नाम : डा.मंगल रावल
पेशा : स्वास्थ्यकर्मी
पद : उपकूलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
कर्णाली व्यक्तित्व नं. : ७८
काठमाडौँ : कर्णालीको अभाव, गरिबी र पूर्वाधार समस्यालाई बिम्ब बनाउनेको संख्या ठूलो छ । अहिले पनि कर्णाली भन्ने वित्तिकै विकटताले भरिएको एक भौगोलिक क्षेत्रका रुपमा परिचित छ । जहाँ जान सरकारी कर्मचारीदेखि स्वास्थ्यकर्मीले मनाही गर्छन् ।
तर समय फेरिएको छ । समयको महत्व र आवश्यकता पनि फेरिएकै छ । अनि त्यही समयले कर्णालीले बिरामी मात्रै होइन, अब काठमाडौँलाई डाक्टर पनि पठाउँछ भन्ने कठिन सत्यलाई सही साबित गरिदिएको छ ।
जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले काठमाडौँलाई डाक्टर पठाउने हैसियत बनाएको छ । उच्च र गुणस्तरीय शिक्षाका लागि काठमाडौँ लगायत शहर धाइरहने प्रवृत्तिको अन्त्य गर्दै जुम्लामै रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले एमबीबीएस पठनपाठन हुन्छ । अनि त्यहाँबाट उत्पादन भएका डाक्टरले कर्णालीकै जिल्लामा पहिलो प्राथमिकता दिएर उपचार सुरु गर्छन् ।
यसरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीको बिम्ब बदल्दै डाक्टर पठाउने ऐतिहासिक कर्मको नेतृत्व गर्छन्, डा.मगल रावल । हुम्लाका रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकूलपतिसमेत हुन् ।
उनको नेतृत्वमा कर्णालीले काठमाडौँलाई डाक्टर पठाउने कामको सुरुवात भएको हो । निकै दुःख र संघर्ष गरेर काठमाडौँमा विज्ञान संकाय र पछि एमबिबिएस पढेका रावलले कर्णालीमा पहिलो ऐतिहासिक कामका रुपमा डाक्टर उत्पादन गर्ने कामको थालनी गरेका हुन् ।
युवा उमेरका डा.रावलले कर्णालीको आवश्यकता र भावना बुझेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाँकेका छन् । कर्णालीमा केही मानिसहरुको खराब प्रवृत्ति र एक अर्कालाई दोष थोपरेर आफू उम्किने कठिन चुनौतिकाबीच पनि डा.रावलले नेतृत्व गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विस्तारै अब्बल स्वास्थ्य संस्थाका रुपमा अघि बढेको छ ।
कर्णालीको बिम्ब बदल्दै काठमाडौँलाई डाक्टर पठाउने ऐतिहासिक संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नेतृत्वकर्ता उपकूलपति डा.मगल रावललाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७८ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]