काठमाडौँ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो ।
नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो । एशिया प्रशान्त क्षेत्रको भन्दा अगाडि छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् ।
यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो रहेको सन्देश दिएको प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए ।
“आइकाओको अडिट प्रतिवेदनपछि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढेको छ”, उनले भने, “यसले असाध्यै राम्रो सन्देश दिएको छ, नेपालको हवाई सुरक्षा प्रणाली राम्रो रहेको छ, नेपालले हासिल गरेको विश्वव्यापी हवाई परिपालनादरबाट नेपाल सबल देशभित्र परेको छ जुन देशको लागि गौरबको विषय पनि हो ।”
हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।
नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढ्नु सकारात्मक रहेको र यसले नेपालको नागरिक उड्डयन क्षेत्र विश्वव्यापी मापदण्डको छ भन्ने सन्देश गएको उनले उल्लेख गरे । नेपालको हवाई क्षेत्रप्रति प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने लक्ष्यसहित मुलुकको हवाई क्षेत्रको सुधारात्मक कामलाई प्राथमिकता दिएको छ ।
आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको उपमहानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अडिटपछि प्राधिकरणले प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेट र जनशक्तिको व्यवस्था गरेको छ । उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ ।
त्यसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायबाट हवाई सुरक्षाबारे धमाधम अध्ययन तथा अडिट भइरहेको छ ।
यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय सरोकारवालाको विश्वास अभिवृद्धि भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।