हुम्ला : यसपटक हुम्लाको राजनीतिक माहोलको परिदृश्यमा धेरै फेरबदल आएको छ । संघीय चुनावमा प्रतिष्पर्धा गर्ने आश गरिएका नेताहरु प्रदेशमा र प्रदेशमा सीमित देखिएका नेताहरु नै प्रतिनिधिसभाको चुनावका लागि प्रतिष्पर्धामा उत्रिएपछि हुम्लाको राजनीतिक माहोल फेरिएको हो ।
हुम्लामा प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र हो । जहाँ दुई पूर्वमन्त्री पहिलोपटक संघको लागि आमनेसामने भएका छन् ।
यसअघि संघीय चुनाव लडेर जितेका जीवन शाही (मुख्यमन्त्री) र स्वतन्त्रबाट जितेका छक्कबहादुर लामा दुवै जना कर्णाली प्रदेशकै चुनाव लडेपछि काठमाडौँ छिर्नलाई टिकट पाउँदा दुवै जनाको भाग्य खुलेको हो ।
यद्यपी दुवै जनाले कर्णाली प्रदेश सरकारमा मन्त्री भएपछि राष्ट्रियस्तरको चर्चा कमाएका हुन् । त्यसमध्ये माओवादीका गठबन्धन उम्मेद्वार कार्चेन लामा अर्थात छिरिङ डम्डुल लामा त झन् विवादित र बदनामै भएका मन्त्री हुन् । जसलाई यसपटक प्रचण्ड दाहिना भएपछि प्रदेशमन्त्री हुँदै संघीय सांसद बन्ने स्वर्णिम अवसर आएको छ ।
कर्णालीका आशलाग्दा र युवा नेता ठम्मर बिष्टको सांसद पद र माओवादी राजनीति नै समाप्त गरिदिएका कार्चेन लामा हुम्लाका प्रभावशाली नेता मानिन्छन् । तर उनी गुमनाम थिए । एकैपटक कर्णालीमा सांसद नहुँदा पनि पर्यटनमन्त्री भएपछि उनको चर्चा प्रदेश र राष्ट्रियस्तरमै भएको थियो ।
सांसद नरहेको तर माओवादी अध्यक्ष प्रचण्डलाई नै प्रभावित पारेर मन्त्री पद पड्काउन सफल कार्चेन लामा एकैपटक मिडियाको हेडलाइन बनेका थिए । मन्त्री बन्दा बदनाम भएका उनी फौजदारी कसुरमा जेल परेका व्यक्तिसमेत हुन् । तर हुम्लामा माओवादीले जीवन शाहीको प्रतिष्पर्धीका रुपमा कार्चेनलाई अब जिल्लाकै नेताका रुपमा अगाडि बढाउने योजनाका साथ यसपटक टिकट दिएको हो । जसले सत्ता गठबन्धन र कांग्रेसको सहायतामा सहजै जित्ने अपेक्षा गरिएको छ ।
कार्चेन विवादित र बदनाम भएपनि उनका प्रतिष्पर्धी दलबहादुर रावल भने स्वच्छ छविका नेता मानिन्छन् । नेकपा एमाले हुम्लाका शक्तिशाली नेता मानिने दलबहादुर रावल कर्णाली प्रदेशको पहिलो सामाजिक विकासमन्त्री समेत हुन् ।
कर्णालीमा मन्त्री भएपछि नै आफ्नो क्षमता र परिचय फराकिलो बनाएका रावलले एमालेको राजनीतिमा पनि आफ्नो नैतिकता सँधै उचो राख्ने गरेका छन् । साढे तीन वर्ष कर्णाली प्रदेश सरकारमा मन्त्री भएका रावलले जिल्लातिर त्यसबेला राम्रो प्रभाव बनाएका छन् । सोही कारण यसपटक एमालेले उनलाई प्रतिनिधिसभाको टिकट दिएको हो । यद्यपी उनी २०७० सालको चुनावमा पराजित भएका थिए ।
वाम गठबन्धनको साथ पाएपछि २०७४ सालको चुनावमा प्रदेश सांसदमा विजयी भएका उनी यसपटक कडा प्रतिष्पर्धामा छन् । आफ्नो राजनीतिक छवि र व्यक्तित्व उचो बनाएपनि यतिबेला पार्टीको राजनीतिक लाइनका कारण उनलाई चुनाव जित्न ‘फलामका चिउरा चपाउनु’ बराबर छ ।
तीन पटक चुनाव लडेर अनुभव प्राप्त रावलको सम्भावना भने नकार्न सकिन्न । मन्त्री भएको बेला र सुरुदेखि नै चुनावी हिसाबकिताब राम्रोसँग राखेका कारण उनले हुम्लामा एमालेको शाख बचाउने सम्भावना बाँकी नै छ । तर हुम्लाका झण्डै ३३ हजार मतदाताले यसपटक कसलाई प्रतिनिधिसभाको प्रतिनिधित्व गराउँदै काठमाडौँको संसदमा पठाउँछन्, त्यो मंसिर ४ पछि मात्रै खुल्नेछ ।
एउटा सत्य चाँही, राप्रपाबाट तेजबहादुर रावलले पनि उम्मेद्वारी दिएका कारण व्यक्तिगत रुपमा त्यसले एमाले उम्मेद्वार दलबहादुर रावललाई केही बेचैनी बढाउने सम्भावना छ । एकातिर सत्ता गठबन्धनतिर अर्कातिर चुनावी तालमेल गरेकै दलबाट तेजबहादुरको उम्मेद्वारीले दल रावलको ‘हर्टबिट’ बढ्नु स्वभाविक देखिन्छ ।