काठमाडौँ : कोरोना महामारीको ठूलो संकटको बेला कर्णालीखबर डटकम इन्टरनेटको दुनियाँमा न्यूज पोर्टलका रुपमा स्थापना भएको हो । कोरोना महामारी झेल्दै विभिन्न समस्या, चुनौति र नयाँ नयाँ अवसर पछ्याउँदै दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबरले छोटो समयमै पाठकको निरन्तर सद्भावका कारण कर्णालीमा आफ्नो नयाँ प्रभाव छाडेको छ ।
कर्णालीका यावत चुनौति पछ्याउँदै हामीले एक वर्ष पूरा गरेका छौँ । अनौपचारिक रुपमा झण्डै डेढ वर्ष सञ्चालन गरेपछि गएको वर्ष आजैका दिन हामीले कर्णालीमै कर्णालीखबर डटकमको औपचारिक शुभारम्भ गरेका थियौँ ।
औपचारिक रुपमा सञ्चालित भएपछि हामीले विभिन्न चुनौति पार गर्दै एक वर्षको यात्रा पूरा गरेका छौँ । यसबीचमा धेरै चुनौति, संकट र समस्या व्यहोरेका छौँ । जुन हाम्रा लागि सुनौला सिकाईका पाठ साबित भएका छन् ।
भौगोलिक रुपमा कठिन र जटिल कर्णालीमा सम्भावनाका सयथरी स्तुति छन् । तर त्यसको सही सदुपयोग हुन सकेको छैन । झण्डै १७ लाख जनसंख्याको भूगोलमा अनकन्टार समस्याका चाङ छन् । र, त कर्णालीका हजारौँ मानिस कहिले भारत कहिले खाडी धाउन बाध्य छन् ।
नागरिकको पसिनाले यो देशको ढुकुटी भरिन्छ । तर त्यो ढुकुटी कसको रजाँईमा खर्च हुन्छ, हुँदैछ र भइरहेको छ ? भन्ने प्रश्न अहिलेको आवश्यकता हो । सबैले भनेजस्तै कर्णाली गरिब होइन । भौगोलिक विकटताले कठिन अवश्य हो ।
तर त्यसैलाई कर्णालीको गरिबी बनाउने समातविरुद्ध हाम्रो प्रश्न हो । कर्णाली गरिब होइन । कर्णाली सम्भावना हो । अवसर हो । सुन्दरले भरिएको स्वर्ग हो । कर्णाली एक उत्कृष्ट गन्तव्य हो । जसले नेपालको पूरा चित्र बोल्छ ।
त्यति मात्रै होइन, कर्णाली अवसरका लागि पर्खिरहेको एक युग हो । युवान्तकारी परिवर्तनको हिस्सेदार हो । नेपालको शक्ति साम्राज्यको उद्गम थलो हो । यी सबैको बाबजुद पनि कर्णाली आज गरिब छ । कठिन छ । चुनौतिपूर्ण छ । विभेदले जगडिएको छ ।
यी सबै कुराको सार्थक बहस गरेर विकासका लागि एक कदम अगाडि बढ्ने सत्प्रयासको स्वरुप हो, कर्णाली । राजनीतिक उथलपुथल ल्याउने कर्णालीले अब स्थिरता ल्याउन आवश्यक छ । त्यसका लागि सही बहस र विकासको बाटो समात्न जरुरी छ ।
कर्णालीको सम्भावना औँल्याउँदै विकास र बहसका लागि निरन्तर प्रश्न सोध्ने हाम्रो प्रयास जारी रहनेछ । जसको सुरुवात समृद्ध कर्णाली, कर्णाली पर्यटन, कर्णाली प्रदेश सरकारको समीक्षा लगायतका थुप्रै श्रृङ्खलाबद्ध सामग्रीबाट भइरहेको छ ।
यसलाई अझै उचाईमा पुर्याउने हाम्रो मूल उद्धेश्य रहनेछ । कर्णालीखबरको एक वर्षको यात्रामा साथ दिने सहकर्मी, सल्लाहकार, संवाददाता, पाठक, विचारक, टिप्पणीकार सबैप्रति आभार । कर्णालीखबर आगामी दिनमा अझै परिष्कृत भएर अगाडि बढ्ने कुरामा हामी विश्वस्त छौँ ।
प्रकाशक
दोभान मल्टिमिडिया