फोटो : प्रकाश पन्त/बीबीसी
[मिडियामा कर्णाली : सुर्खेतबाट पत्रकार प्रकाश पन्तले लेखेको यो चुनाव विशेष स्टोरी बीबीसीबाट लिएका हौँ - सम्पादक]
सुर्खेत : सधैँ दलीय आस्थाका आभारमा भोट दिँदै आएको बताउने कर्णालीका युवा र महिला मतदाताले यसपालि जुनसुकै दलको भए पनि सक्षम र आफूहरूका समस्या उठाउने उम्मेदवारलाई भोट दिने सोच बनाएको बताएका छन्।
अन्यत्र जस्तो उम्मेदवार छान्न पाउने धेरै विकल्प कर्णालीमा नभएकोले दलबाटै आएका मध्येबाट उत्तम व्यक्ति रोज्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।
राज्यको सेवा सुविधालाई आफूसम्म पुर्याउन सक्ने, रोजगारी सृजना गर्ने र अत्यावश्यक विकासका पूर्वाधारलाई नेतृत्व गरेर ल्याउन सक्ने उम्मेदवार कर्णालीका युवा र महिलाहरूको रोजाइमा देखिन्छन्।
कर्णाली प्रदेशबाट प्रतिनिधिसभाका लागि १२ जना सांसदहरू निर्वाचित हुने छन् भने प्रदेशतर्फ प्रत्यक्षतर्फ २४ र समानुपातिक प्रणालीमा १६ गरी ४० सदस्य निर्वाचित हुनेछन्।
विचार गरेर मात्र भोट दिने
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा उम्मेदवारका घोषणापत्रमा समेटिएका एजेन्डा हेरेर भोट हाल्ने मतदाताहरूको भनाइ छ।
सुर्खेतका युवा दिनेश गौतम यसपालि पार्टीको विचार र सिद्धान्तलाई भन्दा पनि राम्रो भिजन र क्षमता भएका उम्मेदवारलाई भोट दिने बताउँछन्।
उनी भन्छन्, "राम्रो भिजन र स्वच्छ छवि भएको व्यक्तिले जुन दल र क्षेत्रबाट उठे पनि चुनाव जित्न सक्छ भन्ने नजिर बसाल्न पनि यसपालि युवाले सोच विचार गरेर मात्र भोट दिनुपर्छ।"
खास गरी बेरोजगारी समस्या भोगिरहेका कर्णालीका युवाहरू रोजगारी सिर्जना गर्ने खालका एजेन्डा भएका उम्मेदवारलाई जिताउने पक्षमा छन्।
उम्मेदवारको गर्ने भाषण र दिने आश्वासन भन्दा जनताको आवश्यकता बुझेको र समस्या समाधान गर्न सक्ने खुबी भएको व्यक्ति चयन गर्नुपर्ने उनले बताए।
पार्टी हैन, व्यक्ति छान्ने
राजनीतिमा प्रभाव राख्न सक्ने खुबी भएको उम्मेदवार छान्नुपर्ने रुकुम पश्चिमकी युवा सिर्जना सिज्जु बताउँछिन् ।
उनले भनिन्, "पार्टी हैन, व्यक्ति छान्ने हो," फोटो र भिडिओ मार्फत कर्णालीलाई चिनाउँदै आएकी उनी भन्छिन्, "यसपालिको चुनावमा पार्टी हेरिँदैन, उम्मेदवारको योग्यता, क्षमता र एजेन्डा हेरेर भोट हालिन्छ।"
कुनै दल र सिद्धान्तमा आस्था राख्ने कर्णालीका दिनेश र सिर्जनाजस्ता धेरै युवा र महिलाहरूले आफूले सामना गरिरहेका समस्यालाई एजेन्डा बनाएका उम्मेदवारलाई भोट दिने मनस्थिति बनाएका बताएका छन्।
स्वदेशभित्र रोजगारीका अवसर नहुँदा कर्णालीका अधिकांश युवाहरू कामको खोजीमा कालापार (भारत) र खाडी मुलुक जाने गर्छन्।
सक्षम व्यक्ति चुने विकासले गति लिने र रोजगारीको लागि अर्काको देश जानु पर्ने बाध्यताबाट मुक्त हुने अपेक्षा उनीहरूको छ।
विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको कर्णाली प्रदेशमा राम्रो बाटोघाटो, शिक्षा, स्वास्थ्य, बिजुली, शुद्ध खानेपानीको अभाव छ।
कर्णालीमा युवा र महिला निर्णायक मतदाता
कर्णालीका महिलाहरू शिक्षा र स्वास्थ्यको पहुँचबाट वञ्चित हुँदै आएका छन्। समग्रमा कर्णालीमा युवा र महिला नै निर्णायक मतदाताको रूपमा देखिन्छन् ।
"यसपालि पेसागत राजनीति गर्नेलाई भोट दिने मन छैन," दैलेखका युवा महेन्द्र थापा भन्छन्, "शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, आर्थिक विकासका एजेन्डा बोकेका सक्षम र इमानदार व्यक्तिलाई छान्ने हो।"
कर्णाली प्रदेशका करिब १० लाख मतदाता मध्ये आधा महिला मतदाता छन्। तर धेरैजसो महिला मतदाताहरूले श्रीमान् वा घरपरिवारले भनेको ठाउँमा भोट हाल्ने गर्छन्।
प्रलोभन, दबाव र भनसुनकै भरमा भोट नदिने
यसपालि स्वविवेक प्रयोग गरेर आफ्नो प्रतिनिधि छान्नुपर्ने महिला अधिकारकर्मी रचना सुनार बताउँछिन्।
"कसैको प्रलोभन वा दबाबमा परेर तथा कसैले भनेकै भरमा भोट दिन हुँदैन", उनी भन्छिन्, "समाजको लागि केही योगदान दिएको र जितेर केही गर्न सक्ने व्यक्ति संसदमा पठाऔँ।"
कतिपय युवा र महिलाहरू भने भोट दिनेको अवस्था उस्तै तर भोट पाउने मान्छेको अवस्था परिवर्तन भएको देख्दा राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँछन्।
घोषणापत्रको समीक्षा गरेर मात्र भोट दिन सुझा
मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति मानवशास्त्री प्राध्यापक डा.पदमलाल देवकोटा नयाँ र केही गर्न सक्ने उम्मेदवारलाई भोट दिँदा केही न केही परिवर्तन आउने बताउँछन्।
"धेरै पटक सोच विचार गरेर, विगतको चुनावका घोषणापत्रको समीक्षा गरेर मात्र भोट दिनुपर्छ," उनले भने, "राम्रो क्षमता र भिजन भएको, पढेलेखेको शिक्षित र स्वच्छ छवि भएको उम्मेदवार हेरौँ।"
अन्यत्र जस्तै कर्णालीका गाउँघरमा पनि बिस्तारै चुनावी सरगर्मी बढ्दै गएको छ। सङ्घ र प्रदेशसभाका उम्मेदवारहरू पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत रोजगारीका एजेन्डा र प्रतिबद्धतासहित मतदाता भेटिरहेका छन्।
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस उपसभापति पूर्णबहादुर खड्का विगतमा आफूले सुरु गरेका विकासका कामलाई पूर्णता दिने र कृषि, रोजगारी, शिक्षा तथा स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्ने एजेन्डालाई प्राथमिकतामा राखेको बताउँछन् ।
तर कर्णालीका युवा र महिला मतदाताले भने उम्मेदवारले नवीन तथा आफूहरूलाई आकर्षण गर्ने मुद्दाहरू ल्याउन नसकिरहेको टिप्पणी गरेका छन्।