सुर्खेत : कर्णालीमा मुख्यमन्त्रीको सपना सजाएका नेताहरुलाई चुनाव हार्ने चिन्ता थपिएको छ । सत्ता गठबन्धनको बलियो साथ रहेपनि बागी र स्वतन्त्रले गर्दा कर्णालीको मुख्यमन्त्री बन्ने सपना पालेका नेताहरुलाई चुनाव हार्ने चिन्ता पलाएको हो ।
चुनावपछि कर्णालीको मुख्यमन्त्री बन्न जीवन शाही, बिन्दमान बिष्ट र यामलाल कँडेलको तीव्र आकांक्षा छ । जीवन शाही मुख्यमन्त्री बन्नैका लागि यसपटक पनि प्रदेशको चुनाव लडेका छन् । यस्तै अर्थमन्त्री हुँदा केही आशलाग्दा काम गरेका बिन्दमान यसपटक मुख्यमन्त्री बन्ने योजनाका साथ अघि बढेका छन् ।
यामलाल भने मुख्यमन्त्री बन्नुपर्ने भएपनि आफ्नै कारणले प्रतिपक्षमा सीमित रहँदा फेरि चुनाव जितेर मुख्यमन्त्री बनिछाड्ने योजनामा छन् । यद्यपी तीनै जना नयाँ मुख्यमन्त्रीको आकांक्षा पालेकालाई भने चुनाव हारिएला कि भन्ने चिन्ता छ । हुम्लामा जीवन शाहीलाई छक्कबहादुर लामाले चुनौति थपेका छन् । उनी राम्रैसँग पैँसा बाँडेर यसपटक प्रदेशको चुनाव जित्ने योजनामा देखिन्छन् । यसअघि उनले स्वतन्त्रबाटै प्रतिनिधिसभाको चुनाव जितेका थिए ।
यस्तै सुर्खेत क्षेत्र नं. २ (ख)मा उम्मेद्वार बनेका बिन्दमान बिष्टलाई भने नेकपा एकिकृत समाजवादीका नेता मोहन बडुवालले चुनौति दिइरहेका छन् । बडुवालको पश्चिम सुर्खेतमा राम्रो पकड छ । सत्ता गठबन्धनकै नेता भएपनि आफूलाई भागबण्डा नभएको भन्दै बडुवालले यसपटक पार्टीबाट टिकट लिएरै चुनाव लडेका हुन् । उनलाई एमालेले साथ दिने अपेक्षा छ ।
यस्तै सुर्खेतबाट यसपटक पनि प्रदेशसभाको चुनाव लडेका यामलाल कँडेललाई भने सत्ताकै डर गएको छ । गएको वर्ष माओवादीको साथ पाएर आनन्दले चुनाव जितेका कँडेललाई यसपटक कांग्रेस र माओवादी दुवैको कडा चुनौति छ ।
स्थानीय तहको चुनावमा कांग्रेस असन्तुष्ट समूहले भोट दिएर एमाले उम्मेद्वार मोहनमाया ढकाल मेयर बनेपनि यसपटक भने कांग्रेस आफैँ जित्न माओवादीको साथ लिएर चुनावमा होमिएको छ । यस्तो बेलामा यामलाल कँडेल सत्ता गठबन्धनकै कारण चुनाव हार्ने डरमा छन् ।
किनकी सत्ता गठबन्धनको कुनै पनि भोट क्रस नभएमा यामलालले स्वतः चुनाव हार्ने सम्भावना छ । यद्यपी यसका लागि शाम, दाम, दण्ड भेद सबैको प्रयोग गर्न यामलाल तयार देखिएका छन् । यसका लागि मेयर ढकाल र उपमेयर निलकण्ठ उप्रेतिको पनि ठूलो रोडम्याप तयार हुनेछ ।
यस्तै मुख्यमन्त्रीका अरु आकांक्षी रामदीप आचार्य, राजीवविक्रम शाह, गुलावजंग शाह लगायतका केही नेता भने थोरै भएपनि सुरक्षित देखिएका छन् । उनीहरुको ठाउँमा बागी उम्मेद्वार कम छन् भने सत्ता गठबन्धनको साझेदारी बलियो छ । तर मुख्यमन्त्री बन्न पहिला चुनाव जित्नुपर्ने भएकाले जीवन शाही, बिन्दमान बिष्ट र यामलाल कँडेल तीनै जना गम्भीर चिन्तामा देखिन्छन् ।