काठमाडौँ : अविरल वर्षापछिको बाढी र पहिरोले गर्दा कर्णालीका विभिन्न जिल्लामा अलपत्र परेका यात्रुको उद्धार गर्न काठमाडौँका निजी वायु सेवा कम्पनीका सञ्चालक तयार भएका छन् । कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीको पहलमा मंगलबार दिउँसो बसेको नेपाल वायु सेवा सञ्चालक संघको बैठकले जुम्ला, हुम्ला, मुगु, डोल्पामा अलपत्र परेका यात्रुको उद्धार गर्न तयार भएको हो ।
समितिका अध्यक्षसमेत रहेका समिट एयरका प्रमुख क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा बसेको बैठकले तत्काल उपलब्ध जहाजबाट कर्णालीमा अलपत्र यात्रुको उद्धार गर्ने निर्णय गरेको हो । यसका लागि कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र अर्थमन्त्री जनार्दन शर्माका सल्लाहकार मनऋषि धितालले प्रमुख पहलकदमी उठाएका थिए ।
भण्डारी र धितालकै अगाडि बैठक बसेर वायु सेवा सञ्चालक संघको बैठकले कर्णालीमा अलपत्र यात्रुको उद्धार गर्ने निर्णय गरेको अर्थमन्त्रीका सल्लाहकार धितालले जानकारी दिए । बैठकमा तारा एयर, समिट एयर, सीता एयरका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
कर्णालीको उडान समस्याको दीर्घकालीन समाधानका लागि जहाज थप गर्नेबारे पनि वायु सेवा सञ्चालक संघ सकारात्मक छ । यसअघि हिजो भण्डारी र धिताल नेतृत्वको कर्णालीको टोलीले संघीय पर्यटनमन्त्री जीवनकुमार श्रेष्ठलाई भेटेर कर्णालीको समस्याबारे ध्यानाकर्षण गराएको थियो ।
तर कर्णाली प्रदेश सरकारसँगै संघीय सरकारले पनि माथिल्लो कर्णालीको समस्या सुनुवाई गरेको थिएन । यो समस्या बोकेर निजी वायु सेवा सञ्चालक संघमा पुगेको कर्णालीको टोलीले भने उद्धारको आश्वासन पाउँदा केही राहत महसुस भएको धितालले बताएका छन् ।
‘नेपाल निजी वायु सेवा संचालक संघसँगको सहमतिपछि अब कर्णालीका यात्रुहरुलाइ सहज हुनेछ,’ धितालले भनेका छन् ।
दसैँको दिनदेखि परेको अविरल वर्षाका कारण कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा विपद्मा परी दर्जनौ मानिसको ज्यान गएको छ । सयौँ विस्थापित छन् । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रु जिल्ला सदरमुकाममै अलपत्र छन् ।
अलपत्र यात्रुले जहाजको टिकटसमेत नपाउँदा हप्तौदेखि कर्णालीका विभिन्न जिल्लामा समस्यामा परेका छन् ।