नाम : हिक्मत वादी
पेशा : समाजसेवा
पद : संस्थापक, वादी सरोकार मञ्च, नेपाल
कर्णाली व्यक्तित्व नंं. : ७७
काठमाडौँ : मानव सेवा भन्न सजिलो भएपनि निर्वाह गर्न निकै गाह्रो काम हो । आफ्ना लागि होइन, अरुका लागि केही गरेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्ने मानिसहरु नै समाजका असली समाजसेवी बन्न सक्छन् ।
यस्तै उदाहरण हुन्, दैलेख घर भई सुर्खेतमा समाजसेवा तथा बालबालिकाका लागि ठूलो हिम्मत गरेका हिक्मत वादी । आफ्नो लागि नभएर सम्रग वादी समुदायको बालबालिकाका लागि उज्यालो छर्ने काम गरिरहेका छन्, हिक्मतले ।
दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकामा जन्मेका हिक्मत सुर्खेतमा ६६ बालिका र ६० बालकको नयाँ भविष्य बनाउन लागिरहेका छन् । उनले ती बालबालिकालाई उनीहरुको घर आगँनबाट सुर्खेत ल्याएर राम्रो व्यवस्थापनसहित पढाइरहेका छन् ।
वादी समुदायको अधिकार सुनिश्चत गर्न उनी थुप्रैपटक लड्दै आएका छन् । उनको लडाइ रोकिएको छैन । अहिले पनि उनले सुर्खेतमा वादी सरोकार मञ्च नामक संस्था खोलेर वादी समुदायका बालबालिकाको लागि उज्यालो भविष्य बनाउने काममा तल्लीन छन् ।
नदी किनारामा बसेर आफ्नो जिविकोपार्जन गर्ने वादी समुदाय नेपाली समाजमा सीमान्तकृत बस्तीका रुपमा परिचित छन् । वादी समुदायका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासका लागि अहोरात्र लागि परेका छन् ।
सम्रग वादी समुदायको हक अधिकारका लागि अहोरात्र खटिरहेका हिक्मत वादीलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७७ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]