काठमाडौँ : दसैँकै दिनदेखि आएको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर कर्णालीमा पाँच दर्जन मानिसको ज्यान गएको छ । दर्जनौ घाइते र बेपत्ता छन् । बाढी र पहिरोका कारण कर्णाली राजमार्ग बन्द छ । बाटो खुल्न अझै केही दिन लाग्ने निश्चित छ । साँघुरो बाटोमा साना जीप चलेका छन् ।
विमानस्थलमा यात्रु टिकट नपाएर अलपत्र छन् । मुगु, जुम्ला, हुम्ला र डोल्पामा यो समस्या जटिल बनेको हप्ता दिनभन्दा धेरै भैसक्यो । टिकट नपाएर विद्यार्थी र महत्वपूर्ण काम भएका व्यक्तिहरु जुम्लाबाट हिड्दै सुर्खेत आइपुगेका छन् ।
उनीहरु हिडेरै आउँदा बाटोमा कतिले सास्ती झेले । त्यो फरक कुरा भैसक्यो । हरेक दिन कर्णालीका विभिन्न विमानस्थलमा अलपत्र परेका यात्रुको विचल्ली पीडा सामाजिक सञ्जालमा छरपस्ट छ । तर कर्णाली प्रदेश सरकार भने चीर निन्द्रामा छ ।
हेलिकोप्टरबाट ढुवानी गरेर राहत पठाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारले अहिलेसम्म अलपत्र यात्रुको उद्धार र कुशल व्यवस्थापनबारे सोचेको पनि छैन । कर्णालीमा त्यति ठूलो विपद् जाँदा पूर्वमुख्यमन्त्रीदेखि वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रद्धाञ्जली दिनुबाहेक अरु कुनै उपलब्धीमूलक काम गरेका छैनन् ।
जसले पीडित परिवारलाई सरकार छ भन्ने महसुस होस् । यस्तो पीडाको बेला पनि कर्णालीका स्थानीय तहका जनप्रतिनिधि आफ्ना कार्यकर्ताको मात्रै ख्याल गरिरहेका छन् । वास्तविक पीडितलाई राहत दिने, बाटोको व्यवस्थापन गर्ने कुरामा उनीहरु पूर्णरुपमा बेखबर छन् ।
सामाजिक सञ्जालमा कैयौँ यात्रुले टिकट नपाएर अलपत्र परिरहेको कुरा पोखिरहँदा कर्णाली प्रदेश सरकारमा उनीहरुको आवाज सुन्ने एक जना पनि मन्त्री र मुख्यमन्त्री छैनन् । दैनिक विमास्थलमा नाराबाजी र हो हल्ला भइरहेको छ । सरकारका मन्त्री, मुख्यमन्त्रीदेखि नेताहरुको आलोचना भइरहेको छ । तर पनि उनीहरु चीर निन्द्रामा जसरी आफूलाई चुनावमा केन्द्रित गरिरहेका छन् ।
कर्णालीका जनताको सेवा गर्ने भनेर बाचा गरेका नेता, मन्त्री, मुख्यमन्त्रीदेखि स्थानीय जनप्रतिनिधिसम्म हप्तौँ यात्रु विचल्लीमा पर्दा पनि त्यसको सहजीकरणमा लागेका छैनन् । यो दुःखद मात्रै होइन, कर्णालीको बिडम्बना हो ।