काठमाडौँ : दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७८ असोज १९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक कार्यक्रम गरि औपचारिक रुपमा सञ्चालन गरिएको कर्णालीखबर एक वर्ष पूरा गरि संयोगले नेपालीहरुको महान चाँड बडादसैँकै दिन दोस्रो वर्षमा प्रवेश गरेको हो ।
कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र शाहीले होटल सिद्धार्थमा भएको कार्यक्रममा कर्णालीखबरको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा कर्णालीका पहिलो उपसभामुख पुष्पा घर्ती, तत्कालीन पर्यटनमन्त्री नन्दबहादुर बुढा, मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति डा.नन्दबहादुर सिंह, पर्यटन व्यवसायी श्रीराम सिग्देल, निर्मल केसी र कर्णाली प्रदेश अस्पताल डा.नवराज केसीको सहभागिता थियो ।
कर्णालीखबरको औपचारिक उद्घाटनमा कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्र शाहीले कर्णालीको विकासमा कर्णालीखबरको पनि भूमिका रहने उद्घोष गरेका थिए । सोही उद्घोषअनुसार कर्णालीखबरको एक वर्षमा उपलब्ध स्रोत साधनले सम्भव श्रृङ्खलाबद्ध सामग्री प्रकाशित गर्न सफल भएका छौँ ।
‘कर्णालीको विचार, बहस र विकासका लागि कर्णालीखबर’ भन्ने मूल नाराका साथ सुरु भएको कर्णालीखबर डटकमले यसबीचमा ‘समृद्धि कर्णाली विकासका पाँच वर्ष’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । सम्भवतः कर्णालीमा विचार र विकासका लागि औपचारिक बहस कार्यक्रम सुरुवात मानिएको ‘कर्णाली विकासका वर्ष’ हरेक वर्ष सञ्चालन गर्ने तयारी भइरहेको छ । कर्णालीखबरको उद्घाटन नै बहसमुलक कार्यक्रमबाट भएको थियो । सोही सुरुवातअनुसार कर्णालीमा सार्थक बहस गरेर कर्णालीकै विचार र विकासलाई प्रद्धर्वन गर्ने मूल लक्ष्य हो ।
त्यसबाहेक कर्णालीको राजनीतिक, आर्थिक, कृषि, पर्यटनदेखि सामाजिक विषयवस्तुमा आधारित रहेर कर्णालीखबरमा श्रृङ्खलाबद्ध सामग्री प्रकाशित हुँदै आएका छन् । दोभान मल्टिमिडिया सञ्चालनको दुई वर्ष, कर्णालीखबर डटकम सञ्चालनको एक वर्ष परीक्षण गरेर गएको वर्ष औपचारिक उद्घाटन गरिएको थियो ।
राज्यले भौगोलिक विकटतालाई लिएर कर्णालीमाथि विभेद गर्न थालेको वर्षौ हुँदा संघीयतापछि कर्णालीमा आफ्नै प्रदेश सरकार बनेको छ । तर पनि कर्णालीमा अनेक समस्या छन् । ती समस्याको समाधान गर्नु सिंगो कर्णालीको दायित्व हो । त्यसभित्र हाम्रो एउटा सानो प्रयासस्वरुप कर्णालीखबर डटकम पनि हो ।
असोज १९ गते दसैँको टीकाको दिन परेकाले कुनै औपचारिक कार्यक्रम सम्भव नभएकाले उपयुक्त दिन पारेर* कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष कार्यक्रम विशेष रुपमा हुनेछ । सो दिन ‘कर्णालीका १०० व्यक्तित्व’, १० जना ‘कर्णाली हिरोज’ र त्यसमध्येबाट एक जना ‘कर्णाली हिरो’ घोषणा गरिनेछ ।