ढोरपाटन : सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो । मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका थिए । भारी थियो डालोको । फूलबुट्टा भरेको डालो । यहीमाथि रातो खैरो रङ लगाएर आकर्षित बनाएका थिए । बजारका धेरै मानिसले दुई युवालाई हेरि रहेका थिए । उनीहरु भने आफ्नै पारामा हिँडिरहेका थियो ।
उनीहरु थिए, रुकुमदेखि आएका निरकुमार बुढामगर र प्रकाश घर्तीमगर । दशैँका लागि खर्च जोहो गर्नका लागि डालो बेच्न बुर्तिबाङ आएका उनीहरुले सोचेअनुसारको बिक्री गर्न सकेनन् । दुई÷दुई सय डालो बोकेर आएका उहाँहरुले जम्मा एक सय मात्रै बिक्री गर्न सफल भएका थिए । एकातिर दशैँको टीकाको दिन नजिकिँदै गर्दा उनीहरुमा गाउँ फर्किने आत्तुरी थियो भने अर्कोतिर डालो बिक्री हुन नसकेपछि मनमा पिर पनि पलाइरहेको थियो ।
“दुई दिन अगाडि आएको हो, यसपालि डालो बिक्रीनै हुन सकेन, डालो बेचेर दशैँ मनाउँला भनेको जम्मा एक सय मात्रै बिक्री भयो”, निरकुमारले भने, “अझै तीन सय ५० डालो बेच्नै बाँकी छ”, उनले भने, “दशैँ आइसक्यो, यस पटक अलि ढिला पनि आइयो, सामान किनेर लैजाने भनेको कसैले किन्दैनन्, पहिले–पहिले त एकै दिनमा सबै डालो बिक्री हुन्थ्यो ।”
पहिले–पहिले ठूलो–ठूलो डाला बजारमा ल्याउने गरेकोमा यस पटक भने साना डालो मात्रै लिएर आएको बुढामगरको भनाइ छ । बजारमा सानो डालोको माग बढेपछि यसपटक केही ठूला र साना आकारका डालो बिक्रीका लागि ल्याएको उनी बताउँछिन् । “वैशाखमा आउँदा दुई पाथी र पाँच पाथी अटाउने डालो ल्याएका थियौँ, त्यस बेला सानो डालाको माग बढेको थियो, अहिले एक पाथी, चार माना र दुई माना जाने डालो ल्याएर आएको खास्सै बिक्री गर्नै सकिएन”, उनले भने, वर्षको दुई सिजन डाला बजारमा बिक्री गर्न ल्याउने गरेका छौँ, यसभन्दा अगाडि पनि यहाँ र खर्बाङसम्म पुगेका थियौँ, त्यस बेला व्यापार राम्रो भएको थियो ।”