फोटो : कर्णाली एग्रो मार्ट
काठमाडौँ : चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।
युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद् बताउँछन् । नेपालीका लागि दसैँंपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष ९भाइ० पूजा गरिने चाड हो । हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य लक्ष्मीलाई खुसी बनाउने चाड हो तर, पछिल्लो समय यो चाडमा विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान ओझेलमा पर्दै जान थालेको छ ।
“अरु बेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,” पराजुलीले भने,“यसले सबै प्राणीबीच सम–दृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइ दाजुभाइलाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यो पर्व अहिले केवल औपचारिकतामा सीमित भएको छ ।”
माटाको दियो र अमिलाको पातमा बत्ती बालेर फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर, अहिले जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइन्छ । बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद शर्मा भन्छन्,“यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर, जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।”
आजभोलि माटोको पाला पूजाकोठामा सीमित छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ । रासस