ढोरपाटन : पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छन् । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छन् । उनको कथा भने नमीठो छ । उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उनका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ ।
एक दश पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गरेकी उनी बागलुङसम्म आएका छन् । पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आएकी उनले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेचे । बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिराखेका छन् । यहाँबाट पनि उहाँलाई काम गर्ने वातावरण सहज छैन ।
“पढेलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरुको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फलफूल बेच्न थालेको १६ वर्ष भयो”, उनले भने, “ज्यान पाल्न प¥यो, काम नगरी पाल्न सकिन्नँ, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, कामजस्तो भए पनि गर्छु, सानो–ठूलो मानिँदैन ।”
चालिस वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताए । उनले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोखे । बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बागलुङ आएको उहाँको भनाइ छ । यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उनले बताए ।
“पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छाडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ”, नेपालीले भने, “बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरुको टेलरमा, कमाइ राम्रो नभएपछि बागलुङ आएका हौँ, यहाँ आएको पनि तीन–चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन् ।”
धनमायाको चार जनाको परिवार छ । दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ । दुई छोरीले पोखरा पढ्ने र श्रीमान्ले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उनको भनाइ छ । “हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमान्ले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खासै छैन, दसैँका बेला राम्रो भयो, अहिले कम छ”, उनले भने ।
नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्नुहुन्छ । यो सिजन स्याउ, अम्बा र सुन्तालको भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ । फलफूल बेचेर दैनिक रु पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँछन् ।
“अहिले खासै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही रु १५ देखि २० हजारको कमाइ हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नुप¥यो, खानुप¥यो, छोरीलाई पढाउनुप¥यो, खर्च बढेकोबढयै छ, कमाइ घट्दो छ”, उहाँले भन्नुभयो “अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्नुहुन्थ्यो, काम नगरेसम्म खान–लाउन पुग्दैन ।”
धनमायाका श्रीमान् कुमार नेपालीले बागलुङ बजारको एक सिलाइकटाइ पसलमा काम गर्दै आएका छन् । उनले आफूहरू दुई अनपढ भएको हुँदा भौतारिनुपरेको बताए । कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम पनि गर्न तयार हुनुपर्ने बताउँछन् । दुई जनाको मेहेनतले परिवार चल्दै आएको उनको भनाइ छ ।
“सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला, अहिले काम पनि पाइँदैन, कहिले जुत्ता सिलाउने, कहिले फलफूल बेच्ने काम गरेर गुजारा चलेको छ, उनले धनमाया सडकमा बेचेर र मैले कपडा सिलाएर थोरैथोकै कमाउँछौँ, जसोतसो महिनाभरि खानलाउन पुगेको छ”, कुमारले भने ।
उनले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिइ सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोखे । उनी भन्छन्, “सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौँ, पोखरामा राम्रै थियो, हटाउनुभयो, बेनीमा कमाइ नै हुन नसकेपछि अहिले बागलुङ आएका छौँ, यहाँ पनि बाटोमा व्यापार नर्गन भन्दै हुनुहुन्छ रे, हामीजस्ता गरिब, दुःखीले अब के गरेर ज्यान पाल्ने ?”
उनले आफू एक्लैको कमाइले परिवार चलाउन गाह्रो हुने सुनाए । काम पाए आफूहरूले जस्ता ठाउँमा पनि गर्न सक्ने बताए । बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्ररूपमा राखिएका सामान हटाउन थालेको छ । यसले गर्दा ठेला व्यापारी समस्यामा परेका हुन् । रासस