी गर्ने तथा भित्र्याउने काममा लागिरहेका नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीलाई हामीले ‘कर्णालीका १०० व्यक्तित्व सूचिमा ८४ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]