नाम : यामबहादुर श्रेष्ठ
पेशा : शिक्षण
पद : प्राचार्य, जन नमूना मावि, सुर्खेत
कर्णाली व्यक्तित्व नं. : ७५
काठमाडौँ : सुर्खेत कर्णालीको राजधानी हो । जहाँ शिक्षाको नाममा व्यापार फस्टाएको छ । बहुदलपछि शिक्षामा सरकारी विद्यालयभन्दा निजी विद्यालयको बोलवाला बढेको छ । अहिले सुर्खेतमा सयौँ निजी विद्यालय खुलेका छन् ।
जहाँ चोकचोकमा अहिले पनि शिक्षाका नाममा खुलेआम व्यापार भइरहेको छ । अभिभावक र विद्यार्थी आधारभूतदेखि उच्च शिक्षाका लागि निजीतिर आकर्षित भइरहेका बेला सुर्खेतमा सुरुवातदेखि नै सरकारी विद्यालय भएर पनि नमूना विद्यालयका रुपमा परिचित नाम हो, जन मावि ।
२००७ सालमा नेपालमा प्रजातन्त्र आयो । जनमावि २००८ सालमा सुर्खेतमा स्थापना भएको विद्यालय हो । सुर्खेतको मुटु वीरेन्द्रनगरको पनि मुटुमा रहेको जनमावि सुर्खेत मात्रै होइन, कर्णालीकै पहिलो अब्बल शैक्षिक हब हो ।
जहाँ पढ्नका लागि हुम्ला, जुम्ला, कालिकोटदेखि कर्णालीका सबै जिल्लाका विद्यार्थी आउने गरेका छन् । सुरु सुरुमा यो विद्यालय केवल वीरेन्द्रनगरको एक विद्यालय भनेर परिचित थियो । तर विस्तारै यो विद्यालयको व्यवस्थापन, अवस्थिती, अनुशासन र विद्यार्थीको गुणस्तरीय पठनपाठनका हिसाबले अब्बल साबित भएको हो ।
यो विद्यालयको सुरुवाती नेतृत्वकर्ताको ठूलो श्रेय नेत्र खत्रीमा जान्छ । उनको छत्रछायामा बसेर नेतृत्व सिकेका यामबहादुर श्रेष्ठ वर्तमान प्राचार्य हुन् । श्रेष्ठले २०६९ सालदेखि विद्यालयको नेतृत्व सम्हालेका हुन् । युवाअवस्थामै नेतृत्व लिएपछि उनले विद्यालयको साखलाई झन् शिखरमा पुर्याएका छन् ।
जनमावि एउटा विद्यालय मात्रै नभई, सुर्खेतमा उच्च शिक्षाको ढोका खोल्ने विद्यालयका रुपमा पनि परिचित छ । कक्षा १ देखि १० सम्म जति गुणस्तरीय पठनपाठन र नतिजा यो विद्यालयले प्राप्त गरेको छ । त्यति नै ११ कक्षादेखि स्नातकसम्मको पठनपाठनमा पनि यो विद्यालयले राम्रो सफलता हात पारेको छ । त्यसअघि कक्षा ११ र १२ मा पहिलोपटक विज्ञान विषय पढाउने स्कुलका रुपमा पनि यो विद्यालय परिचित छ ।
विज्ञान, व्यवस्थापन र मानविकी विषय गरेर ११ र १२ कक्षामा यो विद्यालयले धेरै राम्रा विद्यार्थी उत्पादन गरेको छ । पछिल्लो समय सुर्खेतमा अब्बल निजी विद्यालय खुल्ने होडबाजी चलेपनि जनमाविको छवि र नमूना कामलाई कसैले पनि पछि पार्न सकेको छैन । जसको श्रेय प्राचार्य श्रेष्ठलाई जान्छ ।
बिहान ६ बजेदेखि बेलूकी ६ बजेसम्म नै प्राचार्य श्रेष्ठ विद्यालयमा रहन्छन् । पहिलेभन्दा अत्याधुनिक भवन र संरचना बनाएको जनमावि व्यावसायिक हिसाबले पनि धेरै अगाडि बढेको विद्यालय हो । सुर्खेतभरी चर्चित र व्यवस्थित विद्यालय बनेको जन मावि कर्णालीकै पहिलो नमूना विद्यालय पनि हो । झण्डै एक सय हाराहारीमा शिक्षक रहेका यो विद्यालयमा अहिले झण्डै तीन हजार बढी विद्यार्थी छन् ।
स्थापनाकालदेखि नै व्यवस्थित वर्तमानमा झन् कर्णालीमै नमूना बनाइरहने जन माविका प्राचार्य यामबहादुर श्रेष्ठलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा ७५ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा क्रियाशिल व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई नगद राशिसहित सम्मान गर्नेछौँ ।]