काठमाडौँ : दसैँ र तिहार सकिएपछि नेपाली नेताहरु पूरा ध्यानका साथ चुनावमा होमिएका छन् । नेपालीहरुको महान पर्व दसैँ तथा तिहार सकिएपछि आफन्तसँग भोट मागेर नेताहरु फेरि दुरदराजका गाउँघरमा पुग्ने कोसिस गर्दैछन् ।
नेपालभर चलिरहेको यो वर्तमान अहिले कर्णालीमा पनि व्याप्त छ । वर्षौ काठमाडौँ र सुर्खेतमा बसिरहेका नेताहरु अहिले गाउँघर केन्द्रित भएका छन् । तर पाँच वर्ष पहिले र अहिलेको दृश्य पुरापुर परिवर्तन भएको छ ।
पाँच वर्ष पहिले वाम गठबन्धन थियो । जहाँ एमाले र माओवादी पुरा शानका साथ एक अर्कासँग अंकमाल गर्दै भोट मागिरहेका थिए । उनीहरुलाई भोट माग्न सजिलो थियो । सैद्धान्तिक रुपमा पनि धेरै सजिलो महसुस गरेका एमाले माओवादीका नेताहरुले झण्डै दुईतिहाई हिसाबमा चुनाव जिते ।
तर अहिले परिस्थिती फेरिएको छ । पाँच वर्षपछिको चुनावमा झण्डै दुईतिहाई बहुमतको नेतृत्व गरेको एमाले प्रतिपक्षमा सीमित भएको छ । पाँच वर्षपछिको चुनावमा एमाले पूरा शक्तिका साथ जनताको माझमा आउनुपर्ने थियो । सत्ता सहयात्री माओवादीको आकार र हैसियत बढाउने प्रतिबद्धता पूरा गर्नुपर्ने थियो ।
तर ठीक उल्टो भइरहेको छ । माओवादी बाध्यात्मक रुपमा कांग्रेससँग मिलेको छ । संसद् विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यकाललाई चुनावी मुद्दा बनाएर माओवादी कांग्रेससँग सत्ता गठबन्धन गर्दै चुनावमा होमिएको छ ।
माओवादीसँग एमाले फुटाएर माधव नेपाल पनि कांग्रेसको साथमा छ । एकातिर माओवादी र अर्कोतिर एमाले फूटाएको नेकपा एकिकृत समाजवादीको साथ पाएपछि कांग्रेस हौसिएको छ । गएको पाँच वर्षमा कर्णालीमा तेस्रो दल बनेको कांग्रेस यसपटक पहिलो वा दोस्रो बन्ने धुनमा छ । एमाले पहिलो शक्ति बन्दा यसपटक तेस्रो हुने चिन्ता छ ।
केवल पाँच वर्षमा कम्युनिष्ट नेतृत्वले कर्णाली कायापलट हुनुको साटो कल्पग्रन्थ बन्यो । जसले समृद्धि एकातिर हावादारी गफ बन्यो भने सत्ता लुछाचुडीले कर्णालीको भविष्य नै धरापमा पारिदियो । केन्द्रमा केपी शर्मा ओली र कर्णालीमा यामलाल कँडेलको सत्तालोलुप प्रवृत्तिले यसपटकको चुनावमा एमालेले ठूलो धोका पाउने निश्चित जस्तै छ ।
एमालेकै राजनीतिक हर्कतविरुद्ध बनेको सत्ता गठबन्धनले देशभर चुनावी सभा गर्दै रवाफ देखाइरहेको छ । तर ठीक विपरित प्रतिपक्षी बनेको एमाले भने नाजवाफ छ । कर्णालीमा त झन् एमालेले बहुमत नै खेर फालेको थियो । एक्लै दुईतिहाई बहुमत हासिल गरेको एमालेले सरकार बनाउन सकेन । आफ्नै पार्टी फुटाउने कामको सुरुवात कर्णालीबाट भएको थियो ।
पाँच वर्षअघिको चुनाव र अहिले पाँच वर्षपछिको चुनावमा फेरि पनि माओवादी हाईहाई छ । कांग्रेस पनि फाइदामा रहँदा एमालेबाट छुट्टिएका माधव नेपाल फेरि पाँच वर्षको राजनीतिमा फाइदैमा रहने निश्चित छ । तर एमाले भने आफू सत्तामा रहँदा संसद् विघटन गर्ने जस्ता असंवैधानिक कदमले ठूला चुनावी सभा आयोजना गर्न सकेको छैन ।
त्यति मात्रै होइन, यतिबेलाको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाबाट र कर्णाली इन्चार्ज यामलाल कँडेलले सुर्खेतबाटै चुनाव जित्न हम्मे हम्मे छ । स्थानीय तहको नतिजा र राष्ट्रिय रुपमै धुलिसात बनेको छविका कारण एमाले यतिबेला निकै कठिन अवस्थामा छ । चुनावी अवधिभर एमालेको क्षयीकरण आम मतदातामाझ अझ घरपस्ट हुनेछ । बाँकी नतिजा भने मंसिर ४ ले दिने नै छ । जसले कम्तीमा एमालेको प्रतिपक्षी सिट सुरक्षित गरेपनि पाँच वर्षअघिको जस्तो शान र समृद्धिको नारा भने केवल आत्मरती बन्नेछ ।