नाम : यामलाल कँडेल
पेशा : राजनीति
पद : इन्चार्ज, कर्णाली प्रदेश, नेकपा एमाले
कर्णाली व्यक्तित्व नं. : ८०
काठमाडौँ : कर्णालीको राजनीतिमा परिचित नाम हो, यामलाल कँडेल । सुरुवातदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय कँडेल सुर्खेत बजार वीरेन्द्रनगरबासी हुन् । सुर्खेतमा बहुदलपछिको राजनीतिमा यामलाल कँडेलले कम्युनिष्ट राजनीतिको जग बसालेको बुझाई एमाले नेताहरुमा छ ।
सुर्खेत बजारदेखि काठमाडौँको सिंहदरबारसम्म पहुँच बनाएका कँडेल बोलीमा धेरै अगाडिका नेता हुन् । कार्यकर्तादेखि केन्द्रका नेताहरुसँग बोलीमा बलशाली नेता कँडेल व्यावहारिक राजनीतिमा भने बोलीअनुसार अगाडि छैनन् । बरु पछाडि परिरहेका छन् ।
नेकपा एमालेको कर्णाली प्रदेश इन्चार्ज रहेका कँडेल स्थायी कमिटी सदस्य समेत हुन् । यसअघि संघीय सरकारमा पर्यटनमन्त्री हुँदा उनले कर्णालीबाट कम्युनिष्ट राजनीतिमा धेरै अगाडि अवसरको ढोका खोलेका थिए ।
केन्द्रीय सरकारमा पर्यटनमन्त्री हुँदा उनले लामो समय संसदीय राजनीति गरे । तर विस्तारै उनी केन्द्रबाट प्रदेशको राजनीतिमा होमिए । त्यसमा दुई वटा कारण प्रधान छन् । दोस्रो संविधानसभा चुनावमा उनी पराजित भएपछि सुर्खेत केन्द्रित बनेका हुन् ।
त्यसपछि प्रादेशिक व्यवस्थाअनुसार उनी कर्णाली प्रदेशमा एमालेको प्रमुख नेता बनेर राजनीतिमा होमिए । कर्णालीको मुख्यमन्त्री बन्नैका लागि प्रदेश राजनीतिमा लागेका उनले थुप्रैपटक मुख्यमन्त्री बन्छु भन्ने भाषण गरे । तर मुखैमा आएको अवसर पनि उनले सदुपयोग गर्न सकेनन् ।
बोलीमा धेरै अगाडि रहेका नेता कँडेल त्यसलाई व्यवहारमा उतार्न पछाडि परिरहने नेतामध्ये एक हुन् । कर्णालीको राजनीतिमा सँधै चर्चामा रहिरहने उनी एमालेभित्रको राजनीतिका प्रमुख खेलाडी हुन् । जुन हिजोआज कर्णालीमा सीमित बनेको छ ।
कर्णालीमा दुईतिहाई बहुमत हुँदा पनि मुख्यमन्त्री बन्न नसकेका नेता यामलाल कँडेल हुन् । आफ्नै सांसदले फ्लोर क्रस गरेपछि सत्तापक्ष र सरकार आफ्नो बनाउने बेला उनी प्रतिपक्षीमा खुम्चिएका नेता हुन् । सत्तापक्ष हुँदा विरोध गर्ने बोली बोल्न नडराउने यामलाल कँडेल प्रतिपक्षी हुँदा संसदमा गर्जन हाल्ने नेता पनि हुन् ।
सुर्खेत बजारमै घर भएका कारण सुविधासम्पन्न भएकाले पनि हुन सक्छ, कर्णालीको ठूलो विकासमा यामलाल कँडेलको खास योगदान देखिदैन । त्यसकारण बोलीमा धेरै अगाडि रहने नेता कँडेल व्यवहारमा पछाडि परिरहेका नेता हुन् । जुन कर्णालीको स्वभाविक प्रवृत्ति हो ।
पाँच वर्षमा कर्णालीको प्रतिपक्षी नेता भएरै आफ्नो पहिचान बनाएका नेता कँडेल आउँदो मंसिर ४ गतेको चुनावमा झन् पेचिलो प्रश्नको सामना गर्नुपर्ने अवस्थामा छन् । पाँच वर्ष अगाडि माओवादीसँग तालमेल गरेर सहजै जित हात पारेका उनी यसपटक माओवादी र कांग्रेसको सत्ता गठबन्धनसँग एक्लै प्रतिष्पर्धा गर्नुपर्ने चुनौति खेपिरहेका छन् ।
यो चुनौति पार गरेमा उनी कर्णालीमा अवश्य मुख्यमन्त्री बन्नेछन् । तर यो कठिन चुनौति पन्छाउन नसके कम्तीमा पाँच वर्षका लागि उनको संसदीय राजनीतिले विश्राम पाउनेछ ।
कर्णालीको राजनीतिमा आफ्नो छ्ट्टै प्रभाव जमाएका एमाले नेता यामलाल कँडेललाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ८० औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]