दसैँमा अवरुद्ध कर्णाली राजमार्ग तिहारमा खुलेको छ । असोज १९ गते दसैँकै दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग सयौँ ठाउँमा पहिरो गएर अवरुद्ध भएको थियो । झण्डै २० दिनपछि कर्णाली राजमार्ग खुलेपछि स्थानीय आवतजावत गर्न थालेका छन् । यसले हप्तौदेखि थुनिएका मानिसहरुलाई खुशी दिलाएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजिव श्रेष्ठसँग मेरो व्यक्तिगत चिनजान छैन । तर वर्षाले अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु गर्ने काममा उहाँले निभाउनु भएको भुमिका तारिफ गर्न लायक छ ।
सयौँ ठाउँमा गएको पहिरो हटाउनु, ठुला ठुला ढुङ्गा फुटाउनु, इन्धन अभाव भएको समयमा पनि धेरै भन्दा धेरै निर्माण सामाग्रीहरु परिचालन गर्नु सानो काम होइन । त्यो पनि रातारात गरेर कर्मचारी खटाउनु, कर्णाली राजमार्ग जस्तो सडकमा जोखिमपूर्ण भएपनि काममा लगाउनू ठूलो काम हो ।
यस कार्यमा आवश्यक पर्ने बजेट व्यवस्थापन गर्नु र जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म समन्वय गर्नु, चानचुने कुरो पक्कै होइन । सुचारु गर्न महिनौ लाग्छ भनेर अनुमान गरिएको सडक लगभग १५ दिनमा खुलाउन सफल सडक डिभिजन कार्यालय जुम्लाको टिम धन्यवादको पात्र हो ।
थै यो कार्यमा संलग्न प्रशासन, प्रहरी, सेना, लगायत सबैलाई हार्दिक धन्यवाद । यो कार्यको नेपालका अन्य जिल्लाका सरकारी निकायहरुले पनि अनुसरण गरेको खण्डमा नागरिकले सास्ती पाउनुपर्ने थिएन । सडक खुलाउने काम केवल कार्यालयको मात्रै होइन, सबै जना लागि पर्नुपर्छ भन्ने उदाहरण पनि कर्णाली राजमार्गको सडक डिभिजन कार्यालयबाट देखिएको छ ।
(हमाल डोल्पाका शिक्षक हुन्)