कैलाली : लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।
बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र सुत्केरी, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ । बाढीका कारण नागरिक समस्यामा परेकाले विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ ।
नगरपालिकालाई बाढीपीडितका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्रीलगायतका सामान आवश्यक पर्ने भएकाले त्यसको जोहोका लागि सरोकारवालासँग छलफल गरिएको छ । बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् । बाढीले बढी क्षति वडा नं ५, ६, ७, ८ मा पु¥याएको छ ।
कर्णाली नदीमा पानीको बहाव बढेपछि कतिपय ठाउँमा नदी ओभरफ्लो भएर बस्तीमा पसेको छ भने कतिपय ठाउँमा नदी फुटेर बस्तीमा पसेको हो । टीकापुर–८ को वनगाउँमा कर्णाली नदी फुटेर बस्तीमा पस्दा त्यहाँ ठूलो क्षति भएको छ ।