टि-२० विश्वकपको आठौं संस्करण १६ अक्टोबरदेखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुँदैछ । कोरोना महामारीको कारण २०२१ मा हुनुपर्ने विश्वकप २०२२ मा हुँदैछ । भारतले गतवर्ष युएई र ओमानमा टि२० विश्वकप आयोजना गरेको थियो । सात संस्करण सकिँदा वेस्टइन्डिज मात्र दुइ पटक टि२० विश्वकप जित्ने एक्लो टोली हो । भारत, पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र श्रीलंकाले समान १-१ पटक विश्वकप जितेका छन् । सन् २००७ मा पहिलो पटक टि२० विश्वकप आयोजना गरेको दक्षिण अफ्रिका उपाधिविहीन छ ।
विश्वकप जित्न कुनैपनि टोली उत्कृष्ट हुनुपर्छ । ब्याटिङ, फिल्डिङ, बलिङ, रणनीतिक, मानसिक, परिस्थीति अनुसार खेल्न सक्ने क्षमता, दबाब र उत्कृष्ट कप्तानी लगायत धेरै कुरा मिलेमा मात्र विश्वकप च्याम्पियन बन्नसक्छ । सिमित खेलाडी र बलियो पक्षले मात्र विश्वकप च्याम्पियन बन्न धेरै कठिन पर्छ ।
ठूला नाम भन्दा पनि दबाब र आवश्यक खेलमा प्रदर्शन गर्न सक्ने खेलाडीले नै टोलीलाई च्याम्पियन बनाउन सक्छन् । त्यसैले कागजी रुपमा भन्दा पनि मैदानमा प्रदर्शन गर्ने खेलाडी हुनुपर्छ ।
कुनैपनि टोलीको स्तर पछिल्लो समयको अन्तर्राष्ट्रिय प्रदर्शनबाट अनुमान गर्न सकिन्छ । विश्वकपको लागि सबै टोलीले आफ्नो उत्कृष्ट टोली घोषणा गरेका छन् । सबै टोलीका खेलाडी, पछिल्लो समयको प्रदर्शन, लय, टिम सन्तुलन, कप्तानी लगायत सबै पक्ष हेर्दा हाम्रो खेलकूद डटकमको विश्लेषणमा २०२२ को टि२० विश्वकप उपाधि जित्न सक्ने सर्वाधिक बलिया पाँच टोली यस प्रकार देखिन्छन्:
५.न्युजिल्यान्ड
न्युजिल्यान्ड विश्व क्रिकेटमा सफल हुनुमा टिम भावना र अनुसाशन प्रमुख कारण हो । कागजी रुपमा स्टार खेलाडी खासै नभएपनि मैदानमा प्रदर्शन अब्बल हुने गर्दछ । पछिल्ला दुई विश्वकपको फाइनल खेलेको न्युजिल्यान्डले गतवर्ष भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।
केन विलियम्सन विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट कप्तान हुन् । कुनैपनि टोलीमा स्टार खेलाडी भएर मात्र हुँदैन । त्यो खेलाडीलाई कसरी प्रयोग गर्ने विशेष कप्तानी गुण हुनुपर्छ । विलियम्सन आफैं टोलीका ब्याटिङका खम्बा हुन् । अर्कोतर्फ उनीले आफ्नो खेलाडीलाई सधैं प्रदर्शनमा स्टार बनाउँछन् ।
उनको उत्कृष्ट कप्तानीमा विपक्षी ठूला टोली निराश हुँदै आएका छन् । उत्कृष्ट कप्तानीमा विलियम्सन हारेको खेल जिताउन सक्ने खुबी राख्ने गुण भएका खेलाडी हुन् । गतवर्ष टि२० विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको न्युजिल्यान्ड यस पटक भने फाइनलमा निराश हुन चाहँदैन ।
न्युजिल्यान्डको मुख्य हतियार तीव्र गतिको बलिङ हो । अष्ट्रेलियामा तीव्र गतिका बलरलाई अझ बढी फाइदा पुग्ने गर्दछ । ट्रेन्ट बोल्ट, टिम साउथी, लोकी फर्गुसन र एडम मिल्न तीव्र गतिका बलर हुन् । बोल्ट स्विङ र गतिका लागि माहिर छन् । फर्गुसनको गतीको चाल पाउन सक्दैन । उनी १ सय ५० प्रतिघण्टा किलोमिटरको गतिमा बलिङ गर्दै आएका छन् । यी चार बलरले लगातार खेल्दै आएको अनुभवी पनि छ । दबाबमा राम्रो प्रदर्शन गर्न सक्छन् ।
यता ब्याटिङमा मार्टिन गुप्टिल, विलियम्सन, डेभन कन्वे, ग्लेन फिल्पिस जस्ता स्तरिय ब्याटर छन् । ब्याटिङ पनि मजबुत छ । फिनिसरमा जेम्स निसम रहनेछन् । स्पिनरमा ईश सोधी र मिचेल सान्टनार छन् । युवा विष्फोटक ब्याटर फिन एलेन विश्वलाई नै घातक बन्न सक्छन् ।
अन्य टोलीले लगातार खेलाडी परिवर्तन गर्दछन् । तर न्युजिल्यान्डले एकै टोलीलाई निरन्तर अभ्यास गराउँदै निखार ल्याउने गर्दछ । स्पष्ट रणनीतिमा प्रदर्शन मजबुत हुने गर्दछ ।
अर्कोतर्फ सबै खेलाडी आफ्नो भूमिकामा शतप्रतिशत दिने गर्दछन् । भारत, अष्ट्रेलिया र इंग्ल्यान्ड जस्तो धेरै विकल्प उनीहरुसँग हुँदैन । समग्रमा सन्तुलित टिम, उत्कृष्ट कप्तान, सानदार बलिङ आक्रामण हुँदा न्युजिल्यान्ड पहिलो पटक विश्वकप जित्न सक्छ ।
४. भारत
भारत सन् २००७ पछि पहिलो पटक टि२० विश्वकप जित्न चाहन्छ । रोहित शर्माको कप्तानीमा रहेको भारतको मुख्य विशेषता नै ब्याटिङ हो । भारतको ब्याटिङमा विश्व स्टारको बाहुल्यता छ ।
भारतको ओपनरमा रोहित शर्मा र लोकेश राहुल छन् । यी दुवै सानदार ब्याटिङको लागि चिनिन्छन् । यी दुईले राम्रो सुरुवात दिँदा विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, दीनेश कार्तिक र हार्दिक पान्ड्या जस्ता ब्याटर हुँदा विशाल योगफल सजिलै बनाउन र पूरा गर्नसक्छ ।
सूर्य, हार्दिक, दीनेश र पन्तको खेल्ने शैली विष्फोटक हो । सूर्य २०२२ मा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले २३ खेलमा १ शतक र ६ अर्धशतकसहित कुल ८ सय १ रन बनाएका छन् । स्ट्राइकरेट १८४.५६ छ । उनको लय रोक्न नै विपक्ष्यलाई कठिन पर्नेछ ।
भारत ब्याटरमा सिमित खेलाडीमा निर्भर छैन । खराब सुरुवातको बाबजुद पनि ठूलो योगफलमा पुग्न सक्छ । भारतको तीव्र गतिको बलिङमा अर्शदीपसिंह, भुवनेश्वर कुमार र हर्षल पटेल छन् । जस्प्रित बुमराह र रविन्द्र जडेजा चोटका कारण नहुँदा बलिङमा भने केहि असर परेको छ । अर्शदीपले राम्रो आशा जगाउँदै आएका छन् । स्पिनरमा युजभेन्द्र चहल र आश्विन हुनेछन् ।
टि२० क्रिकेटमा ब्याटिङ धेरै फरक पार्छ । भारतसँग विश्व स्टार म्याच विनर ब्याटर हुँदा विश्वकप च्याम्पियन बन्नसक्छ । अर्कोतर्फ रोहित शर्मा आइपिएलमा सर्वाधिक पाँच पटक उपाधि जित्ने कप्तान हुन् । उनको कप्तानी पनि उत्कृष्ट रहँदै आएको छ । रोहितको कप्तानी र ब्याटिङले भारतको विश्वकप उपाधि खडेरी तोडिन सक्छ ।
३.इंग्ल्यान्ड
इंग्ल्यान्ड सिमित ओभरको क्रिकेटमा सबैभन्दा आक्रामक टोली मानिन्छ । विष्फोटक ब्याटरको बाहुल्यता छ । आक्रामक ब्याटिङ र तीव्र गतिको बलिङ आक्रामणले इंग्ल्यान्ड सन् २०१० पछि पुन च्याम्पियन बन्न सक्छ । अर्कोतर्फ इंग्ल्यान्ड र अष्ट्रेलियाको कन्डिसन धैरै मिल्छ ।
अष्ट्रेलियापछि सबैभन्दा बढी मैदानको कन्डिसनको फाइदा इंग्ल्यान्डले नै उठाउने छ । इंग्ल्यान्डमा जस बटलर, एलेक्स हेल्स, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन र डेविड मलान जस्ता भरपर्दा ब्याटर छन् । लिभिङस्टोन मध्यक्रमका सबैभन्दा विष्फोटक ब्याटरमा पर्दछन् । उनको सट हेर्न जो कोहि समर्थक इच्छुक हुन्छन् ।
जस बटलर कप्तानसँगै म्याच विनर ब्याटर हुन् । उनी खेलको परिस्थिति अनुसार ब्याटिङ गर्दछन् । स्टोक्स ठूला खेलका स्टार अलराउन्डर हुन् । मोईन अली, साम करन, डेविड विल्ली, क्रिस वोक्स र मार्क वुड राम्रो ब्याटिङ गर्दछन् । युवा ब्याटर ह्यारी ब्रुकले पाकिस्तानसँगको सात टि२० आई सिरिजमा सानदार प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका थिए ।
ब्याटिङमा इंग्ल्यान्डको गहिराई छ । कठिन र खराब अवस्थामा पनि इंग्ल्यान्ड आक्रामक ब्याटिङको क्षमता राख्छ ।
इंग्ल्यान्डको तीव्र गतिको बलिङ आक्रामण मजबुछ । मार्क वुड १ सय ५० माथिको गतिमा गर्दै लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।
पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका रिस टोप्ली र क्रिस जोर्डन डेथ ओभरका बलर हुन् । स्पिनमा आदिल राशिद र मोईन अली छन् । इंग्ल्यान्ड गतवर्ष सेमिफाइनमा न्युजिल्यान्डसँग स्तब्ध भएको थियो । यो पटक त्यो पिडालाई अन्त्य गर्दै च्याम्पियन बन्न सक्छ ।
२.दक्षिण अफ्रिका
दक्षिण अफ्रिका सन्तुलित टोली हो । कप्तान टेम्बा बभुमालाई छाड्ने हो भने अन्य सबै ब्याटर उच्च लयमा छन् । हालसालै विश्वको उत्कृष्ट टोली भारतविरुद्ध डेविड मिलर र राइली रोसोउले सानदार शतक हानेका थिए । मिलरले पछिल्लो समय मध्यक्रममा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।
३५ बलमै टि२० क्रिकेटमा सर्वाधिक छिटो शतक हान्ने कीर्तिमान रोहित शर्मासँग बराबरी गरेका मिलर विपक्षी बलरलाई किलर बन्ने गर्दछन् । क्विन्टन डि ककले भारतविरुद्ध दोस्रो र तेस्रो टि२० आई खेलमा अर्धशतकका साथ लयमा फर्किएका छन् । बभुमाको विकल्पमा रिजा हेन्ड्रिक्स छन् । हेन्ड्रिक्सको टि२० आईमा प्रदर्शन उच्च छ ।
डि कक, राइली रोसोउ, मिलर र एडेन माक्ररम जस्ता ब्याटरले ब्याटिङक्रम मजबुत बनेको छ । मारक्रम मध्यक्रमका सर्वाधिक भरपर्दा ब्याटर हुन् । तल्लोक्रमका ब्याटर ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको आक्रामक शैली झनै मजुबत बनाएका छन् । गत जुलाईमा स्टब्सले २८ बलमा इंग्ल्यान्डविरुद्ध ८ छक्कासहित ७२ रनको इनिङ खेलेका थिए ।
उनले मौका पाएको खेलमा आक्रामक ब्याटिङ गर्दै आएका छन् । अर्कोतर्फ डि कक, रोसोउ र मिलर बायाँ हाते ब्याटर हुँदा टिम सन्तुलन र रणनीतिमा अतिरिक्त फाइदा मिल्नेछ । दक्षिण अफ्रिका बलिङ आक्रामण झनै उत्कृष्ट छ । कागिसो रबाडा, एनरिच नोर्किया र लुन्गी एनगिडी जस्ता विश्वस्तरिय बलर छन् ।
रबाडा र नोर्कियाका जोडीले जो कोहि ब्याटरलाई खेल्न मुश्किल पर्दछ । यी दुबैको गति १ सय ५० माथिको हुने गर्दछ । स्पिनरमा महाराज र तबरेज शाम्सी रहनेछन् । सन्तुलित टोली दक्षिण अफ्रिकाले उपाधि जित्न सक्छ ।
१. अष्ट्रेलिया
घरेलु टोली अष्ट्रेलिया उपाधिको सर्वाधिक दाबेदार र बलियो टोली हो । साविक विजेता अष्ट्रेलिया लगातार दुई टि२० विश्वकप जित्ने पहिलो टोली बन्ने धुनमा हुनेछ । अष्ट्रेलियाको टोली ब्याटिङ र बलिङ दुवैमा मजबुत छ । अर्कोतर्फ घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै उपाधि जित्न सकिन्छ ।
घरेलु समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । त्यसको भरपूर्ण फाइदा उठाउनेछ । अष्ट्रेलिया खेलाडीलाई घरेलु मैदान र कन्डिसन राम्रोसँग थाहा हुँदा परिस्थीति अनुसार खेल्न सक्छन् । टिम डेविडको आगमनले अष्ट्रेलियाको ब्याटिङ झनै मजबुत बनेको छ ।
ओपनरमा आरोन फिन्च र डेविड वार्नर हुनेछन् । फिन्चले वेस्टइन्डिजसँगको सिरिजमा क्यामरन ग्रीनलाई मौका दिएका थिए । भारतसँग सिरिजमा विष्फोटक ब्याटिङ गरेका ग्रीन विश्वकप टोलीमा छैनन् । उनी विश्वकप टोलीमा पर्छन् वा पर्दैन सबैभन्दा चाखको विषय बनेको छ ।
ब्याटिङ क्रममा त्यसपछि मिचेल मार्श रहनेछन् । गत वर्ष विश्वकप उपाधि जिताउन मार्श नायक बनेका थिए । मार्शपछि ग्लेन म्याक्सवेल, म्याथ्यु वेड, टिम डेविड र मार्कस स्टोइनिस हुनेछन् । यी चार ब्याटर विष्फोटक ब्याटिङ गर्दछन् । डेविड र वेड उच्च लयमा छन् । म्याक्सवेलको लय राम्रो छैन । तर उनी ठूला प्रतियोगितामा नायक बन्न सक्छन् । तीव्र गतिका बलर प्याट कमिन्स पनि विष्फोटक ब्याटिङबाट खेल मोड्न सक्छन् ।
तीव्र गतिका बलरमा कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्क छन् । हेजलवुडको प्रदर्शन लगातार सानदार रहँदै आएको छ । विश्वकपमा स्टार्कको प्रदर्शन सधैं उच्च हुने गर्दछन् । उनलाई विश्वकपका खेलाडी पनि भन्ने गरिन्छ । एडम जाम्पा स्पिन हतियार हुन् । टिम सन्तुलन, घरेलु मैदान र समर्थकको फाइदा उठाउने हुँदा उपाधिको प्रमुख दाबेदार देखिन्छ ।