काठमाडौँ : कर्णालीखबर डटकम सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा कर्णालीखबरमा प्रकाशित १० विशेष सामग्री प्रस्तुत गरिएका छन् । जुन कर्णालीे खबरको सुरुवातमा प्रकाशित गरिएका थिए । आज कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेषका दिन पुनःप्रकाशित अर्थात ‘रिक्याप’ गरिएको हो ।
कर्णालीमा जातीय विभेदले जरा गाडेका बेला पटक पटक निम्तिने नरसंहारदेखि सानो भूगोलमा पनि बेला बेला मच्चिने ठूलो राजनीतिक उथलपुथलका बारेमा कर्णालीखबरले यसअघि नै गहिरो विश्लेषण गरेर श्रृङ्खलाबद्ध साामग्री प्रकाशित गरेको थियो ।
आज कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेषमा हामीले कर्णालीका विशेष सात श्रृङ्खलाबद्ध साामग्रीको ‘रिक्याप’ गरेका छौँ । श्रृङ्खलाबद्ध स्टोरी खोल्नका लागि नम्बरसँगको शीर्षकमा क्लिक गरेर पढ्न सकिन्छ ।
१. सोती घटनाको शल्यक्रिया
रुकुम पश्चिमको सोतीमा दुई वर्षअघि जातीय नरसंहारका रुपमा जाजरकोटका ६ जना युवाको हत्या भयो । गैरदलित समुदायका युवतीसँग बिहे गर्न भनेर गएका जाजरकोटका नवराज विश्वकर्मा लगायत ६ जना युवाको विभत्स घटनाका बारेमा थुप्रै समाचार प्रकाशित भएका थिए ।
त्यसबाहेक कर्णालीखबरमा ‘सोती घटनाको शल्यक्रिया’ शीर्षकमा ५ वटा विशेष सामग्री प्रकाशित भएका छन् । यो घटनामा जोडिएका व्यक्तिदेखि राजनीतिक कनेक्सनसम्मको वास्तविकता उजागर गर्ने प्रयास गरिएको छ ।
२. जनयुद्धदेखि धनयुद्धसम्म
कर्णालीलाई आधारइलाका मानेर तत्कालीन विद्रोही नेकपा माओवादीले थालेको १० वर्षको जनयुद्धको कथा व्यथा हो, जनयुद्धदेखि धनयुद्ध श्रृङ्खला । झण्डै २० वटा जति विशेष सामग्री प्रकाशन गरिएको यो श्रृङ्खला धेरैले रुचाएको र नेपालमा द्वन्द्वको पीडा खोतलिएको हो ।
कर्णालीबाट सुरु भएको माओवादी जनयुद्ध पार्टीगत रुपमा सफल भएपनि आम मानिस, नागरिक र देशको मुहार परिवर्तन भएको हेर्नेका लागि सुखद रहन सकेन । जनयुद्धले गणतन्त्र, संघीयता र नयाँ संविधान ल्याएपनि जनताको आधारभूत आवश्यकता भने पूरा गर्न सकेन । जसको वास्तविकता कर्णालीखबरमा प्रकाशित सामग्री हेरेर पनि थाहा पाउन सकिन्छ ।
३. कर्णाली सत्ता हस्तान्तरण
कर्णालीमा ठीक एक वर्षअघि प्रदेश सरकार परिवर्तन भयो । कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्र शाहीले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता जीवन शाहीलाई सत्ता हस्तान्तरण गरेका थिए । आपसी समझदारीमा भएको सो सत्ता हस्तान्तरणबारे कर्णालीखबरमा विशेष श्रृङ्खलाबद्ध स्टोरी प्रकाशित भएका थिए ।
४. समृद्ध कर्णाली बहस
कर्णालीमा विकासको जग हाल्ने स्थानीय तहका जनप्रतिनिधिको पहिलो पाँच वर्षको कार्यकाललाई हामीले विस्तृत रुपमा समीक्षा गर्ने प्रयास गर्यौँ । गएको चैत २०, २१ र २२ गते वीरेन्द्रनगरमा भएको सो कार्यक्रममा कर्णाली समृद्धिका विषयमा बहस भएको थियो ।
कर्णालीमा समृद्धिका लागि विकासमुलक बहसको सुरुवात भएको विषयलाई पनि हामीले श्रृङ्खलाबद्ध रुपमा उठाएका थियौँ ।
५. कर्णाली पर्यटन
कर्णाली पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त ठाउँ हो । तर अझै प्रचार प्रसार बलियो हुन सकेको छैन । कर्णालीको पर्यटन, प्रचार प्रसार र सम्भावना भएका ठाउँको बारेमा कर्णालीखबरमा विस्तृत रुपमा सामग्री प्रकाशन भइरहेका छन् । कर्णालीको पर्यटनलाई माथि उठाउनका लागि कर्णालीखबरले कर्णालीको पर्यटनका बारेमा धेरै सामग्री प्रकाशन गरेको छ । जसले कर्णालीको पर्यटनमा थोरै भएपनि टेवा पुर्याएकै छ ।
६. वर्ष २०७८ समीक्षा
कर्णालीखबर सञ्चालनको एक वर्षमा हामीले वार्षिक रुपमा समीक्षाको प्रयास गरेका छौँ । जसअनुसार गएको वर्ष २०७८ को क्रमिक रुपमा आर्थिक, राजनीतिक, सामाजिक पर्यटन लगायतका विषयमा हामीले समीक्षा गरेका थियौँ ।
समीक्षाका क्रममा राजनीतिक उथलपुथल, सामाजिक संरचना परिवर्तन, आर्थिक समृद्धि लगायतका विषयमा पनि बहस गरेका थियौँ ।
७. कर्णाली सरकार समीक्षा
कर्णाली प्रदेश सरकारको पाँच वर्षमा हामीले कर्णाली सरकार समीक्षा पनि प्रकाशित गरिरहेका छौँ । क्रमबद्ध रुपमा प्रकाशित सामग्री कर्णालीको विकासका लागि भइरहेका प्रयास, राजनीतिक दलका नेताहरुको प्रतिबद्धता र त्यसअनुसार समाजमा आउन नसकेको परिवर्तनबारे पनि तिखो टिप्पणी गरिरहेका छौँ ।